• ८ वैशाख २०८१, शनिबार

दुई महिनामै पूरा भयो खानेपानी योजना

blog

खानेपानी आयोजना उद्घाटन कार्यक्रममा सांसद शङ्कर भण्डारी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, साउन ८ गते । खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका–४, मनहरी र पिपलटारका बासिन्दाको घर घरमा खानेपानीको नयाँ धारा जडान भएको छ। 

तनहुँ–२ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको निर्देशन अनुसार योजना निर्माण अघि बढेको दुई महिना पूरा नहुँदै खानेपानी योजना सम्पन्न भएको हो। 

योजना सम्पन्न भएपछि स्थानीयले पन्चैबाजा बजाएर नाचगान गरी खुसियाली मनाएका छन्। सङ्घीय सरकारको अर्थ तथा खानेपानी मन्त्रालयले उक्त योजनाका लागि ८० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो।  मनहरी पिपलटार खानेपानी तथा सरसफाइ समितिका अनुसार काम सुरु भएको ५० दिनमा खानेपानीको इन्टेक र रिजर्भ ट्याङ्की निर्माण हुनाका साथै नयाँ पाइपलाइन बिछ्याउने र घर घरमा धारा जडान गरी पानी उपलब्ध गराउने काम पूरा भएको छ। 

सो समितिका अध्यक्ष प्रेमराज अधिकारीले सांसद भण्डारीको निर्देशनमा काम पूरा भएसँगै १३८ घरपरिवार लाभान्वित भएको बताउनुभयो। छोटो समयमै पानीको समस्या समाधान भएकाले खुसी छाएको भनाइ अध्यक्ष अधिकारीको छ। 

गत चैतमा खानेपानीको ट्याङ्कीमा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव भेटिएको थियो। सो घटनापछि नयाँ खानेपानी आयोजना सुरु गर्नु परेको समितिका सचिव चन्द्रकुमार मल्लले बताउनुभयो ।

खानेपानी योजना उद्घाटन गर्दै सांसद भण्डारीले खानेपानीको अभावमा आँत भिजाउन नपाएर दुःख परेको खबर सञ्चारमाध्यममा आएपछि उपभोक्ता र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा योजना निर्माण गर्न सफल भएको बताउनुभयो। 

सो योजना निर्माण कम्पनीका सञ्चालक रामचन्द्र पौडेलले सांसद भण्डारीले चासो दिएर पटक पटक फोन गर्ने, स्थलगत निरीक्षणमा आउने र समयमै रकम विनियोजन गर्न पहल गरेकाले छोटो समयमै निर्माण पूरा भएको जानकारी दिनुभयो। 

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सांसद भण्डारीले जनतालाई परेको पिरमर्कालाई हृदयङ्गम गरी समाधानका लागि कटिबद्ध भएर लागेकाले योजना छोटो समयमै सम्पन्न भएको बताउनुभयो। 

त्यस्तै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष दीपक श्रेष्ठ, स्थानीय गौरव थापालगायतले विकासमा राजनीतिक आग्रह तथा पूर्वाग्रह नराखी काम गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

सो अवसरमा खानेपानी योजनाको ट्याङ्की निर्माणका लागि तीन आना जग्गा निःशुल्क रूपमा उपलब्ध गराउने स्थानीय हिमनारायण कायस्थ र खानेपानीको मुहान निःशुल्क उपलब्ध गराउनेलाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।