शोकलाई शक्तिमा बदल्न आग्रह

नुवाकोट, जेठ ९ गते । अर्थमन्त्री डा. रामशरण महतले सबै शक्ति एकजुट भएर पुनःनिर्माणमा लाग्ने समय आएको बताउनुभएको छ ।

अर्थमन्त्री डा. महतले भूकम्पबाट भएको क्षतिलाई नवनिर्माणमा बदल्न सबै पक्षको सहकार्य जरुरी रहेको बताउनुभयो ।

उहाँले राजनीतिक सहमती असहमतिलाई थाती राखेर विपद्को शोकलाई शक्तिमा बदल्न सबै पक्षसँग आग्रह गर्नुभयो ।

भूकम्प प्रभावित जिल्ला नुवाकोटका विभिन्न गाविसको अवस्था बुझ्न शनिवार यहाँ आइपुग्नुभएका डा. महतले विपद्को अवस्थामा संयमित रहन र एक अर्कालाई सक्दो सहयोग गर्न स्थानीय नागरिकलाई आग्रह गर्नुभयो ।

“राहत पुनःनिर्माण र पुनस्र्थापनाका लागि सरकारी तवरबाट हुनुपर्ने कामहरू भइरहेका छन्”, अर्थमन्त्री डा. महतले भन्नुभयो, “सुख दुःखमा एक अर्कालाई सहयोग गर्नु हामी नेपालीको परम्परा हो, विपद्को यो घडीमा सरकारले के दिन्छ भनेर मात्र नहेर्नुस्, आफूले सक्ने सहयोग आफ्ना वरिपरिकालाई पनि गर्नुहोस् ।”

नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सभासद समेत रहनुभएका अर्थमन्त्री डा. महतले भन्नुभयो, “भूकम्पबाट राष्ट्रिय अर्थतन्त्रलाई नै धक्का पुगेको छ, आर्थिक गतिविधि सुस्त भएको छ, उद्योगधन्दा बन्द व्यापार ठप्प छन् । यसलाई पुनःस्थापना गर्नका लागि समय लाग्छ तर सरकार कटिबद्ध भएर पुनः निर्माणमा लागिरहेको छ ।”

उहाँले अन्तर्राष्ट्रिय सहयोग जुटाएर र नेपालको अन्तरिक स्रोत परिचालन गरेर रु. दुई अर्बको कोषबाट प्रारम्भिक काम सुरु भएको बताउँदै त्यसलाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पुनःनिर्माणका लागि एकद्धार नीति अपनाइने बताउनुभयो ।

“अन्तर्राष्ट्रिय समुदाय र गैरसरकारी संस्थालाई पुनःनिर्माणमा व्यापक रूपले परिचालन गरिनेछ”, डा. महतले भन्नुभयो, “तर पुनःनिर्माण उनीहरूले चाहेको स्थानमा मात्र गर्न दिँदा उनीहरूले सीमित स्वार्थपूर्तिका लागि काम गर्न सक्छन् । त्यसैले सबैलाई एकद्धार प्रणालीमार्फत पुनःनिर्माणमा लगाउनुपर्छ ।”

डा. महतले शनिवार जिल्लाको विदुर ५ माझिटारमा रहेको विपी स्मृती प्रावि भवन पुनःनिर्माणमा जुटेका नेविसङ्घ समर्थित विद्यार्थीको हौसला बढाउनुभएको थियो ।

उहाँले शनिवार नै गेर्खु, वागेश्वरी, लच्याङ, उर्लेनी, नर्जामण्डप लगायत आधा दर्जन गाविसको भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझ्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना