• ६ वैशाख २०८१, बिहिबार

फूल सदृश कविताहरू (कविता)

blog

म फूलका कुरा उठाउन चाहन्छु 

कवितामा फूलको प्रसङ्ग

फूल सदृश नरम र कोमल हुन्छन् कविताहरू 

मनलाई छुने र आकर्षित गर्ने

फूलहरू छर्छन् वासना कवितामा

फूल सुन्दर र सुगन्धित हुन्छ

कविता सरह ।

फूललाई सुरक्षा गर्ने जिम्मेवारी काँडाको हुन्छ

उसको कोमलता र सुन्दरताको रक्षा गर्ने

फूलमा जस्तै कवितामा रम्ने अभिरुचि राख्ने

कवितानुरागी हुन्छन्

अल्पायुमै कविता फूल सदृश अमर हुन्छ ।

कविताले फूल सरह आँधी बेहरीको

सामना गर्नुपर्ने हुन्छ 

असिनाको कटु प्रहार

आरोप, प्रत्यारोप र तीक्ष्ण प्रहार

कटु वचन सहन बाध्य हुन्छन् कविताहरू आलोचनाको

कविताहरू आलोच्य हुन्छन् प्रशंसित पनि

कविताले हिँड्न पर्छ सङ्कटको बाटो

अँध्यारो र अप्ठ्याराहरूको बाटो

कविता सङ्कटमय पथ हिँड्छ

उज्यालोको चाहना र अभिलाषा बोकेर

कविताले आक्रमण सहन्छ

बेथिति र कुरूपताहरूको

अन्योल र अस्पष्टताहरू विस्थापित गर्छ

सूर्यका किरणहरूले कञ्चन हिमाल चुमे सरह

फूलले, कविताले धर्तीलाई चुम्छ 

अविच्छिन्न माया गर्छ ।