पहिरोले कालिगण्डकी थुनियो

ठाकुरप्रसाद आचार्य

बेनी(म्याग्दी) जेठ १० गते । म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको छ । वैशाख १२ गते आएको भूकम्पका कारण सो स्थानको जमिन कमजोर बनेको थियो ।
आईतबार बिहान एक बजे राम्चे गाविस ९ मा पर्ने काफलडाँडको भिरको पहाडै खसेर गएको पहिरोले कालीगण्डकी थुनेको हो । कालिगण्डकी थुनिएपछि सदरमुकाम बेनीबजारवासीहरु सुरक्षितस्थल तर्फ लागेका छन् । रातको समयमा बजारका सर्वसाधारणहरु भागभाग भएका थिए । अहिले बेनीबजार पुरै खालि भइसकेको छ ।  kaligandaki_1
करिब एक हजार पाँच सय मिटर माथिबाट पहाड भत्किएर खसेको पहिरोले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पुरै रोकीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जुनसुकै वेला ताल फुट्न सक्ने भएकाले सर्वसाधारणहरु सुरक्षित स्थलतर्फ लाग्न भनेको छ । ठूलो ताल बनेकाले छ प्रहरी नायव उपरिक्षक हिरावहादुर गिरिले भन्नुभयो,“सवैजना सुरक्षित स्थलतर्फ लाग्नुपर्दछ ।” अहिले घटना स्थालतर्फ प्रहरी पुगिसकेको उहाँको भनाइ छ ।
मध्यरातमा पहिरोले काली थुनिएको खबर पाउदा साथ बेनी बजारमा भागाभाग भएको छ । सदरमुकाम बेनी बजारका बासिन्दाहरुले रातारात नै घर छोडेर सुरक्षित स्थानतर्फ लागिसकेका छन् । बेनी बजार खाली भैरहेको छ । सुरक्षा निकायले सुरक्षित ठाउँमा जान नदि तटिए क्षेत्रका वासिन्दाहरुलाई माइकिङ गरिरहेका छन् ।
पहिरो नियमित खसिरहेको छ । बैसरी माथिका बस्तीहरुमा डुवान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सतर्कता अपनाउन तथा सुरक्षा उपाय अपनाउन सूचना जारी गरेका छन् ।
बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दाना लगायतका ठाउँहरु डुवानको खतरा रहेको छ । यसैगरी गलेश्वर, म्याग्दी बेनी, पर्वत बगर, पर्वत बेनी लगायत बागलुङ, पर्वत, स्याङजा लगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्तीहरु उच्च जोखिममा रहेका छन् ।

सो स्थानमा शुक्रबारदेखि पहिरो खस्न थालेपछि बैसरी र राम्चे औलका २६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

 सेनाको प्राविधिक र विज्ञ टोली पहिरो स्थलमा पुगेर फर्कियो

कालीगण्डकी थुनीएको म्याग्दी वैसरीमा नेपाली सेनाको प्राविधिक टोली पुगेर फर्किएको छ । पश्चिमाञ्चल पृतनापति ताराबहादुर कार्कीको नेतृत्वमा सेनाको इञ्जिनियरिङ विभाग, भूगर्भ र मौसमविद् सहितको टोली लिएर कालीगण्डकीको पहिरोस्थलमा केही समय अगाडी पुगेको थियो ।
प्राविधिक टोलीले पहिरोको नजिक पुगेर अध्ययन गरेको थियो । प्राविधिक टोलीले जानकारी गराए अनुसार चालिस लख क्युविक लिटर पानी जम्मा भइसकेको स्थानीय प्रशासनले जनाएको छ ।
पहिरोले बनाएको बाँध दिउँसो साढे एक बजेसम्म भरिने सम्भावना छ । बाँध पुरै भरिधा १७ लाख क्युबिक लिटर पानी जम्मा हुने हिसाब टोलीले बताएको प्रमुख जिल्ला अधिकारी टेकवहादुर केसीले बताउनुभयो ।
थुनेको बाँधको उँचाइ झण्डैं सत्तरी मिटर जति छ । पहिरोले बनाएको बाँधको मोटाइ मात्र २०० मिटर भएको प्ररम्भिक अनुमान भएको प्रजिअ केसीले बताउनुभयो ।
हवाई निरीक्षणका लागि पश्चिमाञ्चल डिआइजी पंकज श्रेष्ठ अल्ट्रा लाइट चढेर पहिरो स्थालमा पुगेर फर्किनुभएको छ । साँघुरो कालीमा बनेको ताल ४ किलोमिटर माथिसम्म पुगेको वताइएको छ ।
म्याग्दी–मुस्ताङ सडक खण्डको यो ठाउँमा राति १ बजे गएको पहिरोले नदी थुनेको हो । नदी पुरै थुनीएको छ । यता सदरमुकाम बेनीबजार सुनसान जस्तै छ । सर्वसाधारणहरु सुरक्षित स्थल तर्फ लागिसकेका छन् भने प्रहरीले निरन्तर माइकिङ गरेर सचेत बनाइरहेको छ । प्रहरीले नदि तटिय क्षेत्रमा रहेका सर्वसाधारणहरुलाई आआफ्ना बहुमूल्य सामानहरु लिएर तीनसय मिटर माथी सुरक्षित स्थलमा जान अनुरोध गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना