बौद्ध सभ्यताको परिपथ

 शैलेन्द्रबहादुर थापा

बौद्ध सभ्यताका संस्थापक दार्शनिक शाक्यमुनि सिद्धार्थ गौतमको जन्म नेपालको लुम्बिनी (लुम्बिनी कुओ)मा इसापूर्व ६२३ को वैशाख शुक्लपूर्णिमाका दिन भएको थियो । यो समय, चीनमा ‘वसन्त र शरद ऋतुकाल (इ.पू. ७७० (४७६ इ.पु.)’ चलिरहेको थियो । चिनियाँ परम्पराअनुसार शाक्यमुनि बुद्ध जन्मेको दिन, चिनियाँ पात्रोअनुसार चारौँ महिनाको आठौंँ दिन ‘शथ्वानथौ पर्व’ पर्दछ । कतिपय पुस्तकमा शाक्यमुनि सिद्धार्थ गौतमको जन्म इ.पू. ५६३ मा भएको उल्लेख छ । इ.पू. ५६३ मा उनको उमेर ६० वर्ष हुन आउँछ । चिनियाँ सनातन धर्म–संस्कृति ‘ताओवाद्’÷‘ताओधर्म’ का संस्थापक दार्शनिक लाओत्से अर्थात् लाओचको जन्म चीनमा इ.पू. ६०१ मा भएकाले लाओत्सेभन्दा सिद्धार्थ गौतम २२ वर्षले जेठा हुन् । सिद्धार्थ गौतमले इ.पू. ५८८ को वैशाख पूर्णिमाको रातमा भारतको बुद्धगयामा बुद्धत्व प्राप्त गरे । ज्ञान प्राप्त गरिसकेपछि चीनमा बुद्धधर्मको प्रचारप्रसार सुरु भयो ।
भारतको कुशिनगरमा इ.पू. ५४३ को वैशाख शुक्लपूर्णिमामा बुद्ध महापरिनिर्वाण हुनुभयो । अन्तर्राष्ट्रिय प्रचलनमा जिसस् क्राइष्ट ० (शून्य) सालमा जन्मेको समयाब्दीभरि ‘+१’ वर्ष मानिन्छ । यहाँ ०(+१) स्थिर चर हो । इसापूर्व ६२३+०(+१)+सन् २०१९= २६४३ हुन आउँछ । तर बुद्ध साधारण व्यक्ति होइनन् । साधारण मानिसले जन्म दिनमा जन्मजयन्ती मनाएजस्तो नमनाई सिद्धार्थ गौतमको ‘बुद्धजयन्ती’ मनाउने गरिन्छ । कारण बुद्धले खेपेका पाँच प्रकारका मारहरूः ‘खन्धमार’, ‘अभिसंखारमार’, ‘क्लेशमार’, ‘देवमार’, ‘मृत्युमार’ हरूमध्ये वैशाख शुक्लपूर्णिमाका दिन ८० वर्षको उमेरमा महापरिनिर्वाण भई देहत्याग गरी पुनः मर्न नपर्ने निर्वाणपद प्राप्त भएकाले मृत्युमारलाई जित्न सफल भएको मितिदेखि ‘बुद्धजयन्ती’ मनाइने गरिएको बौद्ध दार्शनिकहरूको तर्क रहेको हुँदा यो वर्ष अर्थात् सन् २०१९ मा इ.पू. ५४३+० (+१)+२०१९ = २५६३औंँ ‘बुद्धजयन्ती’ मनाइयो । इ.पू. ५४३ मा ८० वर्ष जोड्दा ‘बुद्धजन्म वर्ष’ सोझै इ.पू. ६२३ हुन आउँछ । नेपाली परम्परा तथा पात्रो अनुसार औँसी र पूर्णिमाबीच १४ दिन १२ घण्टा (करिब १५ दिन) को समय फरक पर्ने भएकाले नेपाली तिथि अनुसार मनाउँदा ‘बुद्धजयन्ती’ कुनै वर्ष १५ दिन अगाडि वा कुनै वर्ष १५ दिन पछाडि पर्नसक्छ । यस वर्ष वि.