अक्षराङ्कन प्रणालीमा सुधार आवश्यक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम भर्खर सार्वजनिक भएको छ । यो नतिजासँगै सामुदायिक र निजी विद्यालयको गुणस्तर, विद्यार्थीको स्तर मापन प्रणाली (जीपीए र लेटर ग्रेडिङ)सम्बन्धी बुझाइ अनि यो तहको परीक्षाकै उपादेयतामा बहसहरू सिर्जना भएका छन् । यिनै सन्दर्भमा केन्द्रित भएर छलफल गर्न गोरखापत्र संवादमा शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बराल, शिक्षाविद् प्रा. डा. बालचन्द्र लुइटेल र पद्मकन्या माध्यमिक विद्यालय, डिल्लीबजारकी प्रधानाध्यापक तथा महिला शिक्षक समाजका उपाध्यक्ष रीता तिवारीलाई निम्त्याएका छौँ । प्रस्तुत छ उहाँहरूका विचारको सम्पादित अंश– sambad_2

एसईई रिजल्ट भर्खर सार्वजनिक भएको छ । बोर्ड परीक्षा त ८ कक्षामा पनि हुन्छ अनि १२ कक्षापछि मात्र विद्यालय शिक्षा पूरा हुने प्रणाली अपनाइएको छ भने ठूलो चर्चा हुने गरेको एसईईको उपादेयता के हो ?
बराल : सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई)को उपादेयता एकदम धेरै छ । हामी कक्षा ८ मा पनि बोर्ड परीक्षा गर्छौं । दुई वर्ष भयो, एसईई सञ्चालन गर्दै आएका छौँ । यो नेसनल एक्जामिनेसन (राष्ट्रिय परीक्षा) हो । कक्षा १० को प्रदेशले गर्ने भन्ने हो । कक्षा १२ को परीक्षा सङ्घले गर्ने व्यवस्था छ तर अहिले त्यसको कानुन बनिसकेको छैन । ऐनद्वारा व्यवस्थित नभएकै कारण केन्द्रबाटै भयो । स्कुल एजुकेसनको ‘एक्जिट पोइन्ट’ दुईवटा छ– कक्षा १० र १२ । रोजगारको क्षेत्र कक्षा १० बाटै प्राप्त हुन्छ । चाहेर पनि प्रदेशबाट एसईई परीक्षा गर्न नसक्नुको कारण सङ्घीय शिक्षा ऐनमा त्यो व्यवस्था नभएर हो । सङ्घीय कानुन अझै ढिला हुन्छ । सङ्घीय शिक्षा ऐन चाँडो आएको भए सबै कुरा व्यवस्थित हुँदै जान्थ्यो । लोकसेवा आयोगले केन्द्रमा किन विज्ञापन ग¥यो भन्दा प्रदेश कानुन नभएरै हो । त्यस्तै हाम्रो एसईई परीक्षा पनि हो । राजनीतिक सङ्क्रमण टुङ्गिए पनि ऐन कानुनको अझै मुलुकमा सङ्क्रमणकाल नै छ ।
डा. लुइटेल : ऐतिहासिक रूपमा एउटा मनोविज्ञान स्थापित भएको छ । नेपालमा शिक्षाको इतिहास हेर्ने हो भने पहिले १० कक्षा ‘एक्जिट पोइन्ट’ थियो जसलाई ‘सर्टिफिकेट लेभल’ भनिन्थ्यो । १० पछि विश्वविद्यालय सुरु हुन्थ्यो । एसईईभन्दा एसएलसी महìवपूर्ण हो भन्ने स्थापित गर्न अझै केही समय लाग्छ किनभने कक्षा ११ र १२ लाई स्कुलका रूपमा स्थापित गर्न अझै समस्या भइरहेको छ । विद्यार्थीले त्यसलाई कलेजको रूपमा बुझ्ने गरेका छन् । कक्षा १० पास हुनेबित्तिकै पहिले क्याम्पस भनिन्थ्यो अहिले ‘कलेज’ भन्छन् विद्यार्थीले । कक्षा ८ मा जिल्लास्तरीय परीक्षा हुन्छ तर त्यो धेरै चर्चामा आउँदैन । त्यो पनि एउटा ‘एक्जिट पोइन्ट’ हो । यसकारणले पनि यो परीक्षाको उपादेयता छ । यसबाट शिक्षा लिएर पढाइ लेखाइ, नीतिमा कसरी सुधार गर्ने भन्ने सोच्नुपर्छ । उपलब्धिको मूल्याङ्कन अझै कमजोर छ । शिक्षक र विद्यालयले स्वामित्व कम लिएको हो कि ? केन्द्रले परीक्षा लियो भनेर पो हो कि ? रिजल्टको एउटा खाता आउँछ त्यो लिएर बस्छौँ भन्ने सोचाइ छ ।
तिवारी : हामीले विद्यार्थीलाई सुरुदेखि पढाउँदा नै लक्ष्य एसईईको रिजल्ट हुनेगर्छ । त्यसैलाई आधार बनाएर विद्यालयले पठनपाठन गराउने गर्छन् । एसईईको रिजल्ट राम्रो आयो विद्यालय सप्रियो, बिग्रेमा विद्यालय बिग्रियो भन्ने सोचाइ छ, यहाँ मूल्याङ्कन ठूलो हुने गर्छ । कक्षा ११ र १२ मा जम्मा दुई जना शिक्षकको दरबन्दी छ । कार्यान्वयन गर्न गाह्रो भएको छ । बाँकी सबै निजी शिक्षकबाट काम चलाउनुपर्ने छ । कक्षा ११ र १२ को पाठ्यक्रमले राम्रो गरेको छ । विद्यार्थीले विषय छनोट गर्न पाएका छन् । जीपीएको मिडियामा धेरै प्रचार पनि भएको छ । विद्यार्थीलाई त्यसबारेमा बढी काउन्सिलिङ गरिएको छ तर यसको राम्रो र नराम्रो के हो भन्ने बारेमा अझै काउन्सिलिङ हुनसकेको छैन । विद्यार्थीलाई तनाव पनि भइरहेको छ । एसईई रिजल्ट राम्रो गर्दा के र नराम्रो गर्दा के भन्ने विषयमा बहस हुनुपर्छ । यसको उपादेयताबारेमा अझै धेरै बहस हुनसकेको छैन ।

