• १६ चैत २०८०, शुक्रबार

अत्याधुनिक गाई फार्ममा रमाउँदै गिरिराज

blog

हरिप्रसाद कोइराला 

कटहरी (मोरङ), साउन १२ गते । नेपाल वायु सेवा निगम र बुद्ध एयरको प्रशासन क्षेत्रमा ३० वर्ष काम गरेर अवकाश लिएका ५६ वर्षीय गिरिराज बस्नेत यति बेला मोरङको कटहरी–७, थलाहाको तकियामा अत्याधुनिक गाई फार्म सञ्चालन गरिरहनुभएको छ । 

जागिरबाट अवकाश लिएपछि उहाँले होटल सुरु गर्नुभयो । विराटनगरमा सुरु भएको होटल एसिया टिक राम्रो चलेको थियो । जब कोराना सुरु भयो, होटल व्यवसाय थिलथिलो भयो । त्यसपछि बस्नेतले उत्पादनसँग जोडिएको व्यवसायको सपना बुन्न थाल्नुभयो । पूरै दुई वर्ष अध्ययन गरेपछि उहाँले ग्रिन यार्ड एग्रो फार्म दर्ता गर्नुभयो र अत्याधुनिक प्रविधिबाट गाई, भैँसी, माछा र बाख्रापालन सुरु गर्नुभयो । 

सुरुमा विराटनगरबाट नजिकै रहेको थलाहा गाउँमा उहाँले नौ बिघा क्षेत्रमा सञ्चालित माछा फार्म खरिद गर्नुभयो । पछि गाई र बाख्रापालनको योजना तयार भएपछि थप छ बिघा जग्गा खरिद गर्नुभयो । अहिले १५ बिघा जमिनमध्ये चार बिघामा निर्माण भएको आधुनिक गोठमा बस्नेतले ९४ वटा दुहुनासहित १०५ वटा होलस्टेन जातका गाई, सात वटा दुहुनासहित १९ वटा मुर्रा जातका भैँसी पालिरहनुभएको छ । दैनिक २० लिटरभन्दा बढी दुध दिने गाईहरू उहाँले पन्जाबबाट ल्याउनुभयो भने भैँसीहरू गुजरातबाट ल्याउनुभएको हो । 

बस्नेतले भन्नुभयो, “अहिले दैनिक एक हजार पाँच सय लिटर दुध उत्पादन भइरहेको छ । हाम्रो लक्ष्य दैनिक तीन हजार लिटर दुध उत्पादन गर्ने हो । अबको केही वर्ष बाच्छी हुर्काउने र तिनलाई माउ बनाउने तयारीमा छौँ । बाच्छी नै जन्माउन सक्ने प्रविधि आइसकेकाले सय वटा बाच्छीलाई माउ बनाउन सक्यौँ भने दुई वर्षभित्र दैनिक तीन हजार लिटर दुध उत्पादन गर्न सकिने उहाँले सुनाउनुभयो । बाच्छी उत्पादनका लागि उहाँले सिमेन ब्रिडिङको काम थाल्नुभएको छ । ब्रिडिङका लागि सिमेन कन्टेनर फार्ममै राखिएको छ । सेक्सेड सिमेन ल्याएर गर्भधारण गराउन थालिएको छ । जसबाट ९० प्रतिशतसम्म बाच्छी नै जन्मिने गर्छन् ।

गाईलाई जाडोमा तातो र गर्मीमा चिसोको प्रबन्ध छ । दैनिक सेनिटाइजर, मेसिनबाट घाँस हाल्ने प्रविधि (टिएमआर) मात्र होइन, घाँस साइलेज गरेर राख्ने पाँच वटा बङ्कर (घाँस भण्डारण गर्ने ठाउँ) समेत तयार भइसकेको छ । गत वर्ष ८५ बिघा जग्गामा मकै खेती गरेर सोही मकैको साइलेज तयार गरिएको थियो । बस्नेतले भारतको महाराष्ट्रबाट पशु चिकित्सक ल्याएर राख्नुभएको छ । वार्षिक एक लाख रुपियाँ चिकित्सकलाई दिएको उहाँले बताउनुभयो ।

हाल दैनिक एक लाख २५ हजार रुपियाँको दुध बिक्री गरिरहेका बस्नेतलाई दुई छोरा र श्रीमतीले समेत भरपूर साथ दिनुभएको छ । गैरसरकारी संस्थामा काम गर्ने आमा प्रतीक्षालाई पनि छोराहरूले यतै काम गरून् भन्ने लाग्थ्यो । छोराका साथीहरू धमाधम विदेश गएर उतै बस्न थालेपछि पिरोलिएका बस्नेत दम्पतीलाई छोराहरूले यतै केही उद्यम व्यवसाय गरून् भन्ने थियो । सिए र एमबिए गरेका छोराहरू प्रगिस र विज्ञानले पनि बाबुले सुरु गरेको व्यवसायलाई साथ दिएपछि बस्नेत दम्पती अहिले खुसी छन् । भारत छँदा छोरा प्रगिसले पुनेमा डेभियल कम्पनीको गाईपालनसम्बन्धी अध्ययन अवलोकन गर्ने मौका पाउनुभएको थियो । त्यही प्रविधिलाई प्रगिसले नेपाल भित्र्याउनुभयो । सोही अनुसार अन्तर्राष्ट्रिय कम्पनी डेभियलको प्रविधि अनुसार चार वटा अत्याधुनिक गोठ निर्माण भएका हुन् । गाईका लागि आवश्यक पर्ने दाना दिने टिएमआर प्रविधि, मिल्क पार्लर, स्लरी र स्क्रेचरलगायतका प्रविधि पनि नेपाल भित्र्याउनुभयो । 

गाई र भैँसी मात्र होइन, उहाँले बोयर, स्थानीय र जमुनापारी जातका तीन सय बाख्रा पनि पाल्नुभएको छ । दुई वटा विशाल आधुनिक खोर निर्माण गरेर बाख्रापालन सुरु गर्नुभएका बस्नेतले भन्नुभयो, “हालसम्म आम्दानी सुरु भएको छैन तर ३० अर्ब रुपियाँको मासु आयात भएको तथ्याङ्क हेरेपछि बाख्रापालन अझ विस्तार गर्न मन लागेको छ । गाई, भैँसी र बाख्राका लागि सात बिघामा घाँस खेती लगाउनुभएका बस्नेत भन्नुहुन्छ, “प्रविधिको उच्चतम उपयोग गर्दा पनि १७ जनाले रोजगार पाइरहनुभएको छ । गोबर, जुत्तोलाई जैविक मल बनाउने र त्यसलाई बजारीकरण गर्ने हो भने रासायनिक मल विस्थापित गर्न सकिने उहाँको ठम्याइ छ । 

माछाबाट वार्षिक २२ लाख आम्दानी 

बस्नेतले गत वर्ष माछाबाट २२ लाख रुपियाँ आम्दानी लिनुभयो । चार बिघामा अलग अलग तीन वटा पोखरीमा पानीको भाग मात्र साढे तीन बिघा छ । माछाको माग उच्च रहेकाले माछापालन पनि विस्तार गर्ने तयारी गरिरहनुभएका बस्नेतले हालसम्म फार्ममा २५ करोड रुपियाँ लगानी गरिसक्नुभएको छ । फार्म पूर्ण रूपमा सञ्चालन हुँदा ६० प्रतिशत खर्च र ४० प्रतिशत आम्दानी हुने उहाँले बताउनुभयो ।