• ७ वैशाख २०८१, शुक्रबार

निर्माणाधीन सामुदायिक भवनले पाएन बजेट

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, साउन १२ गते । गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूमा चालु आवमा बजेट विनियोजन नगरेपछि आधा दर्जन सामुदायिक भवन निर्माणको काम अलपत्र परेको छ। 

प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत आव २०७९/८० मा काभ्रे जिल्लामा सञ्चालन भएका र पूरा नभएका योजनामा चालु आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन नहुँदा ती योजना अधुरै रहने भएका हुन्। 

सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले गत आवमा निर्माण सुरु भएका र काम पूरा नभएका सामुदायिक भवन निर्माणका लागि चालु आवमा पनि बजेट माग गरेको भए पनि रकम विनियोजन नभएको जानकारी दिनुभयो। 

भौतिक पूर्वाधार मन्त्रालयले चालु आवका लागि बजेट विनियोजन नगर्दा बेथानचोक गाउँपालिका–३ को कुनेखर्क सामुदायिक भवन, महाभारत गाउँपालिका–३, फोक्सिङटारको सानोपोखरा महिला भवन निर्माणको काम अगाडि नबढ्ने भएको हो। 

यस्तै चौँरीदेउराली गाउँपालिका–८, पोटागैरा माझीबस्तीको सामुदायिक भवन, चौँरीदेउराली–५ को सहिद स्मृति भवन, मण्डनदेउपुर नगरपालिका–६ को कोदारी सामुदायिक भवन, पाँचखाल नगरपालिका–३ को महिला सामुदायिक भवनको काम पूरा गर्न चालु आवका लागि कुनै बजेट व्यवस्थापन नभएको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ। 

गत आवमा काम सुरु भएका यी सामुदायिक भवन कुनैमा गारो लगाउने, फिनिसिङ गर्ने, कुनैमा ढलान गर्ने तथा फिनिसिङको काम बाँकी रहेको कार्यालयले जनाएको छ। उपभोक्ता समितिमार्फत काम भएको कुनेखर्क सामुदायिक भवनको निर्माण अन्तर्गत पिल्लर ठड्याएर भवनको तला ढलान गरे पनि गारो लगाउने तथा फिनिसिङ गर्नुपर्ने काम अधुरो छ। 

महाभारतमा निर्माणाधीन महिला भवनको डिपिसी तथा पिल्लर उठाउने काम सम्पन्न भए पनि गारो लगाउने, ढलान गर्ने तथा फिनिसिङको काम बाँकी छ। नमोबुद्ध नगरपालिकाको दाप्चामा निर्माण भइरहेको पौडेल पाटी निर्माणका लागि गत आव र चालु आवमा बजेट विनियोजन नहुँदा अलपत्र परेको छ।