• १४ वैशाख २०८१, शुक्रबार

सामाजिक सेवा इकाईबाट नौ हजार बढी लाभान्वित

blog

भेरी अस्पतालको सामाजिक सेवा इकाईमा स्वास्थ्य चेकजाँचका लागि टिकट काट्नका लागि लाइन लागेका सेवाग्राही । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन ७ गते । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट गत आर्थिक वर्ष २०७९-०८० मा नौ हजार बढी बिरामी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा अस्पतालको उक्त इकाईबाट ६ हजार ८ सय ३३ जना गरिब तथा असहाय बिरामी र दुई हजार ९ सय ८६ जना ज्येष्ठ नागरिक गरी कुल ९ हजार ८ सय १९ जना बिरामी सेवाग्राहीलाई स्वास्थ्य सेवा दिइएको सामाजिक सेवा इकाई इन्चार्ज आशा पन्थले बताउनुभयो । इन्चार्ज पन्थका अनुसार गरिब तथा असहाय, शारीरिक अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका साथै ज्येष्ठ नागरिकलाई सो सेवा प्रदान गरिएको थियो । त्यसैगरी, विपन्न नागरिक उपचार कोषमार्फत पनि बिरामीहरूलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सिकलसेल, मुटुरोग, स्पाइनल कर्ड इन्जुरी तथा हेमोडायलिसिस गरी चार प्रकारका बिरामीहरूलाई यो सेवा प्रदान गरिएको हो ।

सबै प्रकारका स्वास्थ्य सेवा लिने बिरामीको अवस्था हेरेर स्वास्थ्य चेकजाँच, औषधि तथा बेड चार्जमा पूर्णदेखि आंशिक छुटमा उनीहरूको उपचार गरिएको इन्चार्ज पन्थले बताउनुभयो । गरिब तथा असहाय, शारीरिक अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका लगायतका बिरामीको उपचारमा एक करोड ७ लाख ८९ हजार ४ सय १३ रुपियाँ र ज्येष्ठ नागरिकको उपचारमा ४४ लाख २ हजार ९ सय ६४ गरी कुल एक करोड ५१ लाख ९२ हजार ३ सय ७७ रुपैयाँको छुट दिइएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, अस्पतालमा दिइने अर्को सेवा स्वास्थ्य बिमा अन्तर्गत भेरी अस्पतालमा सोही आर्थिक वर्षमा ३७ हजार ७ सय ३९ जना बिरामीको उपचार भएको छ । स्वास्थ्य बिमा इन्चार्ज मेनका शाहीका अनुसार स्वास्थ्य बिमा सेवा अन्तर्गत गत वर्ष विभिन्न प्रकारका रोगका ३७ हजार ७ सय ३९ जना बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

भेरी अस्पतालमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूबाट बिरामीहरू स्वास्थ्य उपचारका लागि आउने गर्दछन् ।