सं. २०७६ जेठ ४ गते तदनुसार मे १८, २०१९ मा २५६३ औँ ‘बुद्धजयन्ती’ मनाइएको थियो । गतवर्षको ‘बुद्धजयन्ती’ २०७५ वैशाख १७ तद्अनुसार अप्रिल ३०, २०१८ मा परेको थियो । अन्तर्राष्ट्रिय प्रचलनमा जिसस् क्राइष्ट जन्मेको ० (शून्य) वर्षलाई आधार मानेर ‘इसापूर्व’ र ‘सन्’ को गणितीय हिसाब निर्धारण गरेजस्तो बुद्ध जन्मेको वर्ष वा महापरिनिर्वाण प्राप्त वर्षलाई ० (शून्य) आधार मानेर नेपालमा बुद्धपूर्व (बु.पू.) वा बुद्धसंवत् (बु.सं.) को पात्रो निर्माण गरी अवलम्बन गर्दा के होला ? आधुनिक नेपाली पुस्ताको मनमा यस्ताखाले अनुसन्धानात्मक प्रश्नको मन्थन हुनु स्वाभाविक हो । lumbini
चीनमा इ.पू. २०६ देखि सन् २५ सम्मको पश्चिमी हान राज्यकालको पहिलो शताब्दी (इ.पू.९३) तिर ऊथाईसान पर्वतमा विद्वान् महामञ्जुश्री जीवितै रहेको चिनियाँ स्रोतहरूमा उल्लेख छ । स्वयम्भू पुराण अनुसार यिनै महामञ्जुश्री चीनबाट नेपाल आएथे । काठमाडौँ उपत्यकामा भरिएको जलाशयलाई फूलचोकी र चम्पादेवी डाँडामा आफ्ना दुई सहयोगीलाई बसाएर चन्द्रहर्ष खड्गले उपत्यकाको दक्षिण भागमा रहेको चोभारको डाँडा काटी पानी बाहिर निकालेर पठाएपछि आदिबुद्धको ज्योर्तिमय स्वयम्भूको विराट् रूप दर्शन गर्न पाए । उनले तत्कालीन अवस्थामा स्वयम्भूको डाँडादेखि गुह्येश्वरीसम्म सहर बसाउन लगाएको पाइन्छ । यसै समयतिर गुल्मीका ऋष्यशृङ्ग्य चीन गएका थिए ।
चिनियाँ स्रोतका अनुसार चीनको हालको सिनजियाङ प्रान्तको तत्कालीन करशहर अर्थात् तरिम उपत्यकाको ताक्लाखर प्रदेशमा सन् ३४४ मा जन्मेर सन् ४१३ मा मृत्युवरण गरेका कुमारजिभासँग बुद्धभद्रको गहिरो सम्बन्ध भएका कारण यी दुई मिलेर चीनमा बौद्धधर्म–संस्कृतिको विकास गरेको पाइन्छ । कुमारजिभा काश्मिरी पण्डित बाबु कुमारयाना र कुचेअन आमाबाट जन्मेका बुद्धभद्रका समकालीन मित्र थिए । तत्कालीन चिनियाँ बादशाह ‘याओ सिङ’ को बुद्धधर्मप्रति अत्यन्त विश्वास र मोह भएकाले उनले कुमारजिभालाई निमन्त्रणा गरी चीनको तत्कालीन पश्चिमी दरबार छाङ्आनामा झिकाए । बौद्ध सङ्घका तीन हजार सदस्यका साथमा कुमारजिभालाई ससम्मान दरबारमै राखे । यसबाट चीनमा महायान बुद्धिजम् अर्थात् ग्रेट भेहिकल्सको विकास र विस्तार भयो ।
व्यापारको सिलसिलामा कपिलवस्तुबाट अफगानिस्तान गएका धर्मदेव शाक्यका नाति, धर्मसूर्य शाक्यका छोरा सन् ३५९ मा वर्तमान पूर्वी अफगानिस्तानको तत्कालीन नाग्राहार अर्थात्
