• १६ चैत २०८०, शुक्रबार

राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप

blog

महेन्द्रनगर,  साउन ८ गते । कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ ।

त्यस्तै जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिनुभयो । “दुई हजार नौ सय १४ महिला र सात हजार दुई सय ८० पुरुषले राहदानी लिएको छ ।” उहाँले भन्नुभयो, “पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ ।”

पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने सङ्ख्या वृद्धि भएसँगै राहदानी बढाउनेको सङ्ख्या वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा १२ हजार तीन सय ३६ महिला तथा पुरुषले नागरिकता लिएका छन् ।

अपरेटर बोहराले यहाँ वंशजका आधारमा १२ हजार तीन सय १५ जनाले र वैवाहिक अङ्गिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिनुभयो । त्यसैगरी प्रशासनबाट नौ हजार ७६ जनाले नागरिकको प्रतिलिपि लिएको देखिएको छ । उहाँले नयाँ नागरिकसँगै राष्ट्रिय परिचयपत्र बनाउनुका साथै राहदानीसमेत सँगै बनाउने क्रम बढेको बताउनुभयो ।

त्यसैगरी गत वर्ष १७ हजार तीन सय २४ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । भने अघिल्लो आवका चार हजार दुई सय ८१ राष्ट्रिय परिचयपत्र समेत वितरण गरिएको प्रशासनले जनाएको छ ।  रासस