• ८ वैशाख २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : बहुल सदस्य नेतृत्वको प्रतिरक्षामा

blog

काठमाडौँ, साउन ८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक सन्दर्भलाई लिएर पेचिलो बहस भइरहेको छ। साउन २ गतेदेखि जारी बैठकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झन्डै दुईतिहाइ बहुमतको सरकारले दुई पटक संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिदेखि अहिले कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका राजनीतिक दलसँगको सहकार्यसम्मका विषयमा गम्भीर समीक्षा भइरहेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकालमा सुरुवातका राजनीतिक उपलब्धिलाई समेटेर पार्टीलाई नवीन साङ्गठनिक संरचनासाथ अघि बढाउनुपर्ने केन्द्रीय सदस्यहरूको सुझाव छ। 

आइतबारको बैठकमा सहमहामन्त्रीसहित प्रभावशाली केन्द्रीय नेताले तत्कालीन नेकपाको सरकार बिदाइ भएपछि सभापति देउवाको नेतृत्वमा सरकार गठनसँगै निर्माण भएको गठबन्धन अहिलेसम्म कायम रहेर अघि बढ्नु राजनीतिक उपलब्धि भएको निष्कर्ष सुनाए। नेताहरूले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कांग्रेस सभापति देउवाले गरेको सहकार्यले राजनीतिक स्थायित्व आरम्भ गरेको बताउनुभयो। उहाँहरूले नेतृत्वको सुझबुझकै कारण सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तहमा पहिलो पार्टी भएको र अन्य राजनीतिक दलसँग पनि सहकार्य र विश्वासको वातावरण निर्माण भएको धारणा राख्नुभयो।

धेरै समर्थन, थोरै आलोचना 

कांग्रेस बैठकमा पार्टीका पदाधिकारीबाट कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाव आएको छ। केही नेताले सभापति देउवाको आलोचना गरे पनि धेरैले नेतृत्वको प्रतिरक्षा गर्दै पार्टीमा विश्वासको वातावरण बनाएर देशव्यापी उत्साह सिर्जना गर्नुपर्ने बताउनुभएको छ। 

सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले कांग्रेसलाई चलायमान बनाउने कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो। 

सहमहामन्त्री मन्सुरले पार्टीका निर्णय सर्वसम्मत भए पनि अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कांग्रेसलाई गतिशील बनाउनुपर्छ। समानुपातिक र समावेशी पद्धतिलाई अझै प्रभावकारी बनाउनुपर्ने चुनौती हाम्रासामु छ। अझै संस्थागत र नीतिगत रूपले पार्टी सञ्चालन गरेर अघि बढ्नु पर्छ।”

सहमहामन्त्री परियारले कांग्रेसलाई जनताका कुरा सुन्ने पार्टीमा बदल्नुपर्ने बताउनुभयो। उहाँले दोस्रो कार्यकालमा पार्टीलाई थप सशक्त बनाउनुपर्ने दायित्व सभापति देउवाको काँधमा रहेको बताउँदै सबै मिलेर वर्तमान चुनौतीको सामना गर्ने अवस्थामा पु¥याउनुपर्ने भनाइ राख्नुभयो। 

अर्का सहमहामन्त्री पाण्डेले यही गठबन्धनलाई जोगाएर पाँच वर्ष स्थिर सरकारमार्फत देशलाई स्थायित्व दिनुपर्ने बताउनुभयो। उहाँले साङ्गठनिक रूपमा भएका कमीकमजोरीलाई सच्याएर आगामी २०८४ को निर्वाचनमा सशक्त परिणाम हासिल गर्ने अवस्थामा पु¥याउनुपर्ने बताउनुभयो। उहाँले नीति अधिवेशन र महासमिति बैठक एकैसाथ गर्नुपर्ने बताउनुभयो। 

सहमहामन्त्री राठौरले सभापति देउवाले विधान अनुसार पार्टी सञ्चालन गरिरहेको बताउँदै आन्तरिक रूपमा केही समस्या भए बैठकमै राख्न नेताहरूलाई सुझाव दिनुभयो। उहाँले पार्टीलाई अघि बढाउने विषयमा सभापति र महामन्त्रीबिच समन्वय हुनुपर्ने र यसले पार्टीको आन्तरिक एकता कायम गर्ने बताउनुभयो। 

सहमहामन्त्री यादवले सभापति देउवाकै नेतृत्वमा तीनै तहमा कांग्रेस पहिलो दल भएको बताउँदै राजनीतिक स्थायित्वको अध्याय सुरु गर्नुपर्ने बताउनुभयो। अर्का सहमहामन्त्री आङ्देम्बे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा राखेका प्रस्तावमा आएको सुझावलाई बैठकले निर्णय गर्दा आमनिराशा अन्त्य हुने गरी गर्नुपर्ने बताउनुभयो। उहाँले उत्साह भरेर जाने र पुस्तान्तरण, रूपान्तरणका विषयमा आएका विषयलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। सभापति देउवा नेतृत्वको कांग्रेसले चुनौतीपूर्ण समयलाई राजनीतिक सुझबुझका साथ सम्हालेर अब सही दिशामा अघि बढेको बताउनुभयो। 

सहमहामन्त्री उपाध्यायले पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउनुपर्ने बताउनुभयो। उहाँले अन्य राजनीतिक शक्तिसँगको प्रतिस्पर्धामा उभिन सक्ने गरी कांग्रेस रणनीतिका साथ जानुपर्ने स्पष्ट पार्नुभयो। सहमहामन्त्री चौधरीले निर्णय कार्यान्वयन पक्षलाई ध्यान दिँदै व्यवस्थापन र परिचालनको पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो। आइतबारको बैठकमा २५ जनाले बोल्नुभयो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशाङ्क कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, एनपी साउद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले बोल्नुभयो। 

अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मन्त्रालयको कार्यप्रगति प्रस्तुत गर्नुभयो। बैठक सोमबार पुनः बस्नेछ।