पुनः काठमाडौँ नजाने निर्णय

नेपालगञ्ज, जेठ ९ गते । वैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परेर मुस्किलले ज्यान जोगाएर काठमाडौँबाट घर फर्किएका नेपालगञ्जका अधिकांश विद्यार्थीले पुनः काठमाडौँ नजाने निर्णय गरेका छन् ।

काठमाडौँमा अझै पनि पराकम्पन हुने क्रम नरोकिएकाले पठनपाठनका लागि पुनः काठमाडौँ फर्कन डर लागिरहेको जनाउँदै उनीहरूले यस्तो निर्णय गरेका हुन् ।

भूकम्पको डरले अधिकांश विद्यार्थी काठमाडौँ फर्कन नमानेपछि उनीहरूका अभिभावकहरूले उनीहरूलाई नेपालगञ्जकै विद्यालयमा भर्ना गराइरहेका छन् ।

काठमाडौँका विद्यालयमा भर्ना भइसकेका विद्यार्थीसमेत भूकम्पका डरले नेपालगञ्जका विद्यालयमा भर्ना हुन थालेका हुन् ।

काठमाडौँमा भर्ना भइसकेका जिल्लाका करिब तीन सय विद्यार्थीले बाँकेका सामुदायिक विद्यालयमा भर्नाका लागि सम्पर्क गरेको निजी तथा आवासीय विद्यालय एशोशियसन प्याब्शन बाँकेका अध्यक्ष ऋषिकेश जिसीले बताउनुभयो ।

विद्यालयमा भर्ना गर्ने अवधि सकिएको र पठनपाठन सुरू भइसकेको जनाउँदै उहाँले बाँकेका कतिपय निजी स्कुलले थप विद्यार्थी भर्ना गर्न नसकिने भन्दै विद्यार्थीलाई फर्काएको बताउनुभयो ।

धेरैले भर्ना नपाएपछि बाँकेका विद्यार्थी सङ्गठनहरूले सबै बिद्यार्थीले पठनपाठन गर्ने वातावरण मिलाउन जिल्ला शिक्षा कार्यालय बाँकेलाई अनुरोध गरेका छन् ।

नेपालगञ्जका नाम चलेका र ठूला निजी स्कुलले कोटा पूरा भएको भन्दै नयाँ विद्यार्थी भर्ना लिन नमानेका कारण बाँकेका सयौँ विद्यार्थी र उनीहरूका अभिभावक अहिले तनावमा रहेका छन् ।

देशमा महाविपत्ति परेको यस्तो बेला समस्या परेकालाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने ठाउँमा केही निजी स्कुलका सञ्चालकले बहाना गरेर विद्यार्थीलाई फर्काउने कार्य गर्नु दुःखद् भएको भन्दै समस्यामा परेका विद्यार्थीलाई सरकारले सहज रूपमा पठन पाठनको व्यवस्था मिलाउनुपर्ने अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले माग गर्नुभयो ।

काठमाडौँ फर्कन नचाहने विद्यार्थीलाई सहज रूपमा पठनपाठनको व्यवस्था मिलाउन प्रयासरत रहेको जिल्ला शिक्षा कार्यालय बाँकेका अधिकृत महेश अधिकारीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना