• १६ चैत २०८०, शुक्रबार

कृषक समूहलाई कृषि सामग्री वितरण

blog

कृषि सामग्री वितरण गर्नुहुँदै नगर प्रमुख र उपप्रमुख । तस्विर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, साउन ७ गते । रौतहटको देवाहीगोनाही नगरपालिका –७ का किसानलाई कृषि सामग्री तथा उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो वडाका तरकारी उत्पादक कृषक समूहलाई अनुदानमा कृषि सामग्री तथा उपकरण वितरण गरिएको हो ।

तरकारी उत्पादनका साना व्यवसायीको कृषि आम्दानीमा वृद्धि गर्ने उद्देश्यले कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत समूहमा आबद्ध कृषकलाई कृषि सामग्री वितरण गरिएको नगर प्रमुख प्रेमलाल साहले बताउनुभयो । उहाँकाअनुसार नगरपालिका र श्री रामसखी कृषक समूह देवाहीगोनाही –७ को आयोजनामा पानी तान्ने मोटर, ‘स्प्रे टङ्की’ र बिरुवाको खाद्यतत्व ‘जाईम’ वितरण गरिएको हो । 

नगर प्रमुख साह र उपप्रमुख परनियादेवीले आइतबार एक कार्यक्रमबीच ७५ प्रतिशत अनुदानमा पानी तान्ने मोटर ५० थान, ५० प्रतिशत अनुदानमा स्प्रे–टङ्की एकसय थान र ८० प्रतिशत अनुदानमा जाईम पाँच क्विन्टल वितरण गर्नुभयो । 

कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत १२ लाख रुपियाँ बजेटबाट सो सामग्री वितरण गरिएको रामसखी कृषक समूहका अध्यक्ष रामएकवाल सिंहले जानकारी दिनुभयो ।