उड्ड्यानामा जन्मेका बुद्धभद्र शाक्य (चीनमा यिनलाई च्वे सियान वा सियाओ शङ भनिन्छ) सन् ३६४ मा उनका हजुरबुबासंँग अफगानिस्तानबाट नेपालको कपिलवस्तु आएथे । त्यसपछि सन् ३७६ देखि सन् ४०६ को शुरु महिनासम्म कश्मिरमा अध्ययन गरे । सन् ४०६ मा आफ्नो अध्ययन पूरा गरिसकेपछि सोही वर्ष बुद्धभद्र चीन प्रस्थान गरे । यिनी चीनमा २१ वर्षसम्म बौद्ध धर्म–संस्कृति तथा बुद्धवादको अध्ययन, अनुसन्धान, लेखन र प्रचार–प्रसारमा जुटी पुनः नेपाल फर्केका थिए भन्ने अभिलेख पाइन्छ । यिनको मृत्यु ७० वर्षको उमेरमा नेपालमै सन् ४२९ मा भएथ्यो ।
वि.सं. ६७४ तदनुसार सन् ६१७ मा जन्मेका तिब्बतका राजा स्रङ्चङ् गम्पो १३ वर्षको उमेरमा राजगद्दीमा चढे । पछि उनले ‘छिङ्घाइ–तिब्बत प्लेटु’ का भागहरूलाई आफ्नो नियन्त्रणमा लिइसकेपछि छिमेकी देशसंँग आर्थिक र सांस्कृतिक सहयोग आदानप्रदानका लागि महŒवपूर्ण कदम चाले । स्रङ्चङ् गम्पोले आफ्ना मन्त्री गारतोङ्सेन युलसुङलाई आफूले नेपाली राजकुमारी भृकुटीसँग विवाह गर्न चाहेकाले विवाहको प्रस्ताव लिएर नेपालको तत्कालीन राजधानी सहर ‘यूपग्राम’ अर्थात् हालको ललितपुर जिल्लाको पाटन सहरमा पठाए । वि.सं. ६६२ तदनुसार सन् ६०५ मा नेपालमा जन्मेकी चेली भृकुटी अन्ततः राजा स्रङ्चङ् गम्पोको चाहनाअनुरूप मञ्जुर भएपछि सन् ६३३ मा विवाह सम्पन्न भएको प्रसिद्ध तिब्बती लेखक गेदु चोफेलले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । भृकुटीले नेपालबाट दाइजोस्वरूप अक्षोम्य, मैत्रेय र बौद्धताराका मूर्तिहरू लगेर तिब्बतमा स्थापना गरिन् । तिब्बती राजा स्रङ्चङ् गम्पोले चिनियाँ बादशाह ताइजोङकी शाहज्यादी कोङ्चोसँग विवाह गर्न माग्दा ताइजोङले उनको प्रस्ताव इन्कार गरेका कारण चीन र तिब्बतबीच करिब ८ वर्षसम्म युद्ध चल्यो तर चीनसंँग तिब्बतको मैत्री सन्धि भइसकेपछि सन् ६४१ मा चिनियाँ राजकुमारी कोङ्चो तिब्बत आइपुगिन् । तिब्बतमा स्रङ्चङ् गम्पोसँग कोङ्चोको भेट हुन ६ वर्ष लाग्यो । आफ्नी जेठी महारानी भृकुटीदेवी (हरिततारा)को अनुरोधपछि स्रङ्चङ् गम्पोको दोस्रो विवाह कोङ्चो अर्थात् वेनच्छेन (श्वेततारा) संँगै सन् ६४७ मा
सम्पन्न भयो । कोङ्चोसँग विवाह गरेको तीन वर्षपछि राजा स्रङ्चङ् गम्पोको ३३ वर्षको उमेरमा सन् ६५० मा मृत्यु भएथ्यो ।
