• १६ चैत २०८०, शुक्रबार

गाडीसहित चालक बेपत्ता

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १३ गते । साउन ८ गते किराना सामान लिएर बेनी नगरपालिका–७ बेनीबाट अन्नपूर्ण गाउँपालिका–३ दानातर्फ गएको ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक कम्लेस परियार साउन १० गतेबाट सम्पर्कविहीन हुनुभएको छ । 

बेनी नगरपालिका–७ मंगलाघाटको सुमन किराना स्टोरबाट खाद्यान्न सामग्री लिएर दाना पुगेको खुले पनि फर्किनेक्रममा गाडीसहित चालक सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएको गाडीको खोजी गर्नेक्रममा अन्नपूर्ण गाउँपालिका –६, भिरकाटेमा बोलेरोजस्तै देखिने काँच भेटिएको र पसलको सामानको नगदरसिद समेत भेटिएको बताइएको छ । 

तर चालक र बोलेरोको कुनै जानकारी पत्ता लाग्न नसकेको जानकारी पसलका सञ्चालकले दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरण लामाले बताउनुभयो । उहाँका अनुसार मालिका गाउँपालिका –५ देवीस्थानका २७ वर्षीय चालक परियार र सवारी साधनको बारेमा केही खुल्न सकेको छैन ।

साउन ८ गते बेनीबाट खाद्यान्न सामान लिएर दानातर्फ गएको सो बोलेरो १० गते बुधबार दिउँसो ३ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको सुमन किराना स्टोरका प्रोप्राइटर सुमन श्रेष्ठले जानकारी दिनुभयो । “सामान बिक्री गर्दै दानासम्म पुगेर फर्केको जानकारी छ, त्यसपछि सम्पर्कमा नआएपछि खोजी गर्नेक्रममा भिरकाटेमा गाडीको फेला पर्नुबाहेक अन्य कुनै सूचना हामीले पाउन सकेका छैनौँ” उहाँले भन्नुभयो ।

वर्षातको समय र अप्ठेरो तवरले बग्ने कालिगण्डकी नदीको उर्लिएको भेलमा खसेको अनुमान गरिए पनि यकिन भन्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनु भएका प्रहरी निरीक्षक लामाका अनुसार सिसा भेटिएको स्थानबाट तल्लो क्षेत्रमा कालीगण्डकी नदी वारपार प्रहरी परिचालन गरी खोजी गरिरहेको छ ।

हालसम्म कुनै तथ्य फेला नपरेको हुँदा जिप र चालकको अवस्था थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कुमार गुरुङ नेतृत्वमा प्रहरी टोली अनुसन्धानका लागि गएको भए पनि कुनै अन्य सूचना पाउन नसकेको उहाँले बताउनुभयो ।