• १३ वैशाख २०८१, बिहिबार

सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने प्रमुख महर्जनको घोषणा

blog

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुनुहुँदै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतका पदाधिकारी । तस्बिर : गोरखापत्र

ललितपुर, साउन १३ गते । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गर्नुभएको हो ।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रमुख महर्जनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहेयाई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताउनुभयो ।

यसैगरी, प्रमुख महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाइगर गेट बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उहाँको भनाइ छ । 

प्रमुख महर्जनले भन्नुभयो, ‘‘ज्येष्ठ नागरिक अथवा अपाङ्गता भएका व्यक्ति चिडियाघरमा आउँदाखेरी उहाँहरूले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटन बसेको व्यवस्थापन गर्न गइरहेको छु ।१४/१५ सिटको बस घुमी रहन्छ । उसले बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्‍यो । अर्को ठाउँमा गयो, अर्को हेर्‍यो । त्यो दोहोर्‍याई, तेहर्‍याइ हेर्न पाउने गरी बसको व्यवस्थापन निकट भविष्यमै गर्न गइरहेको छु ।’’

कार्यक्रममा प्रमुख महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रमुख महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो ।