• १५ चैत २०८०, बिहिबार

कर्मचारीको व्यवहारप्रति सेवाग्राहीको प्रश्न

blog

कार्यक्रममा जवाफदेही पक्षतर्फ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १० गते। कार्यालयमा सेवा लिन आउँदा कर्मचारी झर्किने, बेवास्ता गर्ने र सहज रुपमा काम नगरी दिने गरेकोभन्दै सेवाग्राहीले प्रश्न गरेका छन्। कागजात अपुग भएको वा प्रक्रिया नपुगेको बहानामा कर्मचारीले गर्ने गालीगलौज र झर्कोफर्को आफूहरुले सहनुपर्ने बाध्यता रहेकोभन्दै सेवाग्राहीले सवाल उठाएका हुन्।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक सेवा प्रवाहसम्बन्धी गुनासो तथा सेवाग्राहीको राय–सुझाव लिने उद्देश्यसहित मङ्गलबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले आफ्नो गुनासो र आक्रोस व्यक्त गरेका हुन्। कर्मचारीको व्यवहारप्रति अधिकांस सेवाग्राही असन्तुष्ट रहेको पाइएको छ। 

सेवा प्रवाहमा झन्झट मान्ने र सेवाग्राहीप्रति कर्मचारीको गालीगलौज वा कडा प्रस्तुतिले आफूहरु मारमा पर्दै आएको उनीहरुको भनाइ छ। केही कर्मचारीको नम्र स्वाभाव र सहयोगीपनले सेवा प्राप्त गर्न सहज भए पनि कतिपय कर्मचारीको झर्कोपनाले नैरस्यतासँगै मन भय सिर्जना गराउने गरेको सेवाग्राहीको गुनासो छ। पहुँचवाला सेवाग्राहीको भित्रभित्रै काम हुने र सेवा लिनका लागि बाहिर लाइनमा बस्ने साधारण सेवाग्राही सधैं मारमा पर्ने गरेको पनि सेवाग्राहीले बताएका छन्।

सेवाग्राहीले सेवा वितरणमा हुने सुस्तता र बेवास्ता गर्ने प्रवृतिको अन्त्य गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेका छन्। साधारण सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गरेको महशुस हुनेगरी ‘मुस्कानसहितको सेवा’ लाई व्यवहारिक कार्यान्वयन गर्न पनि सेवाग्राहीले माग राखेका छन्। यता १० बजे कार्यालय खुलेर कार्यालय समय अन्त्य हुँदासम्म सम्बन्धित फाँटका कर्मचारी नियमित बस्नुपर्ने र सरल, सहज र छरितो सेवा सम्पादन गर्नसमेत सेवाग्राहीले सुझाव दिएका छन्। 

त्यस्तै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिँदै सेवाग्राहीले वृद्धवृद्धा र अपाङ्ग नागरिकको सेवाका लागि बिशेष सेवा कक्ष व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेका छन्। लामो समयसम्म लाइनमा बस्नुपर्ने र वृद्धवृद्धा तथा अपाङ्गता भएका नागरिकले अरु सरह नै सेवा लिनुपर्ने अवस्थाको अन्त्य गर्न उनीहरुको सुझाव रहेको छ। केही सेवाग्राहीले भने जिल्ला प्रशासनले हाल प्रवाह गर्दै आएको सेवाको अवस्थाप्रति सन्तुष्टि जनाउँदै निरन्तरता दिनसमेत आग्रह गरेका छन्।

त्यस्तै सरकारी सवारी साधन (गाडी) को दुरुपयोगदेखि सवारी अनुमति नभएका सरकारी गाडीको नियन्त्रण र नियमनका बारेमा सेवाग्राहीले सवाल उठाएका छन्। सार्वजनिक विदाका दिनमासमेत सरकारी सवारी साधनको अधिक दुरुपयोग हुने गरेको, सरकारी गाडीको डालीमा व्यापारिक प्रयोजनका किराना सामान बोक्नेदेखि मोटरसाइकलहरुमा तीन जनासम्म चढेर दुरुपयोग भइरहेको सेवाग्राहीले बताएका छन्। 

उता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीले औंल्याएका समस्या, पोखेका गुनासो र दिएका उपयुक्त सुझावलाई क्रमशः कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभयो। उहाँले सेवा वितरणलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई मार्गर्दशनको रुपमा रहने पनि बताउनुभयो। प्रजिअ चेम्जोङसहित सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई, नायव सुब्बाद्वय रमेशप्रसाद सिग्देल र कुलमणि दाहाल प्रशासन कार्यालयकोतर्फबाट जवाफदेहिका रुपमा रहनुभएको थियो।

कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलगायत प्रतिनिधिमुलक सेवाग्राहीको सहभागिता रहेको थियो।