एसईईको परिणाम आउँदा त्यसको जीपीए र लेटर ग्रेडिङमा बुझाइ फरक देखिन्छ, कसरी बुझाउने, गुणस्तर कसरी कायम गर्ने ?
डा. लुइटेल : चारवटा दृष्टिकोणले हेर्न सकिन्छ । जाँचमा तीन घण्टा विद्यार्थीलाई राखिसकेपछि केही न केही थाहा पाउँछौँ भन्ने छ । यसले केही न केही त सङ्केत गरेको छ । दोस्रो, त्यो सङ्केत कति भरपर्दो छ ? त्यसरी पनि हेर्नुपर्छ । केही हदसम्म गरेको छ । परीक्षामा बसेपछि विद्यार्थीले केही न केही त लेख्छन् नै । तेस्रो, यो कतिको वैध छ ? विद्यार्थीको सिर्जना कति आएको छ ? प्रश्नको तयारी कस्तो छ ? प्रश्न निर्माण गर्ने विधि प्रक्रिया पुगेको छ कि छैन ? परीक्षा लिनुपर्ने आवश्यक त छ तर पूर्णता हो कि होइन, मूल्याङ्कन गर्नुपर्छ । परीक्षापत्र डिजाइन गर्दा परीक्षण र ‘स्याम्पलिङ’ पनि भएको छैन । अन्तर्राष्ट्रिय मापदण्ड हेर्दा धेरैपटक ‘ट्रायल’ लिएको देखिन्छ । हामीले गर्नसकेका छैनौँ । यो कुरा उठाउँदा हामीले गोपनीयताको कुरा पनि उठाउने गर्छौं ।
तीन घण्टा जाँच लिने तरिका ठीक हो कि होइन ? यसका अन्य विकल्प पनि छन् । आफूले पढाएको विद्यार्थीलाई सबैभन्दा नजिकबाट त शिक्षकले नै बुझ्छ । शिक्षकको मूल्याङ्कन उच्च हुनुप¥यो । हरेक तीन÷तीन महिनामा विद्यार्थीको टेस्ट हुन्छ । आवश्यक पर्दा महिना÷महिनामा पनि हुन्छ । वर्ष÷वर्षमा टेस्ट हुन्छ तर त्यो पर्याप्त हो त ? टेस्ट धेरै लिँदैमा हुँदैन । फिनल्यान्डमा वर्षमा एकपटक मात्र टेस्ट हुन्छ । अमेरिकामा हरेकपटक टेस्ट गर्ने गरिन्छ । अरू माध्यमबाट पनि विद्यार्थीको मूल्याङ्कन हुनुपर्छ । अरू माध्यमको मूल्याङ्कनका लागि हाम्रो एजुकेसन प्रणाली तयारी अवस्थामा छैन । हाम्रो विश्वविद्यालयले त्यस्ता शिक्षक उत्पादन गर्नसकेको छैन । शिक्षकहरू नियमित ‘एसिसमेन्ट’ गरेर आएका छन् कि छ महिनामा एक पटक जाँच दिएर आएका छन् ? यसलाई बहुपक्षीय दृष्टिले हेर्नुपर्छ । एसईईले केही टेस्ट गर्दैन भन्ने होइन, गर्छ तर पूर्ण छैन । यही जाँचलाई अझ राम्रोसँग व्यवस्थित गर्न सकिन्छ । कपी जाँचमा अर्को समस्या छ ।

