• १५ चैत २०८०, बिहिबार

मानसरोवर क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु

blog

पठनपाठनका लागि क्याम्पसमा आउनु भएका आंशिक प्राध्यापक । तस्बिर: राजन रावत

राजन रावत 

हुम्ला, साउन ८ गते । जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु भएको छ । क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन कार्य सुरु भएको हो ।

क्याम्पस प्रमुख दीपक भण्डारीले पाँच जना आंशिक प्राध्यापकहरुको व्यवस्था गरेर लामो समयदेखि पठनपाठन बन्द रहेको क्याम्पसमा पढाई सुरु गरेको बताउनुभयो । उहाँले २०७१ सालपछि क्याम्पसमा पठनपाठन बन्द रहेको बताउँदै सामुदायिक क्याम्पस भएको कारण स्राेत अभावमा प्राध्यापकको व्यवस्था गर्न नसकिएपछि पढाइ बन्द रहेको बताउनुभयो । 

पहिलो दिन पाँच मध्य तीन वटा विषयको पठनपाठन सुरु भएको हो । क्याम्पसमा पठनपाठन सुरु भएको कारण उहाँले भर्ना भएका सबै विषयका विद्यार्थीहरुलाई नियमित क्याम्पसमा आएर पठनपाठनमा सहभागिता हुन आग्रह गर्नुभयो । हाललाई शिक्षा सङ्कायतर्फको पढाइ क्याम्पसमा सुरु भएको छ । यसका लागि क्याम्पस व्यवस्थापनले अङ्ग्रेजी, नेपाली, स्वास्थ्य लगायतका विषयको पढाइ सुरु गरेको छ । पाँचै जना आंशिक प्राध्यापकहरुलाई कोर्स सम्पन्न गर्ने गरी पारिश्रमिक उपलब्ध गराउने सम्झौता गरेको छ । उहाँले लामो समय रोकिएको पठनपाठन सुचारु गरेर विद्यार्थीहरू नियमित क्याम्पसमा आउने वातावरण तयार भएको बताउनुभयो ।

क्याम्पसले स्राेत व्यवस्थापन भने गाउँपालिका, त्रिभुवन विश्वविद्यालयको अनुदान र विद्यार्थीहरुको शुल्कबाट व्यवस्थापन गर्नेछ । क्याम्पसमा चार वर्षे स्नातक तहका लागि २२३ जना विद्यार्थी भर्ना भएका छन् । अब चाँडै मानविकी तथा सामाजिक संकायको पनि पढाइ सुरु गर्ने क्याम्पसले जनाएको छ । २०६६ सालमा उक्त क्याम्पस स्थापना भएको हो । सुरुका पाँच वर्षमा क्याम्पसमा पठनपाठन नियमित हुने गर्थ्यो । त्यतिबेला प्राध्यापकको व्यवस्था गरिएको थियो । 

पठनपाठन बन्द भए पनि क्याम्पसमा भर्ना भएका विद्यार्थीहरू नयाँ तथा पुरानो भर्ना, परीक्षा फारम भर्न र परीक्षाको समयमा मात्र क्याम्पस आउने गर्थे । सो क्याम्पसमा यसै शैक्षिक सत्रबाट स्नातकोत्तर तहको पढाइ सुरु भएको छ र यसका लागि ४५ जना विद्यार्थी भर्ना  भएका छन् ।