• १५ चैत २०८०, बिहिबार

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै

blog

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने

अविनाश चौधरी

धनगढी, साउन ८ गते । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।

उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ । आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो । 

उहाँका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी कृषि मन्त्री बन्दै हुनुहुन्छ । यसैगरी, कैलाश चौधरी कृषि राज्यमन्त्री बन्ने तय भएको छ । यसअघि, मन्त्री बन्ने दौडमा रहनुभएका सो पार्टीका लक्ष्मण किशोर चौधरी भने तत्कालको लागि पछाडि हट्नुभएको छ । 

“हामीले दुई वटा मन्त्रालय माग गरिरहेका छौँ”, दलका नेता चौधरीले भन्नुभयो,“छलफल अझै जारी छ ।” उन्मुक्तिले थप अर्को मन्त्रालय पाएमा लक्ष्मण किशोर चौधरी पनि मन्त्री बन्ने जनाइएको छ । 

मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण सम्भवतः आज दिउँसो २ बजेपछि हुने उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा संयुक्त सरकार छ । जसमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी छन् । काँग्रेसले दुई, माओवादीले दुई र नेकपा –एकीकृत समाजवादी) ले एक मन्त्रालय लिएका छन् । नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री पृथ्वीबहादुर सिंहको गएको महिना सडक दुर्घटनामा निधन भएपछि सो मन्त्रालय खाली छ ।