• १५ चैत २०८०, बिहिबार

जीर्ण भवनमा दुई वडा कार्यालय र प्रहरी चौकी

blog

दुई वटा वडा कार्यालय र प्रहरी चौकी सञ्चालित जीर्ण भवन । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १२ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–३, मधुवनगोठमा अत्यन्त जीर्ण भवनबाट दुई वटा वडा कार्यालय र प्रहरी चौकी सञ्चालन भइरहेका छन् । विष्णु गाउँपालिकाको वडा नं. ३ र ४ को वडा कार्यालय तथा प्रहरी चौकी मधुवनगोठ एउटै जीर्ण भवनबाट सञ्चालन भइरहेको हो । 

यो भवन साबिक मधुवनगोठ गाउँ विकास समिति (गाविस) को हो । २०५५ सालतिर निर्माण भएको भवन जीर्ण भई नाजुक अवस्थामा पुगिसकेको स्थानीयले बताएका छन् । सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीको आक्रमणबाट प्रहरी चौकीको भवन ध्वस्त भएपछि मधुवनगोठ बजारको सुरक्षालाई ध्यानमा राखेर गाविस भवनमै प्रहरी चौकी राखिएको वडा नं. ३ का वडाध्यक्ष जयकुमार चौधरीले बताउनुभयो । 

वडाध्यक्ष चौधरीका अनुसार साबिक गाविस भवनको पाँच वटा कोठामध्ये तीन वटा कोठामा वडा नं. ३ र ४ को वडा कार्यालय राखिएको छ । बाँकी दुईवटा कोठामा प्रहरी बस्दै आएका छन् । चौकीका प्रहरी एउटा साँघुरो र अर्को हल कोठामा बसेर सुरक्षा प्रदान गरिरहेका छन् । 

असाध्यै साँघुरो र जीर्ण भवनबाट जनप्रतिनिधि र कर्मचारीलाई सेवा प्रवाह गर्न सेवाग्राहीलाई सेवा लिन असहज भइरहेको छ । बस्ने ठाउँको अभावमा प्रहरीले समेत सास्ती खेपिरहेका छन् । 

विष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले वडा नं. ४ मा बेग्लै नयाँ वडा कार्यालय भवन तयार हुनै लागिसकेको जानकारी दिनुभयो । निर्माणको बाँकी काम सकेर जतिसक्दो चाँडो वडा नं. ४ को वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले वडा कार्यालयसँगैको जीर्ण भवनमा रहेको प्रहरी चौकी मधुवनगोठको यो वर्ष नयाँ भवन निर्माण हुने जनाएको छ । प्रहरी उपरीक्षक (एपसी) नरेशराज सुवेदीले प्रहरी चौकी मधुवनगोठको भवन निर्माणका लागि यो वर्ष बजेट प्राप्त भइसकेको बताउनुभयो । 

प्रहरी चौकीको भवन निर्माण गर्न मधुवनगोठ बजारमा प्रहरीको आफ्नै जग्गा छ । एसपी सुवेदीका अनुसार यो वर्ष जिल्लामा प्रहरी चौकी मधुवनगोठ, इलाका प्रहरी कार्यालय हरकठवासहित अन्य जीर्ण अवस्थाका प्रहरी चौकीको भवन निर्माणका लागि बजेट प्राप्त भएको छ ।