चीनमा सन् ६१८ देखि सन् ९०७ सम्म चलेको ताङ (थाङ) राज्यकालमा नेपालमा राजा उदयदेवलाई विष्णुगुप्तले सत्ताच्युत गरेपछि तिब्बतमा राजनीतिक शरण लिएर बसेका उनका छोरा नरेन्द्रदेवले तिब्बती राजा स्रङ्चङ् गम्पोकै सैन्य सहयोगमा सन् ६४३ मा गद्दी फिर्ता लिए । आठौंँ शताब्दीमा नेपालले बौद्धधर्मको व्याख्याका लागि नेपालको बाटो भएर भारतीय पण्डित शान्तिरक्षित र पद्मसम्भव (गुरु रिन्पोचे)लाई भोट पठाउन सहयोग ग¥यो । सन् ६२९ मा ह्वेन साङ, जसलाई युआन–चान वा सुआन–चाङ वा सुयेन–चाङ पनि भनिन्छ, उनी नेपाल, भारत र वर्तमान अफगानिस्तानको तत्कालीन व्यापारिक सहर उड्ड्यानाको भ्रमणमा निस्के । सन् ६२९, ६३१ र ६३६ देखि सन् ६४९ सम्म पटकपटक नेपाल आएका यिनै ह्वेन साङले आफ्नो भ्रमणवृत्तान्त लेख्ने क्रममा नेपाललाई ‘नि.पो.ले’ भनी सम्बोधन गरेको पाइन्छ । चीनको ताङवृत्तान्त अनुसार चिनियाँ राजदूत वाङ हुएनचे अर्थात् वाङ युआनचेले क्रमशः सन् ६४३, ६४६ र ६५७ मा नेपालको बाटो भएर चीन र भारत ओहोरदोहोर गरेथे । त्यसैगरी क्रमशः सुआन हुइले सन् ६४९ मा, युआन चाइले सन् ६५० देखि सन् ६५५ बीचको समयमा, ताओ पाउले सन् ६५० देखि सन् ६५२ बीचको समयमा, इ–त्सिङले सन् ६७१ देखि सन् ६९५ बीचको समयमा, तोअ फाङले सन् ६९८ मा, हुइरनले सन् ७०२ देखि ७१९ बीचको समयमा र ऊ कोङ्ले सन् ७६४ मा बौद्धवाद केन्द्रित धार्मिक–सांस्कृतिक दूतहरूका रूपमा नेपालको बाटो भएर चीन र भारत ओहोरदोहोर गरेका थिए ।

अरनिकोको चीन प्रस्थान
कुब्ला खाँका काका सम्राट मानगु खाँले सन् १२५३ मा विभिन्न धर्मका विद्वान्लाई बोलाएर कुन धर्म सबैभन्दा उत्कृष्ट छ भनेर धार्मिक सभा गरेथे । सो सभामा विद्वान् बौद्धभिक्षु फाग पाले ‘संसारमा सबैभन्दा उत्तम धर्म बौद्धधर्म हो’ भनेर तर्क र तथ्यसहित विश्वास दिलाए । सम्राट् कुब्ला खाँले बौद्धधर्मलाई नै आफ्नो राजधर्मको रूपमा अँगाले र फाग पालाई आफ्नो धार्मिकगुरु माने । पछि फाग पालाई सम्पूर्ण तिब्बतको प्रशासनिक अधिकारसहित उपप्रशासकको रूपमा नियुक्त गरे । चीनका सम्राट हुपिलेका धर्मगुरु फाग पा अर्थात् पास पाको योजनाअनुसार तिब्बतमा महाविहार बनाउनका लागि नेपालमा वि.सं. १३०१ तदनुसार सन् १२४४ मा जन्मेका अरनिकोसहित नेपालबाट सन् १२६० मा ८० जना सिकर्मी÷डकर्मीलाई चीन पठाइयो । चिनियाँहरूले अरनिकोलाई ‘आनिक’ भन्दछन्, जसको अर्थ ‘आदरणीय नेपाली दाजु’ हुन्छ । अरनिकोलगायतका कालिगढले सन् १२७१ देखि सन् १२७९ सम्म ८ वर्ष लगाएर निर्माण गरेको श्वेतचैत्य अर्थात् हालको ‘म्याउयिङ्श महाविहार’लाई सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापनापछि चीनको ऐतिहासिक सम्पदा ‘हिस्टोरिकल ट्रेजर’ घोषणा गरियो । यो पर्यटकहरूको प्रमुख गन्तव्य र आकर्षणको केन्द्रबिन्दु बनेको छ । सन् १३०१ मा अरनिकोले