• ७ वैशाख २०८१, शुक्रबार

मधुकर स्मृति पुरस्कार साहित्यकार लम्साललाई

blog

प्रेम प्रकाश मल्ल मधुकरको ८८ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रम। तस्बिर: सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १३ गते। वरिष्ठ साहित्यकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको ५१ हजार रकमसहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ। 

भेरी साहित्य समाज केन्द्रीय समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको मधुकरको ८८ औँ जन्मजयन्ती समारोहमा ५१ हजार १११ रुपियाँको सो पुरस्कार साहित्यकार लम्साललाई प्रदान गरिएको हो। 

सोही कार्यक्रममा प्रा.डा कृष्णप्रसाद घिमिरे र प्रा.डा सदन पौडेललाई प्रेम प्रकाश मल्ल मधुकर स्मृति सम्मान गरिएको छ। वरिष्ठ कथाकार तथा साहित्यकार सनतकुमार रेग्मीले लम्साललाई पुरस्कार र घिमिरे तथा पौडेललाई सम्मान गर्नुभयो। 

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, स्व. मधुकरकी छोरी वाणीश्री मल्ल, पत्रकार पूर्णलाल चुके, शुक्र ऋषि चौलागाईं, साहित्यकार इन्द्रबहादुर भण्डारी, हरि सुवेदी लगायतले मधुकरको व्यक्तित्व र योगदानको बारेमा बोल्नुभएको थियो।

कार्यक्रममा वरिष्ठ कथाकार तथा साहित्यकार सनत रेग्मीले मल्लका गीत लोकप्रिय रहेको चर्चा गर्नुभयो। अवसरमा गायक प्रभात सुवेदीले मधुकरका गीतहरूको गायन गरेर उहाँको सम्झना गर्नुभयो।