• १३ वैशाख २०८१, बिहिबार

११ हजार मिटर गहिरो प्वाल !

blog

चीनले उत्तरपश्चिम क्षेत्र सिङ्कयाङस्थित तकलामकान मरुभूमिमा ११ हजार मिटर गहिरो प्वाल बनाउन सुरु गरेको छ। यो प्वाल पृथ्वीको प्राचीनतम क्रेटासियस कालको तहसम्म पुग्ने छ। क्रेटासियसलाई एक भूगर्भीय काल मानिन्छ। जुन १४ करोड ५० लाख वर्षदेखि छ करोड ६० लाख वर्षसम्म अगाडिको समय हो।

११ हजार मिटरभन्दा गहिरो प्वाल खन्ने यो परियोजना चार सय ५७ दिनमा पूरा गर्ने योजना छ। यसलाई चीनमा उत्खननको सबैभन्दा ठूलो परियोजनाका रूपमा हेरिएको छ। यस परियोजनाको नेतृत्व चीनको सरकारी स्वामित्वको पेट्रोकेमिकल कर्पोरेसन सिनोप्याकले गरिरहेको छ। 

चीनका राष्ट्रपति सी चिनफिङले दुई वर्षअघि देशका वैज्ञानिकलाई जमिनको सर्वाधिक गहिराइमा रहेका संसाधनको खोजी गर्ने कामलाई अघि बढाउन निर्देशन दिएका थिए। यो प्वाल बनाउनुको उद्देश्य वैज्ञानिक शोधका साथै तेल तथा ग्यासको खोजी हो। 

मरुभूमिमा ११ हजार मिटर प्वाल बनाउनु निकै चुनौतीपूर्ण काम हो किनभने मरुभूमिको सतहको बनावट, अत्यधिक तापक्रम तथा उच्च दबाब जस्ता कारणले गर्दा त्यति गहिरो प्वाल खन्ने क्रममा धेरै प्राविधिक चुनौती आउन सक्ने विज्ञहरूको ठम्याइँ छ। तकलामकान मरुभूमिको तापक्रम जाडो याममा माइनस २० डिग्री सेल्सियस र गर्मी याममा ४० डिग्री सेल्सियससम्म पुग्छ। 

 युवामञ्चमा प्रकाशित