• १३ वैशाख २०८१, बिहिबार

महालक्ष्मी साहित्य पुरस्कार भट्टराईलाई

blog

हेटौँडा, साउन ८ गते । महालक्ष्मी साहित्य पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाज, हेटौँडाको संयोजनमा भएको पुरस्कार वितरण एवं काव्य वाचन समारोहमा प्राडा भट्टराईलाई पुरस्कार समर्पण गरिएको हो । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले ५१ हजार रुपियाँ राशिको उक्त पुरस्कारसहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा केशवलाल स्मृति पत्रकारिता पुरस्कारबाट हेटौँडामा क्रियाशील पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गरिएको छ । स्थानीय समाजसेवी ईश्वर मैनालीले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको पुरस्कारको राशि सात हजार पाँच रुपियाँ रहेको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार भट्टराईले बिपी कोइरालाले साहित्यको क्षेत्रमा पु-याउनुभएको योगदानका बारेमा चर्चा गर्दै चेतना बाँकेको व्यक्ति साहित्यमा लाग्दा ऊभित्र फरक व्यक्तित्व झल्कने बताउनुभयो । साहित्य सभ्यता र संस्कृतिको भाषा हो, पढेर मस्तिष्कलाई मलजल गरेर लेख्न सकिने भन्दै उहाँले साहित्यले विविधतालाई समेत एक ठाउँमा ल्याउने बताउनुभयो । मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी विकास बैङ्क बागमतीका क्षेत्रीय प्रबन्धक शम्भु पराजुली सम्मानित पत्रकार सुरेश श्रेष्ठ, साहित्यकारहरू शैलेन्दुप्रकाश नेपाल, पुष्प अधिकारी ‘अञ्जली’लगायतले साहित्यका विविध आयामका बारेमा बोल्नुभएको थियो ।