• १५ चैत २०८०, बिहिबार

शल्यक्रियाभन्दा प्राकृतिक रुपमै बच्चा जन्माउनु आमा र बच्चाकाे हितमा हुने

blog

चार-पाँच वर्ष अगाडीि१७-१८ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माउनेमा यो सङ्ख्या बढेर ३१ प्रतिशत पुगेको छ।

काठमाडौं, असार ८ गते । पछिल्लो समय शल्यक्रिया (सिजेरियन) बाट बच्चा जन्माउनेको सङ्ख्या बढ्दै गएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट भएको देखाएको छ । निजी स्वास्थ्य संस्थामा आधाभन्दा बढी बच्चा शल्यक्रियाबाट जन्मिने उक्त अध्ययनले देखाएको छ ।

शल्यक्रियाबाट बच्चा जन्माउने ४७ प्रतिशत माध्यमिकभन्दा बढी शिक्षा हासिल गरेका छन्  ।सम्पन्न घरपरिवारका ३८ प्रतिशत र सहरी क्षेत्रका २२ प्रतिशत महिलाले शल्यक्रियाबाट बच्चा जन्माउने गरेको देखिएको छ ।

त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि केही वर्ष देखि शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या बढ्दै गएको छ । चार-पाँच वर्ष अगाडि १७-१८ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माउनेमा यो सङ्ख्या बढेर ३१ प्रतिशत पुगेको छ।

अस्पतालका कार्यकारी निर्देशक डा.श्रीप्रसाद अधिकारीका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा २५ हजार बच्चा जन्मिएकामध्ये आठ हजारभन्दा बढी अर्थात् ३१ प्रतिशत बच्चा शल्यक्रियाबाट जन्मिएका हुन् ।

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा विगतका वर्षमा ४०-४५ प्रतिशत बच्चा शल्यक्रियाबाट जन्मिने गरेकोमा बढेर  ६० प्रतिशतमा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बच्चा जन्माउँदा आउने जटिलता कम गर्न ५ देखि १५ प्रतिशत शल्यक्रियाबाट जन्मनु सामान्य मानिन्छ । 

अन्तराष्ट्रिय मिडवाइफ सङ्घका बोर्ड सदस्य डा.लक्ष्मी तामाङले जटिल अवस्थामा बाहेक सामान्य तरिकाबाट बच्चा जन्माउनु आमा तथा शिशु दुवैका लागि उत्तम हुने बताउनुहुन्छ ।

शल्यक्रियाबाट बच्चा जन्माउने सङ्ख्या बढ्नुको कारण

सामान्य प्रक्रियाबाट बच्चा जन्माउँदा आमा र बच्चा दुवैको हितमा हुने कुराको जानकार नहुँदा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या बढ्दै गएको डा.अधिकारी बताउनुहुन्छ । त्यसबाहेक पहिलोपटक शल्यक्रियाबाट बच्चा जन्माएपछि दोस्रो बच्चा पनि शल्यक्रियाबाट नै जन्माउनुपर्ने बाध्यताका कारण शल्यक्रियाबाट बच्चा जन्माउने सङ्ख्या बढेको बताउनुहुन्छ ।

उहाँ भन्नुहन्छ, “नेपालमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माएका दोस्रो बच्चा जन्माउँदा जोखिम मोल्न नचाहने हुँदा शल्यक्रिया नै रोज्ने गर्दछन् । ”त्यसबाहेक ढिलाे सन्तान जन्माउने, बदलिँदाे जीवनशैली, खानपानले गर्दा स्वास्थ्यमा समस्या उत्पन्न भई शल्यक्रिया आवश्यक पर्ने भएकाले शल्यक्रियाबाट बच्चा जन्मिनेको सङ्ख्या बढेकाे उहाँको भनाइ छ ।

गर्भवस्थामा जंक फुडको बढी प्रयोगले भ्रूणमा रहेको बच्चाको तौल ठुलो भएमा,आमाले लेबर पेन सहन नसक्ने कारणले गर्दा पछिल्लो समय शल्यक्रिया गरेर बच्चा जन्माउने सङ्ख्या बढेको डा. अधिकारीको तर्क छ ।

शल्यक्रियाबाट जन्मिएका बच्चामा दीर्घरोगको जोखिम

 अन्तराष्ट्रिय मिडवाइफ सङ्घका बोर्ड सदस्य डा.लक्ष्मी तामाङले शल्यक्रियाबाट जन्मिएका बच्चामा विभिन्न दीर्घ स्वास्थ्य समस्या देखिने बताउनहुन्छ ।

शल्यक्रियाबाट जन्मिने बच्चामा दीर्घस्वास्थ्य समस्या देखिने डा.तामाङको भनाइ छ । डा. तामाङका अनुसार यस्ता बच्चामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले दम, श्वासप्रश्वास,मधुमेह, मोटोपन, एलर्जी जस्ता दीर्घ स्वास्थ्य समस्या देखिन्छन् ।

उहाँ भन्नुहुन्छ,“पछिल्लो समय तत्कालको शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या बढदै गएको छ । यसरी जन्मिएका बच्चालाई बच्चालाई दीर्घकालीन रुपमा असर गर्छ भन्ने विषयमा जनचेतनना फैलन आवश्यक छ ।”

प्रत्यक स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मीले सामान्य प्रक्रियाबाट बच्चा ज्नमाउन सहयोग गर्ने  डा.तामाङको तर्क छ ।

शल्यक्रिया कस्तो अवस्थामा गर्ने ?

डा.अधिकारीले लेबर रुपमा आउने अधिकांश महिलाले शल्यक्रिया गरेर बच्चा जन्माउन अनुरोध गरे पनि आफूहरुले सामान्य प्रक्रियालाई नै प्राथमिकता दिने गरेको दाबी गर्नुभयो ।

चिकित्सकका अनुसार शल्यक्रिया गर्नुपर्ने विभिन्न कारणमध्ये सालले बच्चा निक्लने बाटो ढाक्नु, बच्चा निस्कने ठाउँ साँघुरो हुनु, बच्चाको तौल कम हुनु, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम भयो वा अनियमित भएमा, पेटभित्र नै बच्चाले दिसा गरेमा, गर्भवतीलाई उच्च या कम रक्तचाप भएमा, बच्चा उल्टो वा तेर्सो बसेमा, आमालाई मधुमेह भएमा शल्यक्रियाबाट बच्चा जन्माउन सकिन्छ ।

कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रियाबाट आवश्यक पर्ने चिकित्सक बताउँछन् ।

सामान्य प्रक्रियाबाट बच्चा जन्माउँदा हुने फाइदा 

चिकित्सक अनुसार सामान्य प्रक्रियाले बच्चा जन्मिदा आमा र बच्चा दुवैका लागि फाइदाजानक हुन्छ । सामान्य प्रक्रियाबाट बच्चा जन्मिदा १२ घण्टापछि घर जान सक्छन् । एक दुई दिन पछि आमा सामानय काममा फर्किन सक्छन । त्यसका अलाव बच्चाको रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने डा. तामाङ बताउनुहुन्छ । 

शल्यक्रियाबाट बच्चा जन्माउँदा हुने जोखिम 

शल्यक्रियाबाट बच्चा जन्माउँदा पेटमा घाउ बनाएर बच्चा निकाल्ने हुँदा घाँउ पाक्ने सम्भावना बढी हुने डा. अधिकारी बताउन हुन्छ ।त्यसका अलाव पिसाब र दिसा थैली, आन्द्रा च्यातिने, टासिने, रगत बग्ने, पेट दुख्ने र अन्य जटिल स्वास्थ्य समस्या देखिने गर्छ ।

अस्पताल बसाई लामो हुनुका साथै काममा फर्कन पनि समय लागने चिकित्सक बताउछन् । 

 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।