त्रिविको साख (सम्पादकीय)


gopa sत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ६० वर्ष पूरा गरेको छ । त्रिवि २०१६ असार २५ गते स्थापना भएको हो । मुलुककै जेठो, पुरानो र ठूलो यो विश्वविद्यालयले मुलुकको शैक्षिक जनशक्ति उत्पादनमा पु¥याएको योगदान अतुलनीय छ । अहिले पनि त्रिविमा विद्यार्थीको चाप घटेको छैन । त्रिविमा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन गरी चार सङ्काय र स्वास्थ्यविज्ञान, इन्जिनियरिङ, वन, कृषि तथा पशुविज्ञान र विज्ञान तथा प्रविधि गरी पाँच प्राविधिक संस्थान छन् । ६० वटा आङ्गिक र एक हजार एक सय जति सम्बन्धनप्राप्त क्याम्पस छन् । छ लाख विद्यार्थी छन् ।
त्रिवि नेपालको उच्चशिक्षाको मेरुदण्ड हो । नेपालको सर्वाङ्गीण विकासका लागि दक्ष जनशक्ति तयार गर्न, स्तरीय उच्चशिक्षा, अनुसन्धान, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानका लागि त्रिविको स्थापना भएको हो । दक्ष जनशक्तिका लागि विदेश र विदेशीसँग भर पर्नुपर्ने अवस्थामा त्रिविले नै यसको माग पूरा गर्न महŒवपूर्ण योगदान गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेर मुलुकको आवश्यकता मात्रै होइन, गौरव पनि बढाएको छ । राष्ट्रिय स्तरमा विद्यार्थीको आकर्षण छ नै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि त्रिविले सफलता हासिल गरेको छ । केही विषयमा त्रिवि दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक कार्यक्रम चलाउन पनि सफल भएको छ । केही महिनाअघि बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूची (सन् २०१९)को विभिन्न क्षेत्रमा त्रिवि ३००औँ स्थानभित्रै सूचीकृत भएको छ । यसमा एसिया क्षेत्रका ४८ मुलुकका करिब तीन हजारभन्दा बढी विद्यालय समावेश थिए । यस्तै अर्काे प्रतिवेदनले विश्वमा ३० हजारको हाराहारी रहेका विश्वविद्यालयमध्ये उत्कृष्ट ८०१–१००० औँ विश्वविद्यालयको सूचीमा त्रिवि परेको छ । यो त्रिवि र मुलुककै लागि गौरवको विषय पनि हो ।
शैक्षिक उन्नयनमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको त्रिविको पछिल्लो अवस्था खस्कँदो छ । विभिन्न विवाद र अनियमिततामा त्रिवि र सम्बद्ध अधिकारीको नाम जोडिने गरेको छ । प्राज्ञिक व्यक्ति नै बौद्धिक सम्पत्ति चोरीदेखि शोधपत्र तयारी र स्वीकृति गर्नेसम्ममा मुछिने गरेका छन् । परीक्षामा अनैतिक काम गर्नेदेखि आफन्तलाई सेवा आयोगमा पास गराउनेसम्मका काम हुने गरेको सार्वजनिक हुन थालेको छ । पैसा र घुस खुवाएर÷खाएर विद्यार्थीको प्राप्ताङ्क हेरफेर गर्ने÷गराउने कामले विश्वविद्यालयको शैक्षिक गुणस्तर र विश्वसनीयता के होला ? यतिमात्रै होइन, त्रिवि अहिले गैरप्राज्ञिक संस्थालाई जग्गा दिनेदेखि आर्थिक अनियमिततासँग पनि जोडिन थालेको छ । यो दुःखद हो । त्रिविले आफ्ना पाठ्यक्रम र शिक्षण पद्धतिमा समसामयिक सुधार र परिमार्जन गर्न सकेको छैन । शैक्षिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । शैक्षिक क्यालेन्डर अनिश्चित छ । प्रशासनिक अस्तव्यस्तता छ । पुराना भौतिक संरचना र जनशक्तिले यी चुनौती समाधान गर्न सक्ने देखिँदैन । दलीय भागबन्डा र राजनीतिकरणले त्रिविलाई ओरालोतिर लैजाँदैछ । प्राज्ञिक र प्रशासनिक दक्षता गुमाउँदैछ ।
त्रिवि अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था हो । शैक्षिक गुणस्तर कायम गर्न पनि स्वायत्तता जोगाउनु उत्तिकै आवश्यक छ । संस्थाको समग्र विकासका लागि राजनीतिक दल वा दलीय भागबण्डाभन्दा पनि सक्षम, दृढ इच्छाशक्ति भएको, इमानदार र प्रतिबद्ध नेतृत्व आवश्यक हुन्छ । यस्तो नेतृत्वले मात्रै संस्थाको साख जोगाइराख्न सक्छ, संस्थालाई अग्रगमनतर्फ लैजान्छ । शैक्षिक गुणस्तर नै विश्वविद्यालयको पहिचान हो । यसमा सम्झौता नगर्ने परिपाटी विकास हुन आवश्यक छ । समयानुकूल पाठ्यक्रम, शिक्षणपद्धति, समय र बजारको माग अनुसारको विषय, आधुनिक सूचना र प्रविधिमैत्री पठनपाठन शैक्षिक गुणस्तर उकास्ने माध्यम हुन् । त्रिविप्रति प्रतिबद्ध शिक्षक र कर्मचारी चाहिन्छ । शैक्षिक जनशक्तिलाई पुनर्ताजगी गर्नुपर्छ । विश्वविद्यालयलाई उत्कृष्टताको यात्रामा अग्रसर गराउन सबै पक्षको इमानदारी, प्रतिबद्धता र लगनशीलता चाहिन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds