• १२ वैशाख २०८१, बुधबार

अन्तर्राष्ट्रिय बाघ दिवस : संरक्षणमा जोड

blog

बाघ संरक्षण दिवसको अवसरमा आयोजित र्‍यालीमा सहभागी । तस्बिर: बोमलाल गिरी

बोमलाल गिरी 

नवलपुर, साउन १३ गते । नवलपुरमा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको छ । नवलपुर पर्यटन समितिको आयोजनामा शनिबार सदरमुकाम कावासोतीमा  प्रभात फेरी, रक्तदान,  वृक्षारोपण लगायतका कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको हो ।

हरेक वर्ष बाघ संरक्षण र बाघको वासस्थान जोगाउनका लागि अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बाघलाई संरक्षण गर्न र बाघको महत्त्वबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । एसियामा मात्र पाउने बाघको महत्त्व विश्वले बुझ्दा विश्वमा बाघको सङ्ख्या बढेको महतोको भनाइ छ । 


डिभिजन वन अधिकृत मेघराज पौडेलका अनुसार हाल नेपालमा बाघको सङ्ख्या ३५५ रहेको छ । त्यसको एक तिहाइ अर्थात् १२८ वटा बाघ नवलपुरको सीमावर्ती चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । 

नेपालले बाघ संरक्षण गर्ने लक्ष्य पुरा गरिसकेको छ, डिभिजन वन अधिकृत पौडेलले भन्नुभयो, ‘‘२०२१ मा १२१ वटा बाघ रहेकोमा २०२२ मा ३५५ वटा बाघ पुर्‍याएर लक्ष्य पुरा गरिसकेका छौँ। अब त्यसलाई जोगाउँदै संरक्षणमा जोड दिनुपर्छ ।’’ बाघको वासस्थान नासिँदै गएकाले बाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

सन् २०२० मा बाघको वासस्थान ९३ प्रतिशतले नष्ट भएपनि विश्वले बाघको महत्त्व बुझेकाले अहिले वासस्थान बढ्दै गएको पौडेलको भनाइ छ ।