• ७ वैशाख २०८१, शुक्रबार

सामुदायिक विद्यालयमा यातायात सेवा : पाँच घण्टाको पैदल यात्रा अन्त्य

blog

अमरराज नहर्की 

तनहुँ, साउन ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–५, लाम्दीकी रेखा गुरुङलाई विद्यालय जान सधैँ हतार हुन्थ्यो। कक्षा ९ मा पढ्ने रेखालाई घरबाट विद्यालयसम्म पुग्न करिब २:३० घण्टा र फर्किन पनि त्यति नै समय  हिँड्नुपर्ने थियो। सोही ठाउँकै कक्षा १० पढ्ने मुना गुरुङसँग पनि अर्को विकल्प थिएन। 

यो समस्या रेखा र मुनाको मात्रै होइन वडा नम्बर ५ मा माध्यमिक तहको विद्यालय नहुँदा टाढा धाउनुपर्ने बाध्यता सबैको थियो। गाउँपालिकाले निःशुल्क सवारीसाधनको व्यवस्था गरेपछि अध्ययनका लागि आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न सहज भएको हो। 

नजिक विद्यालय नहुँदा बिहान ७:३० बजेदेखि विद्यालय जान निस्कनुपर्ने बाध्यता अहिले हटेको छ। विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले गाउँपालिकाले दुई वटा जिपको व्यवस्था गरेपछि टाढाबाट आवतजावत गर्ने विद्यार्थी खुसी भएको बताउनुभयो।  गुरुङले भन्नुभयो, “गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको  सुविधाका लागि दुई वटा जिपको व्यवस्था गरेसँगै अब सहज भएको छ।” 

प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा १२५ विद्यार्थीमध्ये ८५ प्रतिशतलाई दैनिक विद्यालयमा आवतजावतका लागि हिँड्नुपर्ने बाध्यता थियो। विद्यर्थाी रेखा गुरुङले जिप सञ्चालनमा भएपछि विद्यालय पुग्न आधा घण्टा पनि नलाग्ने बताउनुभयो। गुरुङले भन्नुभयो, “टाढाको बाटो हिँडेर आउँदा शारीरिक र मानसिक थकानले गर्दा विद्यार्थीको पढाइप्रति रुचि घट्दै जाने समस्याको समाधान भएको छ।” जिपबाट दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । 

विद्यालयका अनुसार वडा नं. ५ र ६ का लागि एउटा/एउटा जिप सञ्चालन गरिएको छ। दुवै वडाका ८० विद्यार्थीले निःशुल्क आवतजावतको सुविधा पाएका छन्।  विद्यार्थी अञ्जान भुजेलले दैनिक पाँच घण्टा पैदलमै खर्चिनुपर्ने अवस्थाको अन्त्य भएसँगै निकै सजिलो भएको बताउनुभयो। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विद्यालय सुधार अभियान अन्तर्गत पालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको बताउनुभयो। बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइन्जेल कन्यादेवीलाई जिप उपलब्ध गराइएको अध्यक्ष चुमानले बताउनुभयो। विद्यालय सुधार अभियान अन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागिएको  गाउँपालिकाले जनाएको छ।    

विद्यार्थी मुना गुरुङ विद्यालय पुग्न गाउँको बाटो, जङ्गली जनावरको भय र जोखिम मोलेर जानु परेको तर अहिले जिपमा यात्रा गर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ। उपाध्यक्ष दुर्गा अर्याल आधारभूत तहसम्म अध्ययन सकेपछि यहाँका विद्यार्थीलाई माथिल्लो तहको शिक्षा लिन निकै पिरलो परेकाले जिप सञ्चालनमा ल्याइएको बताउनुहुन्छ।