• १६ चैत २०८०, शुक्रबार

माओवादी उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा भारत जान लागेको पाँच सदस्यीय टोली ।

काठमाडौं, साउन ७ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेको हो । 

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिनुभयो ।

“मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सुदृढ पार्ने कुरा हो”,  उहाँले भन्नुभयो,  “हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ । चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो । ” 

उहाँका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग  छलफल गर्ने कार्यक्रम छ । रासस