• ८ वैशाख २०८१, शनिबार

मर्चवारीदेवीको फरक छ पहिचान र महिमा

blog

रामविकास चौधरी

लुम्बिनी,  साउन ७ गते । मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारीदेवी । उहाँको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका–५ मा अवस्थित छ । मर्चवारीदेवीको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्ती रहेका छन् । उहाँको शक्तिपीठ रातो रङ्गमा माटाको ‘पिण्ड’ आकारमा छ ।

मर्चवारीदेवीको महिमा भोजपुरी भाषाको मर्चा ९खुर्सानी०शब्दबाट सुरु भएको हो । “देवीको पूजा अर्चना गर्नाले दुःख–दरिद्रता नाश हुने र मनोकामना पुरा हुने जनविश्वास छ”, मन्दिरका महन्थ शम्भूशरण दासले भन्नुभयो, “पहिला यहाँ बलिप्रथा पनि थियो अहिले हटाइएको छ ।” 

“मर्चवारीदेवीलाई विशेष गरेर मर्चवारी, सम्मरीमाई र कोटहीमाई गरी हालको तीन गाउँपालिका र वरिपरि मर्चवारवासीको आराध्य र इष्टदेवी मानिन्छ” मर्चवारी गाउँपालिका–३, मधुबनियाका ५२ वर्षीय दीपचन्द यादवले भन्नुभयो, “यिनै देवीको महिमा र नामबाट सो क्षेत्रको नाम मर्चवार रहन गएको हो ।”

किंवदन्तीअनुसार परापूर्वकाल जतिबेला मानिस कबिलामा बस्दै फिरन्ते जीवन बिताउँथे,  त्यतिबेला त्यही बाटो भएर एउटा कबिलाको त्यहाँ आगमन भएको यादवले सुनाउनुभयो । उहाँले भन्नुभयो, “त्यही कबिलाले आफूसँग डोलामा राखी ल्याएको आफ्नो इष्टदेवीको पिण्डलाई त्यहाँ राखेर नित्य पूजा आराधना गर्दथ्यो ।”

केही दिनको बसाइँपश्चात् त्यहाँबाट उत्तरतर्फ जानेबेलामा कबिलाका सरदारले माटोको त्यो पिण्डलाई डोलामा राख्न खोज्दा उठेन र देवीले त्यो ठाउँ उहाँको लागि अतिउत्तम भएकाले जान नचाहेको इच्छा व्यक्त गर्दै आफूलाई त्यहीँ छोडी जान आग्रह गरे अनुसार कबिलाल त्यहाँबाट रित्तै फर्केको उहाँले सुनाउनुभयो ।

अध्यात्मका जानकार मानिने यादवले भन्नुभयो, “कबिलाले बगैँचाको पूर्वीछेउमा रहेको पोखरीबाट माटो ल्याई त्यो पिण्डलाई पुर्सा (मुठ्ठी कसेर हात उठाएको मानिसको पूर्णकद) बराबर पारी पूजा–आराधनापश्चात् स्थापना गरी नीमको बोट सम्झेर मर्चा (खुर्सानी)को बिरुवा रोपी झिसमिसे बिहानमा फर्केको थियो ।” 

फलफूलको बगैँचा, झाडी, बुट्टयान, खरहौटी र ताल–पोखरीले त्यहाँ खरायो, मृग, कालिज, तितर, पडखी, बसमुर्गी आदि पशुपन्क्षीहरू प्रशस्त मात्रामा पाइन्थे । त्यो ठाउँ चौपायाका लागि चरनका साथै शिकारका लागि पनि अतिउत्तम मानिन्थ्यो । त्यतिबेला मर्चवारीदेवीको त्यो शक्तिपीठका बारेमा अन्य कसैलाई थाहा भएन । “कालान्तरमा त्यसक्षेत्रमा हैजाको प्रकोप बढ्यो । हैजाग्रस्त एक गोठालाले त्यहाँ फलेको खुर्सानी टिपेर खाई पोखरीको पानी पिएपछि सन्चो भयो” यादवले भन्नुभयो, “माताले सपनामा हैजाग्रस्त ती गोठालालाई बताए अनुसार पूर्वस्थापित शक्तिपीठ वरिपरि सरसफाइ गरी मर्चवारी माताको रूपमा पूजा–आराधना सुरु गरियो ।”

यसै प्रसङ्गलाई कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभूषण यादवले अर्कै कथा सुनाउनुभयो । उहाँले भन्नुभयो, “शक्तिस्वरुपा पिण्डलाई डोलामा राखेर पछि–पछि दूधको धारा बगाउँदै उत्तरतर्फ गइरहेकाहरूको दूध त्यही आएर सकियो र देवी त्यहीँ अलप हुनुभयो, देवीलाई लैजाने कबिलाको सरदारले पनि त्यही देहत्याग गर्नुभयो ।”

उमेरले ७५ काटिसकेका पूर्व गापा अध्यक्ष यादव वर्षौँदेखि नियमित पूजापाठ गर्ने मर्चवारीदेवीका उपासकमध्येका एक हुनुहुन्छ । उहाँका अनुसार निकैपछि एक गोठालाले त्यहाँ फलेको दुईवटा खुर्सानी टिपेर खाएपछि निकै पिडा भयो । खुर्सानी खाएकाले हो, पूजा गर, भक्ति गर ठीक हुनेछ”, देवीले सपनामा भनेपछि त्यस्तै गर्दा उहाँलाई सन्चो भयो । 

मर्चवारीदेवीले दिनुभएको निर्देशन अनुसार बगैँचाको पश्चिमी छेउमा रहेको पोखरीबाट माटो ल्याई त्यहाँ पुर्सा बराबरको डल्लो ९पिण्ड० बनाई मर्चवारीदेवीको प्रतीकका रूपमा शक्तिपीठ स्थापना गरेर पूजा आराधना सुरु भयो । त्यसपछि स्थानीयको पिडा, दुःख सबै ठीक भएको कथा आफ्ना अग्रज बुढापाकाहरूबाट सुनेको यादवले बताउनुभयो । 

मर्चवार क्षेत्र धार्मिक, पुरातात्त्विक र पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण छ । यहाँ कथा, कडाही, विवाह, व्रतबन्ध र मुण्डन संस्कार आदि विभिन्न धार्मिक आयोजनहरू वर्षभरि हुने गर्दछन् । त्यहाँबाट भारतीय सिमाना चार किमी पूर्वमा रहेको छ । यो मन्दिर रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्र मर्चवारी–७ र कोटहीमाइ–७ को सिमानामा अवस्थित छ ।

वि.सं. २०४४ मा तत्कालीन राजा वीरेन्द्र तथा २०६९ असार २१ र २०७६ मङ्सिर २० मा पूर्वराजा ज्ञानेन्द्रले पनि मर्चवारीदेवी मन्दिरको दर्शन अवलोकन गर्नुभएको थियो । तत्कालीन पाल्पा राज्यका सेनवंशीय राजाहरू पनि मर्चवारीदेवी शक्तिपीठको दर्शन, पूजा–आराधना र आर्सीवाद लिने चलन रहेको बताइयो । अध्यक्ष मिश्रले भन्नुभयो, “विश्व शान्तिको मुहान तथा अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी नजिकै रहेको मर्चवारीदेवी मन्दिरको महिमा र महत्त्व बढ्दो छ ।” 

लुम्बिनी प्रदेशमै अन्नको भण्डार भनेर चिनिने मर्चवार क्षेत्रको इष्ट मर्चवारीदेवीलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले पहल गरिरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो ।  रासस