• ७ वैशाख २०८१, शुक्रबार

सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेट

blog

सभामुख देवराज घिमिरेसँग भेट गर्नुहुँदै नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युन । तस्बिर : रासस

काठमाडौं, साउन ८ गते । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

आज उहाँहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिनुहुँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकामा आभार व्यक्त गर्नुभएको थियो । “सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको भ्रमणपछि उपल्लोस्तरको भ्रमण हुँदै आएको छ”, उहाँले भन्नुभयो, “द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहनसन्धी र रसुवागढी–केरुङ रेलमार्गको विकासका लागि जोड दिनुभएको थियो ।

हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिककालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुखको भनाइ थियो । उहाँले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै यसले नेपालको पर्यटन उद्योगमा टेवा पु¥याएको उल्लेख गर्नुभयो ।

सो अवसरमा पोलिटब्युरो सदस्य युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताउनुभयो । उहाँले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो समेत दिनुभयो । रासस