परीक्षणको विधि के गर्दा अझ राम्रो हुन्छ त ?
डा. लुइटेल : टेस्टका तह छन् । कुन तहसम्म हामीले हेर्ने ? प्रश्नपत्र त्यहीअनुसार स्तरीकृत गर्नुपर्छ । गोपनीयता कायम गर्नुप¥यो र त्यसको स्तरीकृत पनि । त्यसमा मिल्ने प्रश्न सोधिएको छ कि छैन ? विद्यार्थीको सिर्जना तीन घण्टाको जाँचले जाँच्न सक्छ कि सक्दैन ? त्यस्तै खालको प्रक्रियामा जानुपर्छ । त्यसो गर्न सके अहिलेकै प्रक्रियालाई उत्कृष्ट बनाउन सकिन्छ ।
बराल : भइरहेको प्रणालीमा सुधार गर्न सकिन्छ । यसको ‘सेफगार्ड’ गर्नसके सुधार हुन्छ । शिक्षक जेमा अभ्यस्त छन्, हाम्रो प्रणाली जेमा अभ्यस्त छ, त्यसमै काम गर्न सहज हुन्छ । भिन्न ल्याउँदा हाम्रो क्षमताले भ्याउँदैन । अहिले पनि धेरै विद्यालयमा किताब पुगेन भन्ने सुनिन्छ । पाठ्यक्रमअनुसार पढाउने चलन कम छ । शिक्षकहरू ‘टेक्स्ट बुक’ नभए पढाउनै नसक्ने खालका छन् । पाठ्यक्रमअनुसार पढाइदिए पाठ्यपुस्तक नपुग्दा पनि केही फरक पर्दैनथ्यो । कक्षा ११ र १२ मा धेरै किताब छैनन् । पाठ्यक्रमअनुसार पढाउनुपर्छ, हाम्रा शिक्षक परम्परागत भए किताबबिना पढाउनै नसक्ने !
हाम्रो ‘गे्रड’ कस्तो भयो भने, प्रश्नका तह हुन्छन् । एउटा पाठमा २० वटा प्रश्नपत्र बन्छ भने त्यसमै मात्र आधारित भएर विद्यार्थीले तयारी गर्ने भए । उच्च तहको प्रश्नपत्र बनाउने जनशक्ति पनि भएन । अलि विश्लेषण गर्ने, वास्तविकता आउने खालको प्रश्नपत्र बनेन । गोपनीयता पनि भएन । यहाँ कक्षा ८ को प्रश्नपत्र आउट हुन्छ । प्रश्नपत्रको मोडलका कारण चिट चोर्ने प्रवृत्ति बढेको छ । कुन स्कुलको कति ग्रेड आयो, कुन विद्यालयको कति जीपीए आयो भन्ने बुझाइ नै गलत छ । प्राक्टिकलमा पूर्णाङ्ककै बराबर नम्बर आएको छ, थ्यौरीमा हेर्दा एकदम कमजोर छ । प्रश्नपत्र बनाउने शिक्षकले नै म प्रश्नपत्र बनाउने शिक्षक हुँ भन्दै कोचिङ कक्षा चलाउने गर्छ । कसरी विश्वास
गर्ने ? गोपनीयता कसरी कायम गर्ने ? विद्यार्थीको नम्बरमा कहिलेकाहीँ तलमाथि पनि हुनेगर्छ । त्यसमा पनि होसियारी गर्न सकिएको छैन । एकैचोटी नयाँ विकल्पमा जान पनि सक्दैनौँ, यो हाम्रो बाध्यता हो । नीतिमा पनि हामीले फड्को मार्न सकेका छैनौँ । हाम्रो क्षमता, शिक्षक उत्पादन गर्ने प्रणाली, विद्यार्थी र अभिभावकको मानसिकताभन्दा भिन्न प्रणाली लागू गर्न पनि सकिँदैन तर पाठ्यक्रममा आधारित प्रश्नपत्र बनाउने परिपाटीको विकास गर्नुपर्छ । पाठको आधारमा प्रश्नपत्र बनाउँदा प्रश्न धेरै दोहोरिने गर्छ र विद्यार्थीमा सिर्जनात्मकता पनि मर्दै गएको छ ।
तिवारी : यसमा शिक्षकको मात्र कमजोरी छैन । सरकारले धेरै तालिम प्रशिक्षण दिएको छ । कुनै शिक्षक छैनन् जसले तालिम नलिएको होस् तर शिक्षकले कक्षाकोठाभित्र ४५ मिनेटमा कति समय विद्यार्थीलाई दिनुभयो ? न्याय गर्नुभयो कि गर्नुभएन ? पाठ्यक्रमअनुसार पढाउनुभयो कि भएन ? शिक्षण प्रविधि प्रयोग गर्नुभयो कि भएन ? पुराना शिक्षकको पढाउने तरिका परम्परागत छ । नयाँअनुसार जाँदै नजाने खालका पनि हुनुहुन्छ । आफूलाई पुनर्ताजगी पनि गर्नुभएको छैन तर नयाँ शिक्षकमा राम्रो गुण छ । समयअनुसारको ‘अपडेट’ हुनुभएको छ । विस्तारै पुराना शिक्षक बिदा हुँदै जाने र नयाँ शिक्षक आउने हुँदा केही समयमा गुणस्तर कायम हुन्छ ।
शिक्षकले मात्र चाहेर पनि हुँदैन । विद्यार्थी कस्ताछन् ? त्यसमा पनि ध्यान दिनुपर्छ । विद्यार्थीको शिक्षा लिनमा ध्यान छ कि छैन ? उसले विद्यालयको विधि प्रक्रिया मानेको छ कि छैन ? ड्रेस, जुत्ता नलगाउने पनि विद्यार्थी छन् । भनेको नमान्ने, गृहकार्य नगरिदिने पनि छन् । थप कोचिङ कक्षा सञ्चालन गरेर पनि सुधार गर्ने प्रयास गरिएका छन् । अभिभावक पनि शिक्षाप्रति जानकार हुनुपर्छ । विद्यालयमा दिनहुँ फोन गर्ने अभिभावक पनि छन्, वर्षमा एकपटक फोन नगर्ने अभिभावक पनि छन् ।

