• ५ वैशाख २०८१, बुधबार

नगरपालिकाविरुद्ध १० वडा अध्यक्षले हाले मुद्दा

blog

नगरपालिकाविरुद्ध उजुरी दर्ता गर्न जुम्ला पुगेका खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरु । तस्बिर : गोरखापत्र

प्रेमराज सिम्खडा

कालीकोट साउन १३ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाविरुद्ध उच्च अदालत जुम्ला इजलासमा मुद्दा दर्ता भएको छ । नगर प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले आफ्नो स्वार्थपूर्तिका लागि नगर सभामा भएका निर्णयलाई बदर गर्दै आफू अनुकूल बजेट र योजना बनाएको आरोपमा १० जना वडा अध्यक्षले नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका हुन् । 

नौ जना वडा अध्यक्षले संयुक्त रूपमा नगरपालिकालाई विपक्ष बनाएर बिहीबार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गराएका छन् । खाँडाचक्र नगरपालिकाले असार १० गते बेलुकी झन्डै दुई घण्टा नगर सभाको उद्घाटन मात्र गरेर नगर सभा सम्पन्न भएको जनाएको थियो । उद्घाटन सत्रमा गरिएको माइनुटमै प्रमुख र उपप्रमुखले आर्थिक वर्ष २०८०/८१ को बजेट बनाएर सार्वजनिक गरेको आरोप वडा अध्यक्षको छ । 

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै पनि योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, नागरिकमुखी नभई जनप्रतिनिधिमूलक बजेट बनाएको लगायतका विषयमा नगरपालिकाका ११ जना वडाध्यक्षको समर्थनमा १० जनाले मुद्दा दर्ता गराएका हुन् । 

अघिल्लो कार्यकालका जनप्रतिनिधिले खर्च गरेको बजेट तिर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७९/८० मा कुनै पनि ठुला योजनामा काम नगरेको नगरपालिकाले यस वर्ष पनि पाँच करोड रुपियाँ भन्दा बढी पुरानो तिर्नुपर्ने बजेट देखाएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुख र उपप्रमुखले कुनै पनि कार्य नगरेकाले अदालतसम्म पुग्नुपरेको वडाध्यक्षहरूको भनाई छ । वडा नं ६ का अध्यक्ष दिनेशबहादुर शाहीले भ्रष्ट्राचार गर्ने मनसायले तिर्न नपर्ने बजेट तिर्नु पर्ने भनी विनियोजन गरेको बताउनुभयो । 

वडा नं ४ का अध्यक्ष प्रभानन्द आचार्यले नगर सभा उद्घाटन सत्रको उपस्थितिको तल आफू अनुकूल बजेट बाँडफाँड गरेको सिलिङ टाँस गरी नगरप्रमुख र उपप्रमुख दुवै जना जिल्ला बाहिर गएको बताउनुभयो । 

पटक पटक फोन गरेर बजेट सच्चाउन अनुरोध गर्दा नमानेपछि अदालत पुग्नु परेको जानकारी दिनुभयो । उता नगर प्रमुख कमलबहादुर शाहीले नगरप्रमुख र उपप्रमुखबिरुद्ध नभएर उनीहरू विरुद्धको पनि उजुरी भएको बताउनुभयो । 

उजुरी नगरपालिकाबिरुद्ध भएकाले उनीहरू पनि नगर कार्यपालिका सदस्य भएकाले यो उजुरी उनीहरुबिरुद्धको पनि भएको दाबी गर्नुभयो । उनीहरूलाई नै १८ गते अदालतले बोलाएकाले उनीहरुबिरुद्धकै उजुरी भएको नगरप्रमुख शाहीको भनाई छ । 

नगरप्रमुख शाहीले हामीले जनताको काम गर्ने हो, वडा अध्यक्षलाई खानका लागि बजेट आफूले नवाड्ने कुरा साँचो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ विकास नगरबाटै हुन्छन् । वडामा बजेट लिने र आफै पाइप खरिद गरेर भ्रष्ट्राचार गर्ने वानी परेको छ । यस्ताले आपत्ति जनाउँदैमा केही हुँदैन ।’’