• ७ वैशाख २०८१, शुक्रबार

चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

blog

चितवन, साउन ७ गते । गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन ।

उनीहरुलाई जनही रु. १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु. ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बँदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी  तिवारीले बताउनुभयो ।

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप रु. ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्नबालीमा समेत क्षति पुगेको छ । यसबापत रु. ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उहाँले जानकारी दिनुभयो । जसको क्षतिबापत रु. दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु. ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु. दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।रासस