एसईईको अहिलेको परिणाम हेर्दा सामुदायिक विद्यालयमा ‘डी’ र ‘ई’ रिजल्ट नै थुप्रिएको छ, यसको दोषी को हो ?
बराल : लगानीमा धेरै फरक त देखिँदैन । राज्यको लगानी र निजीको लगानीमा धेरै अन्तर छैन तर निजीमा छनोटको अवसर छ । सामुदायिक विद्यालयमा त्यो छैन । देशभरिबाट ‘क्रिम’ विद्यार्थी निजीले लिन्छन् । सामुदायिकले शहीद परिवार, आदिवासी जनजाति, दलित अन्य सबैलाई लिनुपर्ने हुन्छ । त्यो हिसाबले पनि निजीको रिजल्ट राम्रो आउने भयो । सामुदायिकको कमजोर आउनुको कारण त्यो पनि हो । नाम चलेका सबै निजी विद्यालयले देशका उत्कृष्ट विद्यार्थीलाई छनोट गरेर लिने गर्छन् । अहिले सामुदायिक विद्यालयमा पनि कहीँ कहीँ त्यो परिपाटी सुरु गरिएको छ । त्यसले रिजल्टमा पनि फरक देखिने गरेको छ । शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीको आफ्नै प्रयत्नले पनि राम्रो परिणाम आएको छ ।
सामुदायिक विद्यालयमा शिक्षकसेवा आयोगबाट छनोट भएर आएका नयाँ शिक्षक एकदम राम्रा छन् । पढाउनेमा खरो र दक्ष छन् । अब केही समयपछि सुधार देखिन्छ । सामुदायिकलाई राम्रो बनाउन सके निजी आफैँ ठेगानमा आउँछन् तर गुणस्तरमा अहिले निजी नै अगाडि भएकाले सामुदायिकको स्तर खस्केको देखिएको हो । विद्यालयमा अनुगमन गर्ने प्रणाली सामुदायिकमा कम छ । स्थानीय तहमा अब जनप्रतिनिधिहरू आउनुभएको छ । अबको १० वर्षमा सामुदायिक विद्यालयमा राम्रो सुधार हुन्छ भन्ने हाम्रो बुझाइ छ ।
डा. लुइटेल : पहिलो कुरा यो अवस्थामा हामी किन रह्यौंँ ? सामुदायिक विद्यालय किन त्यस्तो भयो मूल्याङ्कन गर्नुपर्छ । राणा र पञ्चायतकाल हेर्ने हो भने शिक्षामा घरानिया, आर्थिक अवस्था सबल भएका मात्र निजी स्कुलमा जाने र कमजोरहरू सामुदायिकमा जान्छन् भन्ने प्रवृत्ति थियो । अहिले पनि त्यो हेराइ छ । यो मनोविज्ञान नै दोषी हो । नेपाली समाजको ऐतिहासिक बनावटले पनि अब्बल र कमजोर छुट्याइदिएको छ । निजीमा कडा अनुशासन त छ, ‘गभर्नेन्स’ राम्रो छ । यसबाट सामुदायिक विद्यालयले सिक्नुपर्छ । कतिपय विद्यालयको कक्षाकोठामा सीसीटीभीसमेत राखिएको देखिन्छ तर यो गलत अभ्यास हो । कमसेकम शैक्षिक नैतिकता परिपालना नगर्ने हो भने शिक्षण सिकाइ सुध्रदैन । भर्खर एकीकृत ‘पाठ्यक्रम’ लागू भएको छ, त्योअनुसार शिक्षकहरू तयार देखिएका छैनन् ।
शिक्षकले पाउने ४५ मिनेटको कक्षामा बिताउँदा उसको तयारी कस्तो छ, उसले पढाउने योजना कति गरेको छ भन्नेमा पनि अर्थ रहन्छ । विद्यालयमा आएको छ, जस्तो लुगा लगाउँदा नि हुन्छ भन्ने हुँदैन । सामुदायिक विद्यालयमा त्यो समस्या छ । निजीले कम्तीमा यसमा सुधार गरेको छ । सामुदायिक विद्यालय एकदम कमजोर हुन्, निजी एकदम राम्रो हुन् भन्ने सोचाइ राख्नु हुँदैन । सामुदयिक विद्यालय पनि राम्रा छन् । राम्रो रिजल्ट दिने भइसकेका छन् । अझ समयानुकुल परिमार्जित गरेर जानुपर्छ ।

