• १५ चैत २०८०, बिहिबार

घोराही-तुलसीपुर सडक मर्मतको काम सुरु

blog

घोराही-तुलसीपुर चार लेन सडक मर्मत हुँदै । तस्विर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन ८ गते । दाङको घोराही–तुलसीपुर चारलेन सडकको मर्मत कार्य सुरु भएको छ । वर्षाकाे समयमा सडकमा खाल्डखुल्डीका कारण सवारीसाधन सञ्चालनमा समस्या हुन थालेपछि आईतबारदेखि चारलेन सडक मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार पहिलो चरणमा घोराहीको बबई नदिदेखि हापुरखोलासम्मको करिव १५ किलोमिटर सडक मर्मत हुने भएको छ । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “चारलेन सडकखण्डअन्तर्गत पहिलो चरणमा घोराहीको बबई नदिदेखि हापुरखोलासम्मको १५ किलोमिटर सडक मर्मत हुनेछ ।” पहिलो खण्डसँगै दोश्रो चरणमा बुधबारदेखि हापुरखोलादेखि तुलसीपुरको हात्तिखौवासम्मको १४ किलोमिटर सडक मर्मत हुने बताउनुभयो । 

घोराही क्षेत्रको १५ किलोमिटर सडक मर्मतका लागि रोल्पा निर्माण सेवाले करिव एक करोड ४२ लाख ५५ हजार रुपियाँमा ठेक्का पाएको छ भने तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मतका लागि करिव १ करोड १६ लाख ९६ हजार लागतमा रोल्पा स्वच्छन्द निर्माण सेवाले जिम्मा पाएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । 

घोराही-तुलसीपुर चारलेन सडक निर्माणाधिन अवस्थामा अलपत्र परेपछि भारतीय निर्माण तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीसँग सम्झौता रद्द गर्दै सडक मर्मतका लागि सरकारले तीन करोड बजेट व्यवस्थापन गरिएको थियो । भारतको एक्जिम बैंकको ऋण लगानीमा २०७६ सालदेखि घोराही-तुलसीपुर चार लेन सडक निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण सडक निर्माण हुन नसक्दा अलपत्र परेको छ । सडक अलपत्र पर्दा सवारीसाधन सञ्चालनमा समस्यासँगै दुर्घटनाको जोखिम बढेपछि सरकारले मर्मतका लागि बजेट विनियोजन गरेको थियो । 

सोही बजेट अनुसार सडक मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख अधिकारीले बताउनुभयो । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “घोराही–तुलसीपुर चारलेन निर्माण गर्दा विग्रिएको ठाउँमा हामीले मर्मत गर्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेका छाैं । सोही अनुसार निर्माण व्यवसायीले मर्मतको काम सुरु गरेको छ ।” उहाँका अनुसार चारलेन सडकअन्तर्गत दुई लेन सडक मर्मत हुनेछ ।

आउने असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।