• १२ वैशाख २०८१, बुधबार

‘जुछे विचार सान्दर्भिक’

blog

काठमाडौँ, साउन ९ गते । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जुछे विचार विश्वभर उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ। उत्तर कोरियाली नेता किम इल सुङको नेतृत्वमा क्रान्ति भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले जुछे विचार जनतालाई एकताबद्ध गर्ने उत्कृष्ट विचार भएको उल्लेख गर्नुभयो। 

जुछे विचार तत्कालीन उत्तर कोरियाली नेता किम इल सुङले प्रतिपादन गरेको विचार हो। “तर जुछे विचार कोरियाली विचार मात्रै होइन, जनतालाई केन्द्रमा राख्ने, जनतालाई एकताबद्ध गरेर क्रान्ति गर्ने र उत्पीडित जनतालाई उत्थान गर्ने विचार हो,” गुरुङले भन्नुभयो, “नेपालजस्ता उत्पीडित समुदाय भएको मुलुकमा जुछे विचार अभ्यासमा ल्याई क्रान्ति गर्न सकिन्छ। सम्पूर्ण उत्पीडित समुदायलाई एकताबद्ध गर्नु अहिले सान्दर्भिक छ।”

कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने भन्नेमा चुनौती भइरहेको अवस्थामा जुछे विचारबाट धेरै सिक्न सकिने गुरुङले उल्लेख गर्नुभयो। नेपालका लागि प्रजातान्त्रिक गणतन्त्र उत्तर कोरियाका राजदूत जो योङ मानले पार्टी, नेता र जनताबिच बलियो सम्बन्ध बनाए धेरै काम गर्न सकिने उल्लेख गर्नुभयो। कोरियाली क्रान्ति ७० वर्ष पुग्नु विश्वका उत्पीडित समुदायका लागि खुसीको दिन भएको राजदूत जो योङले बताउनुभयो। 

यस्तै माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासङ्घक्रान्तिकारीका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नेपालमा क्रान्तिकारी आन्दोलन निष्कर्षमा पु¥याउन नसक्दा समस्या बेहोर्नुपरेको बताउनुभयो।

नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटाले अमेरिका कागजी बाघ भएकाले समाजवादी शक्ति डराउनुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो। 

अमेरिकी परियोजनाका रूपमा रहेको एमसिसी नेपालका लागि घातक भएको बास्कोटाले उल्लेख गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत छ कम्युनिस्ट पार्टीका किसान सङ्गठनका नेता उपस्थित थिए।