 

एसईई रिजल्टपछि विद्यालयले जसरी मिडियामा विज्ञापन गरिरहेका छन्, यो ठीक छ कि छैन ?
डा. लुइटेल : कक्षा १२ सम्म स्कुल नै हो, कलेज होइन । माध्यमिक शिक्षाअन्तर्गत नै अहिले मानिन्छ । निजीलाई पूरै बन्द गर्नु त हुँदैन, नियमन गर्नुपर्छ । निजी हात्तीजत्रो हुनु हुँदैन । यो समस्याको जड हाम्रो सङ्क्रमणकालीन अवस्था हो । शिक्षामा नीति ऐनमा स्थायित्व रहेन । मन्त्री आएअनुसार ऐन नियम परिवर्तन भए । निजीले सरकारको नियमनलाई मान्यता दिएन । अस्वस्थ विज्ञापन भइरहेका छन् । विद्यार्थीलाई यसले झुक्याउँछ । विज्ञापनका अनौठा नमुना पनि राखिएका छन् । यसमा सरकारले निगरानी गर्नुपर्छ ।
हाम्रो पुस्ता कसरी तयार भएको छ त ? विद्यालय जाने सङ्ख्या निश्चित उमेर समूहको हुन्छ । त्यसलाई आकर्षण गर्ने गरी सामुदायिक विद्यालयले पनि आफ्नो तयारी गर्नुपर्छ । राम्रो विद्यालय छ भने उसले बारम्बार विज्ञापन दिइराख्नु पर्दैन । उसले सूचना दिन सक्छ तर विज्ञापन होइन । विज्ञापन र सूचना फरक विषय हुन् ।
बराल : विद्यार्थीको मानसिकता अर्कै छ । कक्षा १० पढेको विद्यालयमा नपढ्ने मनोविज्ञान देखिन्छ । एसईई पास गरेपछि अर्को विद्यालयमा पढ्नैपर्ने मानसिकता छ । यो विद्यार्थीको छनोट पनि हो । अभिभावकले बाध्य पार्न पनि कठिन छ । सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा विद्यार्थीको प्रवाह बढी छ, कारण छात्रवृत्ति पाइन्छ भनेर हो । सामुदायिक विद्यालयलाई आकर्षक बनाउन सक्ने हो भने यो समस्याको अन्त्य हुन्छ । विज्ञानमा राम्रो गर्ने सामुदायिक विद्यालयमा विद्यार्थीको चाप छ ।
एसईई पास गर्ने विद्यार्थीले कलेज जाने भन्ने गर्छन् तर त्यो विद्यालय त हो । यद्यपि विद्यार्थीले कलेज भन्न रुचाउँछन् । कतिपय विद्यालयले क्याम्पस पनि सँगसँगै चलाएका छन् जुन गलत छ । त्यसले विद्यालय छायाँमा पर्छ, यो हटाउनुपर्छ । कक्षा १२ सम्म विद्यालय नै बनाउनुपर्छ । त्यसो गरे विद्यार्थीलाई फाइदा हुन्छ । सरकारले त सबै विद्यालयलाई बराबर सहयोग गरेको छ । गुणस्तर बढाउने काम विद्यालयको हो । पहिलाको तुलनामा शिक्षामा अहिले सरकारले लगानी पनि बढाएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले फरकफरक लगानी गरिरहेका छन् । अभिभावकको चासो विद्यार्थीप्रति बढ्ता छ । त्यसैले अबको दशकमा सुधार हुन्छ भन्ने हाम्रो विश्वास हो ।

