• १५ चैत २०८०, बिहिबार

घोराहीको मुख्य सडक अन्धकार

blog

लीलाधर वली

घोराही, साउन १३ गते  । नेपाल विद्युत् प्राधिकरण घोराही शाखाले विद्युत् लाइन काटिदिएपछि घोराहीको मुख्य सडक एक महिनादेखि अन्धकार हुँदै आएको छ। उज्यालो घोराही कार्यक्रम अन्तर्गत यसअघि घोराहीको कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको मुख्य सडकमा सडक बत्ती जडान गरिएको थियो । 

सडक बत्तीका लागि एपेक्स नेपाल प्रालिसँग घोराही उपमहानगरपालिकाले सम्झौता गरेको थियो तर कम्पनीले विद्युत् महसुल नबुझाउँदा सडक बत्तीको लाइन प्राधिकरणले काटेपछि मुख्य सडक अन्धकार हुँदै आएको छ। तुलसीपुर चोकदेखि बिपी चोकसम्मको मुख्य सडकको बत्ती प्राधिकरणले काटेको हो। सडक बत्ती  प्रयोग गरेबापतको रकम नतिर्दा विद्युत् लाइन काट्नु परेको प्राधिकरण घोराही शाखाले जनाएको छ। 

पोलमा विज्ञापनका बोर्डसमेत राखिएका छन् । विज्ञापन गरेबापत रकमसमेत लिइने गरिन्छ तर विद्युत्को शुल्क भने तिरिएको छैन । 

सडक बत्तीको महसुल बिहीबारसम्म ६७ हजार ८३४ रुपियाँ तिर्न बाँकी रहेका प्राधिकरण घोराही शाखाका लेखा अधिकृत डिल्लीराज आचार्यले जानकारी दिनुभएको छ। २०७९ साल जेठ महिनादेखि विद्युत् महसुल नतिरेपछि प्राधिकरणले बाध्य भएर लाइन काटेको लेखा अधिकृत आचार्यले बताउनुभयो। 

सडक बत्ती बल्न छाडेपछि जोखिमसमेत बढेको घोराही उपमहानगरपालिका–१५ अन्तर्गत रहेको गौतम बुद्ध टोल विकास संस्थाका अध्यक्ष मीनराज घिमिरे बताउनुहुन्छ। सडक बत्ती बल्न छाडेपछि रातको समयमा अँध्यारो हुने हुँदा चोरी तथा दुर्घटना हुने जोखिम बढेको उहाँ बताउनुहुन्छ। 

समयमै सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ। यस क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीले पनि सडक बत्ती नहुँदा रातको समयमा जोखिम बढेको बताउने गरेका छन् । छिटोभन्दा छिटो सडक बत्ती सञ्चालनमा ल्याउन व्यवसायीले माग गरेका छन्।  

घोराहीको मुख्य बजारकै सडक बत्तीको पैसा नतिरेर बत्तीको लाइन काटिनु दुःखद भएको स्थानीय जीवन श्रेष्ठ बताउनुहुन्छ। एक महिनासम्म पनि विद्युत् बत्ती नबल्दा स्थानीय सरकार बेखबर रहेको उहाँ बताउनुहुन्छ।  

घोराहीमा एपेक्स नेपाल प्रालि र घोराही उपमहानगरपालिकाबिच सम्झौता गरी सडकमा बत्ती जडान गर्ने सुरु गरिएको थियो । सडक बत्तीको जडान सुरक्षासमेत प्रालिले गर्ने गरी सम्झौता भएको थियो तर पोलमा राखिएका विज्ञापनको रकम प्रालिले उठाउने र नगरपालिकालाई विज्ञापन करबापतको निश्चित कर तिर्ने सहमति भए पनि कम्पनीले विद्युत् महसुलबापतको रकम नतिर्दा विद्युत् कार्यालयले विद्युत् लाइन काटिदिएको छ।