• १५ चैत २०८०, बिहिबार

नेटोमा फिनल्यान्ड

blog

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै आफू असुरक्षित भएको महसुस गरेको फिनल्यान्ड अन्ततः उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा आबद्ध भएको छ । नेटोको ३१औँ सदस्य बनेको फिनल्यान्डमाथि अब रुसले आक्रमण गर्न कठिन छ। यो मुलुकको सुरक्षा अब नेटोले गर्नेछ। फिनल्यान्ड र रुसबीच एक हजार ३४० किलोमिटर सीमा रेखा छ। नेटोका सैनिकलाई रुसको सीमासम्म आउन बाटो खुलेको छ। यो रुसका लागि ठूलो भूराजनीतिक चुनौती बनेको छ। 

फिनल्यान्डको प्रवेशसँगै नेटोमा आबद्ध मुलुकको सङ्ख्या अब ३१ पुगेको छ। अल्बानिया, बेल्जियम, बुल्गेरिया, क्यानडा, क्रोएसिया, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, ग्रिस यसका सदस्य छन्। 

त्यसैगरी अन्य सदस्य हङ्गेरी, आइसल्यान्ड, इटाली, लाट्भिया, लिथुवानिया, लक्जेम्बर्ग, मोन्टेनेग्रो, नेदरल्यान्ड्स, उत्तरी मेसेडोनिया, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, टर्की, बेलायत र अमेरिका हुन्।  

यसअघिसम्म फिनल्यान्ड तटस्थ मुलुक थियो। यसले सन् १९४८ मा तत्कालीन सोभियत सङ्घसँग मैत्री सम्झौता गरेको थियो तर अहिले रुसकै कारण यो सम्झौता तोडियो। यसले उत्तरपूर्वी युरोपको सुरक्षा परिदृश्यमा ठूलो परिवर्तन आएको छ। आउँदा दिनमा  फिनल्यान्डलाई केही सङ्कट परेमा रुसको सीमा क्षेत्रमा अमेरिकासहित ३१ मुलुकका सेना सहयोगका लागि उभिने बाटो खुलेको छ। 

फिनल्यान्डले उत्तर–पश्चिम युरोप र रुसलाई जोड्छ। उक्त क्षेत्रलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशील पनि मानिन्छ। रुसले फिनल्यान्डको सीमाक्षेत्रमा सुरक्षा फौजलाई प्राथमिकतासाथ तैनाथ गरिराखेको छ। 

फिनल्यान्डमा ठूलो आधुनिक आर्टिलरी (तोप खाना) फोर्स छ। अब फिनल्यान्डले नेटोलाई मुख्य गरी जगेडा फोर्स, प्रविधिको पहुँच र आर्टिलरी फोर्समा सहयोग गर्न सक्ने छ। 

अर्काेतर्फ रुसको अर्को छिमेकी युक्रेन चर्को दबाबमा छ।  सन् २०१४ मा रुसले बलपूर्वक युक्रेनको प्रान्त क्रिमियामाथि कब्जा जमाएको थियो। त्यसपछि दुई मुलुकबिचको सम्बन्धमा लगातार चिसोपन आयो। रुसबाट असुरक्षित बनेको युक्रेनले नेटोको सदस्यता लिने घोषणा ग¥यो। यो कुरा रुसी नेतृत्वलाई पाच्य भएन।  सन् २०२२ को फेबु्रअरी २४ देखि रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेको छ, युद्ध जारी छ। 

सन् १९४७ को अप्रिल ४ मा १२ राष्ट्र मिलेर नेटो सैन्य गठबन्धन गठन भएको थियो। नेटो गठन गर्दाका संस्थापक राष्ट्र बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटाली, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका थिए।

दोस्रो विश्वयुद्धपछि एकातिर अमेरिका शक्तिशाली मुलुक बन्यो भने अर्कातिर सोभियत सङ्घ। सामूहिक सुरक्षाका लागि अमेरिकी पक्षधर मुलुक नेटोतिर र सोभियत सङ्घ पक्ष मुलुकहरू वार्सातिर लागे। नेटोलाई टक्कर दिन वार्सा बनाइएको थियो।

नेटोको उद्देश्य राजनीतिक र सैन्य माध्यमबाट आफ्ना सदस्य मुलुकहरूको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गर्नु हो। नेटोले प्रजातान्त्रिक मूल्य–मान्यतालाई बढावा दिने, सदस्य मुलुकलाई सुरक्षा प्रदान गर्ने, परामर्श र सहयोग गर्ने गरेको छ। 

दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो। युद्ध रोकिए पनि अमेरिकी नेतृत्वको पश्चिमा लोकतान्त्रिक पक्ष र सोभियत सङ्घको नेतृत्वमा कम्युनिस्ट पक्षबीच शीत युद्ध चल्यो। सन् १९९१ मा सोभियत सङ्घको विघटन भएसँगै शीत युद्ध सकियो। यो सँगै वार्साको पनि अन्त्य भयो। 

एकातर्फ पूर्वी युरोपका साना मुलुकले रुसलाई आफ्नो राष्ट्रिय सुरक्षाको खतराका रूपमा प्रस्तुत गर्दै नेटोमा सहभागिता बढाइरहेका छन् भने अर्कातर्फ छिमेकी मुलुकले नेटोको सदस्यता लिँदा रुसले राष्ट्रिय सुरक्षामाथि चुनौती थपिएको महसुस गरेको छ। सुरुमा नेटोको उद्देश्य तत्कालीन जर्मनीलाई तल पार्ने, सोभियत सङ्घलाई बाहिर राख्ने र अमेरिकालाई अघि बढाउने थियो। त्यही अनुसार युरोपको राजनीति अहिले पनि अघि बढिरहेको छ। 

फिनल्यान्ड युरोपको शान्त र खुसी मुलुक हो। यहाँ राजनीतिक स्थायित्व, सामाजिक सुरक्षा, स्वतन्त्रता र प्रगति अब्बल छ। सन् १९१७ मा रुसबाट फिनल्यान्ड स्वतन्त्र भएको थियो। सन् १९९५ मा फिनल्यान्ड युरोपेली सङ्घमा आबद्ध भयो। 

नेटोमा आबद्ध नहुँदासम्म कतिबेला रुसको आक्रमणमा परिन्छ भनी फिनल्यान्डवासी चिन्तित थिए। जनताको यो चिन्ता र चासोलाई सम्बोधन गर्दै सरकारले नेटोको सदस्यता लिने निर्णय ग¥यो र सदस्यता पायो पनि। शान्त र खुसी यो मुलुक युद्धको विरुद्धमा छ। सरकार र जनता युद्धको बाटोमा जान चाहँदैनन्। शान्तिपूर्ण सहअस्तित्वका आधारमा अगाडि बढ्न चाहन्छन्। 

रुसले युक्रेनमा गरेको आक्रमण अमानवीय भएको फिनल्यान्डको ठहर छ। एक छिमेकीले अर्को छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन। आकारमा साना ठूला भए पनि सार्वभौम हिसाबले सबै मुलुक बराबर छन्। छिमेकी एकले अर्काको मूल्य मान्यतालाई सम्मान गर्नुपर्छ तर रुसले आफ्नो मात्र स्वार्थ हे¥यो, जसले गर्दा छिमेकीहरू एकपछि अर्को टाढिएका छन्। 

Author

रामप्रसाद आचार्य