 

सामुदायिक विद्यालयले अभिभावकबाट कस्तो सहयोग पाइरहेका छन् ?
तिवारी : समुदाय र अभिभावकको स्तर कस्तो छ, त्यसमा फरक पर्ने गर्छ । शिक्षण सामाजिक सेवा पनि हो । शिक्षकलाई धेरै आरोप पनि लाग्ने गर्छ । त्यसैले शिक्षकहरू स्वयं सुध्रनु पर्छ । आफूलाई समयानुसार अपग्रेड पनि गर्नुपर्छ । विद्यालय पहिले यस्तो थियो, अहिले सुधार भयो भने अभिभावकबाट धन्यवाद पनि ज्ञापन गरिनुपर्छ । बिग्रेको छ भने यो कारणले बिग्रेको हो भन्ने मूल्याङ्कन अभिभावकले गरिदिनुपर्छ ।

 

लेटर ग्रेडिङले सिकाइलाई कस्तो प्रभाव पारेको छ ?
तिवारी : हाम्रो सिकाइ नै त्यही छ । जीपीए ३.६ देखि ४.० सम्म ल्याउँदा यो ‘क्याटगोरी’को भयो भन्ने छ । यो पद्धति राम्रो हो । अहिले विद्यार्थी फेल भयो भन्ने छैन, कम प्रतिशत आयो भन्ने मात्र त हो । ग्रेडिङ प्रणालीले राम्रो गरेको छ । यसलाई सुधार गर्दै जानुपर्छ ।
बराल : लेटर ग्रेडिङ धेरै किसिमले गर्न सकिन्छ तर हामीले सामान्य रूपमा गरेका छौँ । प्रतिशतलाई ग्रेडिङमा परिणत गरेका हौँ । लेटर ग्रेडिङ वैज्ञानिक पार्दै जानुपर्छ । एउटा विद्यार्थीले सातवटा विषयमा ९८ का दरले नम्बर ल्यायो, यो जीपीए ए प्लस हो तर एउटा विषयमा ८९ मात्र ल्यायो भने यो ए हो, यसको जीपीए ३.९५ हो । अर्को विद्यार्थीले सबै विषयमा ९० मात्र ल्यायो भने उसले जीपीए ४.० पायो, फरक यही हो ।
डा. लुइटेल : अध्ययनकर्ताले मान्छेको वौद्धिकता ‘रेन्ज’ मा नापिन्छ भन्छन् । पहिला शिक्षकलाई जिम्मेवार बनाउनुपर्छ । शिक्षक मूल्याङ्कन गर्नैपर्छ । लेटर ग्रेडिङबाट फर्कनु हुँदैन, यसलाई समयानुसार उन्नत बनाउँदै जानुपर्छ । तलैदेखि शिक्षकले तयारी गर्दै जानुपर्छ । सुधार गर्न सकिन्छ ।

प्रस्तुति : लक्की चौधरी
तस्बिर : सागर बस्नेत

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds