• १६ चैत २०८०, शुक्रबार

महिला विश्वकप फुटबल : अर्जेन्टिनाको शानदार पुनरागमन

blog

ड्युनेडिन (न्युजिल्यान्ड), साउन १३ गते। अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। यी दुवै टिमको दुई खेलबाट समान एक अङ्क भएको छ। समूह जीमा अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः इटली र स्विडेनसँग पराजित भएका थिए।

खेलको ३० औँ मिनेटमा लिन्डा मोटालोको गोलबाट दक्षिण अफ्रिकाले अग्रता बनाएको थियो। उहाँले थेम्बी काट्लानाको पासमा गोल गर्नुभएको हो। खेलको ६६ औँ मिनेटमा काट्लाना आफैँले गोल गरी दक्षिण अफ्रिकालाई २–० ले अगाडि पार्नुभयो। खेलको ७४ औँ मिनेटमा सोफिया ब्रैनले बललाई गोलपोस्टमा माथिल्लो कुनामा छिराएर अर्जेन्टिनालाई खेलमा फर्काउनुभयो। पाँच मिनेटपछि रोमिना नुनेजले हेड गोल गरी खेल बराबर गर्नुभयो। विश्वकप महिला फुटबलमा दक्षिण अफ्रिकाले पहिलो पटक अङ्क हासिल गरेको हो। सन् २०१९ मा खेलेका तीन खेल र चालु प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकाले हार बेहोरेको थियो तर यस संस्करणमा दक्षिण अफ्रिका बलियो टिमका रूपमा प्रस्तुत भएको छ। स्विडेनविरुद्धको पहिलो खेलमा अग्रता बनाएर पनि दक्षिण अफ्रिका २–१ ले पराजित भएको थियो।

इङ्ग्ल्यान्डको लगातार जित

सिड्नी। खेलको छैटौँ मिनेटमा लरेन जेम्सले गरेको गोल निर्णायक बनेपछि इङ्ग्ल्यान्ड शुक्रबार डेनमार्कलाई १–० ले हराएर महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा संघारमा पुगेको छ।

हाइटीविरुद्ध लरेनले पहिलो रोजाइमा स्थान पाउनुभएको थिएन तर डेनमार्कविरुद्ध प्रशिक्षक सरिना विगमानले उहाँलाई विश्वास गर्नुभयो। इङ्ग्ल्यान्ड पुरुष फुटबल टिमका सदस्य रिस जेम्सकी बहिनी लरेनले पहिलो पटक सुरुवाती एघारमा परेको अवसरलाई अविस्मरणीय पनि बनाउनुभयो। लरेन प्लेयर अफ दी म्याच घोषित हुनुभयो। डिबक्स बाहिर बल प्राप्त गरेपछि लरेनले घुमाउरो प्रहारमार्फत बल गोलपोस्टमा छिराउनुभएको हो। यस गोलसँगै इङ्ग्ल्यान्डले विश्वकपमा लगातार १५ खेलमा गोल गरेर नर्वेले राखेको कीर्तिमानको बराबरी पनि गरेको छ। युरोपेली च्याम्पियन इङ्ग्ल्यान्डलाई आज भाग्यले पनि साथ दियो। डेनमार्ककी स्थानापन्न खेलाडी आमेली भान्सगार्डले अन्तिम समयमा हेड गरेको बल गोलपोस्टमा लागेर फर्केपछि इङ्ग्ल्यान्डको अग्रता कायम रहेको हो। चिनविरुद्धको पहिलो खेलमा भान्सगार्डले अन्तिम समयमा गोल गरेपछि नाटकीय जित हात पारेको थियो। इङ्ग्ल्यान्डविरुद्ध उहाँ गोलको नजिक पुगेर पनि सफल हुन सक्नुभएन। 

इङ्ग्ल्यान्डको यो लगातार दोस्रो जित हो। इङ्ग्ल्यान्डले समूह चरणको अन्तिम खेल मङ्गलबार चिनविरुद्ध खेल्ने छ। सोही समयमा डेनमार्कले हाइटीको सामना गर्ने छ। 

चीन विजयी

एडिलेड। एक घण्टाभन्दा बढी समय एक खेलाडीको बेफाइदामा खेलेर पनि एसियन च्याम्पियन चीनले शुक्रबार हाइटीलाई १–० ले हराएर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। खेलको ७४ औँ मिनेटमा फरवार्ड वाङ सुआङले पेनाल्टीमा गरेको गोल निर्णायक बनेको हो।एपी