• १२ वैशाख २०८१, बुधबार

कोहलपुर सहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन

blog

निर्वाचनमा विजयी लोकतान्त्रिक प्यानलका उम्मेदवार। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगन्ज, साउन १३ गते। पाँच हजार बढी सदस्य सङ्ख्या रहेको बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा टेकनारायण भुसालले नेतृत्व गर्नुभएको लोकतान्त्रिक प्यानल विजयी भएको छ। आठ वर्षको अन्तरालपछि भएको निर्वाचनमा चार दलीय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारलाई पराजित गर्दै लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका हुन्।

अध्यक्ष पदमा भुसालले १२ सय १४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी रुद्र खनालले एक हजार १७ मत प्राप्त गर्नुभयो। त्यसैगरी स्वतन्त्र प्यानलबाट उठ्नु भएका विष्णु तिवारीले ३८२ मत प्राप्त गर्नुभयो। 

त्यसैगरी लोकतान्त्रिक प्यानलबाटै उपाध्यक्षमा वीरबहादुर विष्ट ११ सय ४१, सचिवमा गोविन्द वाग्ले एक हजार ५६, कोषाध्यक्षमा ध्रुव आचार्य ११ सय ४३, सहसचिवमा बालकुमारी सापकोटा ११ सय ३४ र सहकोषाध्यक्षमा ईश्वरप्रसाद शर्मा ११ सय ६५ मतकासाथ विजयी हुनुभएको छ। सदस्यमा झग्गुप्रसाद वली ९९२, चक्रदीप शाह ९९६, आशा घर्ती मगरले ९९४ तथा महिला सदस्यमा दिपा कुमारी बस्नेतले ११ सय १६ र टिकादेवी सुनारले १ हजार ५२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। 

पाँच हजार २७७ मतदाता रहेको सो संस्थामा दुई हजार ८८७ मत खसेको थियो। शुक्रबार रातिबाट सुरु भएको मतगणना शनिबार दिउँसो सम्पन्न भएको हो। अध्यक्षमा विजयी हुनुभएका भुसालले संक्षिप्त प्रतिक्रिया दिँदै आठ वर्षपछि आएर अहिले निर्वाचन सम्पन्न भएकोले अस्तव्यस्त रहेको कोहलपुरको खानेपानीको व्यवस्थालाई आम उपभोक्ताका लागि सर्वसुलभ र सहज बनाइने बताउनुभयो।