चीनको महामञ्जुश्री जन्मस्थल ऊथाईसानमा बुद्धसँग सम्बन्धित अर्को श्वेतचैत्य पनि निर्माण गरे । ‘तातू’ अर्थात् युआन वंशकालको पेकिङमा सन् १२७६ मा अरनिकोको पहिलो विवाह सम्पन्न भएथ्यो । यिनका चिनियाँ दुलहीहरू दश वटी थिए । नेपाली दुलही ‘चैत्यलक्ष्मी’ पनि चीनमै झिकाइएकी थिइन् । अरनिकोका सबैतिरबाट गरेर जम्मा ६ छोरा, ७ छोरी भए । नेपाली श्रीमती चैत्यलक्ष्मीपट्टिबाट १ छोरा र १ छोरी भए । यी दुवै छोराछोरीको विवाह चिनियाँसँगै भयो । अरनिकोका यिनै सन्ततिलाई नेपालमा घुमाउन सकियो भने पनि उपलब्धि नै मान्नुपर्छ । अरनिकोको ६२ वर्षको उमेरमा चीनमै सन् १३०६ मा मृत्यु भयो । अरनिकोलाई चीनमा राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरी उनको अस्तु समाधिस्थ गरिएको पैचिङनजिक रहेको समाधिस्थलमा ढुङ्गाको कछुवामाथि कीर्तिस्तम्भ खडा गराई, त्यसमा यिनको जीवनी कुँद्न लगाइएको छ । चीनमा अरनिकोलाई प्रदान गरिएको मानपदवी ‘कोङ् खाई फु या शान श थाइ श’ रहेको वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको महाकाव्य ‘अरनिकोकृत श्वेतचैत्य’ मा उल्लेख छ । बौद्धधर्म–संस्कृतिको अध्ययन तथा प्रचार–प्रसारका लागि नेपालबाट सन् १३६९ मा साझाश्री र सन् १४१४ मा सरिपुत्र चीन गएका थिए । यसरी वर्तमान बौद्धवृत्तको गर्भ निर्माण भएको थियो ।

बौद्ध सभ्यताको चक्रपथ
बौद्ध सभ्यताले प्राचीन इतिहासको जगदेखि नै नेपाल, भारत, अफगानिस्तान, कश्मिर, चीन, भुटान, मङ्गोलिया, कोरिया, जापान, कम्बोडिया, बर्मा
(म्यानमार), थाइल्याण्ड, भियतनाम, जाभा, सुमात्रा, श्रीलङ्का लगायतका देश हुँदै एउटा विशाल बौद्धवृत्त (बौद्धसभ्यताको चक्रपथ) निर्माण गरेको छ । यसमा विशेषगरी ‘नेपाल–भारत–चीन’को त्रिदेशीय योगदान अविस्मरणीय छ । विश्वका सबै धर्म, संस्कृति, सम्प्रदाय र सभ्यतालाई सम्मान गर्दै समान व्यवहार गर्ने एसियाली सभ्यताभित्र यसरी हुर्केको नेपाली सभ्यता निर्माणको एउटा अङ्गलाई वर्तमान अवस्थासम्म ल्याई पु¥याउन एसियाका तारा शाक्यमुनि गौतम बुद्धका दूत, बौद्धभिक्षु, शिष्य र अनुयायी लगायतका योगदानकर्ताले आ–आफ्नो जीवनमा पूर्णकालीन समय दिएको पाइन्छ । हाम्रो हातमा पुर्खाले ‘नासो’ सुम्पेर गएका छन् । यसलाई हामीले भावी पुस्ताका लागि निरन्तरता दिनुपर्नेछ ।

(लेखक त्रिविविबाट ‘नेपाल–चीन सम्बन्ध’ मा विद्यावारिधि शोध गरिरहनुभएको छ ।)

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds