• १५ चैत २०८०, बिहिबार

प्रयोगमा छैनन् ग्रामीण सडक

blog

स्तवृद्धि हुँदै गरेको चिल्खाया सडक । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन ६ गते । २०७४ यता कालीकोटका स्थानीय सरकारले आफ्नो पहिलो रोजाइमा राखेका सडक अहिले दश प्रतिशत मात्र प्रयोगमा छन् । स्थानीय सरकारले सडक विस्तारको कामलाई विकासको सूचीमा राखेका थिए । अहिले तिनै सडक प्रयोगमा नआउँदा उनीहरूलाई नै समस्या परेको छ । जुनसुकै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रमको पहिलो रोजाइमा सडक विस्तार राख्ने गरेका छन् । 

स्थानीय सरकारले गाउँमा खनेका सडक ९० प्रतिशत प्रयोगमा आउन नसक्दा सरकारी लगानी बालुवामा पानी भएको छ । ग्रामीण सडकको ट्याक खोल्ने काम मात्र गरेको स्थानीयको आरोप छ । राष्कोट नगरपालिका वडा नम्बर ४ का गोकर्ण सज्यालले सडक विस्तारपछि त्यसको नियमित मर्मत र स्तर सुधार नहुँदा सडक प्रयोगविहीन हुँदै गएको बताउनुभयो । 

मतदाताको माग र आफ्नो नीति तथा कार्यक्रमलाई सफल पारेको देखाउन डोजर लगाएर सडक विस्तार गर्दा ग्रामीण सडक प्रयोगमा आउन नसकेका हुन् । 

अघिल्लो सरकारले ट्याक खोलेका सडक अहिलेसम्म मर्मत हुन सकेको छैन। अन्यत्रका सडक मर्मत भए पनि यो सडकप्रति नगरपालिकाले समेत चासो नदिएको उपभोक्ताको गुनासो छ । राष्कोट ३ का पङ्खबहादुर फडेराले सडक मर्मत नभएका कारणले बिरामीलाई डोकोमा बोकेर ल्याउनु परेको बताउनुभयो । 

उता तिलागुफा नगरपालिकाले भने ग्रामीण सडक सुधार गरिरहेको छ । तिलागुफा नगरपालिका वडा नम्बर ९, १० र ११ को मूल सडक मर्मत भइरहेको छ । नगर उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७९/०८० को भदौ असोजबाटै सडकमर्मत तर्फ जोड दिएको बताउनुभयो । 

उहाँले सुरुको कार्यकालमा सबै तिर सडक पुगाउने र बिस्तारै मर्मतको काम अगाडि बढाउने लक्षका साथ काम भइरहेको दाबी गर्नुभयो । तिलागुफा नगरपालिकाले ग्रामीण सडकमा नाला बनाउने, निकै पानी जम्ने र हिलाम्मे हुने सडक खण्डमा ग्राबेल गर्ने, हेमपाइप राख्ने काम सुरु गरेको छ । तिलागुफा नगरपालिकाले भित्रका वडा नम्बर ४ देखि ३ जोड्ने सडक, नाग्मदेखि वडा नम्बर १ को कार्यालय जाने बजेरी सडक, भैसिगौडा रुडुबञ्चु सडकमा नाला बनाउने, आवश्यक परेको ठाउँमा ग्रोबेल गर्ने काम गरेको छ । जिल्लाका अरू स्थानीय तहले आफ्नो पालिका जोड्ने मूल सडक बाहेक अरू गाउँ जोड्ने सहायक सडकतर्फ ध्यान दिएका छैनन् । 

उनीहरूले सहायक सडकतर्फ ध्यान नदिँदा ९० प्रतिशत सडक जिल्लामा प्रयोगविहीन छन् । अस्तव्यस्त सडकका कारणले नागरिकले दुःख पाइरहेका छन् । स्थानीय सरकारले ग्रामीण सडकको समयमा मर्मत सुधार नगरे पहिरो र बाढीले ठुलो क्षति हुने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले पनि ट्याक खोलेका सडकको समयमा मर्मत गर्न सुझाव दिएको छ । विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जोरासिह माझीले ग्रामीण सडकतर्फ विशेष चासो दिन बैठकमै छलफल गरेको बताउनुभयो ।