• ८ वैशाख २०८१, शनिबार

भ्रष्टाचार लुकाउने प्रयास गरिएको छ : अध्यक्ष ओली

blog

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री ओली । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । 

उहाँले भन्नुभयो, ‘सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै सक्दैन, केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेकोछ ।’

पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु भएको लुम्बिनी प्रदेशका सबै तहका एमालेबाट विजयी जनप्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सो कुरा बताउनुभयो ।  

उहाँले सरकारले आफुलाई भ्रष्टाचार विरोधी भनेर जति हल्ला मच्चाइए पनि देशमा भ्रष्टाचार झनै मौलाएको हुनाले एमालेले गम्भीर भएर समीक्षा गरिरहेको बताउनुभयो । 

एमाले अध्यक्ष ओलीले अहिलेको सरकार सुशासनको पक्षमा नरहेको र राष्ट्रप्रतिको जिम्मेवारीबोध पनि सरकारलाई नभएको आरोप लगाउनुभयो । उहाँले थप्नुभयो, ‘अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुन विनासुइँको छिर्नु चानचुने कुरा होइन । यसबाट विमानस्थलबाट जे पनि छिराउन सकिने देखिएकाले शान्ति सुरक्षाका लागि ठूलो चुनौती थपिएको छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका ओलीले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले सम्बन्धको आधारमा सिफारिस नगर्न निर्देशन दिंदै यो कुरा पार्टीका लागि घातक बन्न सक्ने बताउनुभयो । 

उहाँले एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्न नहुने जनाउँदै जनप्रतिनिधि बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो भन्नुभयो । अध्यक्ष ओलीले एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउनेतिर सबै नेता कार्यकर्ताले ध्यान दिन सबै तहका जनप्रतिनिधिलाई सो अवसरमा निर्देशन दिनुभयो ।

मिसन ८४ लाई लक्षितगरी ८४ सम्म योजनाबद्व तरिकाले जनतामुखी समाजसेवामा खट्न आग्रह गर्नुभयो । दुई दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका जनप्रतिनिधिको सहभागिता रहेको छ ।