• ८ वैशाख २०८१, शनिबार

मन्त्रीले दमाहा बजाएर खानेपानीको उद्घाटन

blog

बैतडी समाचारदाता 

ठुलीसैनी, साउन ८ गते ।  सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले दमाहा बजाएर लिफ्टिङ खानेपानी योजनाको धारा उद्घाटन गर्नुभएको छ । विगतमा खानेपानीको समस्याका कारण बुहारीसमेत नपाउने सो गाउँमा मन्त्री धामीले दमाहा बजाएर सर्वसाधारणलाई छलिया नृत्यमा नचाउनुभएको थियो । 

करिब आठ करोड रुपियाँ लागतमा बैतडीको सिगास गाउँपालिका–३, लगन–ठुलीसैनीमा लिफ्टिङ खानेपानी योजना निर्माण गरिएको छ । मन्त्री धामी दमाहा बजाएर स्थानीयलाई नचाउँदा उद्घाटन कार्यक्रम हर्षोल्लासमय भएको थियो । 

सो उद्घाटन समारोहमा मन्त्री धामीसँगै सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक मन्त्री पठानसिंह बोहरा विशिष्ठ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । गाउँमा पहिलो पटक मन्त्री पुग्दा स्वागतमा दमाहा बजाउन आउनुभएका स्थानीय मनवीर नेपालीले मन्त्री धामी दमाहा बजाउन निकै सिपालु रहेको बताउनुभयो । 

खानेपानी उद्घाटन समारोहमा डिभिजन खानेपानी कार्यालयका प्रमुख कृष्णबहादुर बोगटी, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थी, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक शङ्कर भण्डारी, नागरिक उन्मुक्ति पार्टीका  जिल्ला संयोजक जित गहतराजलगायत नेता तथा सामाजिक अगुवाको सहभागिता रहेको थियो । 

सो गाउँमा पहिलो पटक पानी लिफ्टिङ गरेर १३७ घरधुरीमा खानेपानी पुग्दा गाउँमा खुसियाली छाएको छ । यसअघि यहाँका बासिन्दालाई पानी लिन दुई घण्टा पैदल हिँडेर छिमेकी जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिका–५ पुग्नुपर्ने बाध्यता थियो । यहाँ खानेपानीको समस्याका कारण अर्को गाउँबाट बुहारी भित्र्याउनसमेत समस्या थियो । खानेपानी बनेपछि गाउँमा बुहरी भित्र्याउन सहज हुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुन्दरसिंह धामीले बताउनुभयो ।

लिफ्टिङ खानेपानी योजना आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएर आव २०७९/८० मा सम्पन्न भएको हो । सो अवसरमा मन्त्री धामीले सुदूरपश्चिम प्रदेश सरकार अब दुर्गम गाउँहरूमा भेटिने बताउनुभयो । पूर्वभौतिक योजनामन्त्री पठानसिंह बोहराले सिगास आफ्नो जन्मभूमि भएकाले मन्त्री हुँदा नै खानेपानी योजना निर्माणको पहल गरिएको बताउनुभयो । उहाँले सिगासमा खानेपानीपछि सडक पूर्वाधार निर्माणको पहल गरिने बताउनुभयो । 

गोरखापत्रकर्मी दयाल सम्मानित

खानेपानीका कारण बुहारी नपाउने गाउँका बारेमा खोजमूलक समाचार लेख्नु भएका गोरखापत्रका बैतडी समाचारदाता गोकर्ण दयाललाई समान गरिएको छ । 

तत्कालीन भौतिक योजनामन्त्री पठानसिंह बोहराले गोरखापत्रमा प्रकाशित समाचारले खानेपानी आयोजना सञ्चालन गर्न महìवपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले गोरखापत्र  परिवार र बैतडी समाचारदातालाई धन्यवादसमेत दिनुभयो । गोरखापत्रमा समाचार प्रकाशित भएपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको स्मरण गराउँदै उहाँले स्थानीयवासीलाई गोरखापत्रलाई धन्यवाद दिन आग्रह गर्नुभयो । कार्यक्रममा समाचारदाता दयाललाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो ।