• ७ वैशाख २०८१, शुक्रबार

राजमार्ग विस्तार र सुरुङ मार्ग निर्माणको काम अघि बढ्छ : मन्त्री ज्वाला

blog

पत्रकार सम्मेलनमा मन्त्रालयको कामबारेमा जानकारी गराउनुहुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । तस्विर : केदार तिमल्सिना

केदार तिमल्सिना

काभ्रेपलाञ्चोक, साउन ६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले बीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गरी काम अघि बढाउने बताउनुभएको छ । 

शनिबार समाजवादी प्रेस सङ्गठन काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले आगामी जापान भ्रमणको क्रममा बीपी राजमार्ग विस्तार र सुरुङ मार्ग निर्माणको विषयमा छलफल हुने बताउनुभएको हो । 

“बीपी राजमार्गको धुलिखेलदेखि बर्दिबाससम्मको सडक विस्तार तथा सिन्धुलीको चियाबारीदेखि खुर्कोटसम्म सुरुङ मार्ग निर्माणको विषयमा जापान भ्रमणमा छलफल हुनेछ” मन्त्री ज्वालाले भन्नुभयो । 

उहाँले जापानको सहयोग नियोगले दशमलव ०१ प्रतिशत ब्याजदरमा अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रिया अघि बढाउँदा नेपाल आफैले बनाउने भनेर बजेटको व्यवस्था नगरी सडकको ठेक्का लगाउँदा समस्या उत्पन्न भएको बताउनुभयो । 

“‘बजेटबिना नै अर्बौँको ठेक्का दिइएको छ, आयोजनालाई कसरी अवतरण गर्ने भनेर समस्या परेको छ । त्यसको बाबजुद सडकको कामले तीव्रता पाएको छ । अहिलेको बजेटले जति काम हुन्छ बाँकी कामका लागि रकमान्तर गरेर भए पनि बजेट व्यवस्था गर्छौँ” उहाँले थप्नुभयो । 

मन्त्री ज्वालाले सरकारले सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुतबस सेवा सञ्चालनको तयारी अघि बढाएको बताउँदै नवीकरणलगायतको कामको राजस्व अनलाइनबाट बुझाउने काम पोखराबाट सुरु भएको बताउँदै यो प्रणालीलाई देशभर विस्तार गरिने बताउनुभयो । 

यातायात क्षेत्रको सबै सूचना प्राप्तिका लागि सडक ऐप बनाउने काम सुरु भएको बताउँदै  सहरी यातायात व्यवस्था प्राधिकरणमा खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरिने बताउनुभयो । उहाँले विभिन्न कारणले हालसम्म सडक सुरक्षा विधेयक बनाउने काम अल्झिरहेको जानकारी दिनुभयो । त्यसमा ब्रेक थ्रु गरेर अघि बढ्ने उहाँको भनाइ छ ।