ब्रेन गेन सेन्टर थालनीमै उत्साहजनक सक्रियता

चाँदनी हमाल

काठमाडौँ, असार ५ गते । डा. श्याम शर्मा अमेरिकाको स्टोनी बुकस्थित स्टेट युनिभर्सिटी अफ न्युयोर्कमा अध्यापन गर्नुहुन्छ । विदेशमा बसे पनि आफ्नो देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी उहाँभित्र थियो । तर कसरी र के गर्ने भन्ने भेउ पाउनुभएको थिएन उहाँले । त्यसै क्रममा गत वैशाख २४ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एउटा आह्वान गर्नुभयो । ‘ब्रेन गेन सेन्टर’ (बीजीसी)मा आबद्ध उहाँले विश्वभर छरिएर बसेका नेपालीलाई बे्रन गेन सेन्टरमा आबद्ध हुन आह्वान गर्नुभयो । सो आह्वान डा. शर्माले पाउनुभएपछि उहाँले परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको बीजीसी (ब्रेन गेन सेन्टर)को डाटाबेस (डब्लू डब्लू डट मोफा डट जीओभी डट एनपी÷बीजीसी)मा सम्पर्क गर्नुभयो । यसमा विदेशमा रहेका इच्छुक नेपाली विज्ञले आफ्ना सूचना उपलब्ध गराई काम गर्ने इच्छा जाहेर गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
“आफ्नो अनुभव साट्ने अवसर खोज्दै हुनुहुन्थ्यो, हामीले ठाउँ खोजिदियौँ”, ब्रेन गेन सेन्टरका फोकल पर्सन मोती श्रीसले भन्नुभयो, “अघिल्लो हप्ता मात्रै उहाँले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ मोडल कलेजमा आफ्नो
ज्ञान बाँड्नुभयो । ” brain
श्रीसका अनुसार उहाँले शिक्षणका नयाँ अवधारणा साटासाट गर्दै तालिमसमेत दिनुभयो । दक्षिण एसियाली क्षेत्रका अन्य देशमा समेत यही मञ्च उपयोग गर्दै उहाँले अध्ययन अनुसन्धानका विषयमा तालिम प्रदान गर्ने अवसर पाउनुभयो ।
उहाँले जस्तै मोर्गान युनिभर्सिटीमा अध्यापन गर्दै आउनुभएका प्राध्यापक उत्तम गौलीले पनि नेपालमा आफ्नो अनुभव साट्ने चाहना व्यक्त गर्दै बेवसाइटमा विवरण भर्नुभयो । उहाँलाई पनि नेपाल आउँदाको समय उपयोगी ज्ञान सीप हस्तान्तरण गर्ने मेसो ब्रेन गेन सेन्टरले दिलायो । उहाँले नेपालमा उच्च शिक्षाको अवस्था थाहा पाउन ब्रेन ड्रेन अनलाइन सर्वेक्षण सुरु गर्नुभएको छ ।
यति बेला ब्रेन गेन सेन्टरमा उहाँहरूजस्तै आफ्नो दक्षता नेपालमा पोख्न विदेशमा रहेका नेपाली विज्ञहरू आतुर देखिन्छन् । जेठ १७ देखि औपचारिक रूपमा सञ्चालन भएको ब्रेन गेन सेन्टरमा हालसम्म ५९२ जना विदेशमा रहेका नेपाली विज्ञले आफ्नो जानकारी उपलब्ध गराइसकेका छन् । “स्वदेशका लागि कुन क्षेत्रमा, के गर्न सक्ने हो भन्ने प्रस्ट भएपछि विषयगत क्षेत्रमा परिचालन गरिन्छ”, श्रीसले थप प्रस्ट्याउनुभयो, “विदेशमा पसिना खर्चे पनि देशका
लागि केही गरौँ भन्नेले ब्रेन गेन सेन्टरमार्फत आफ्नो पहिचान देशमा पनि बनाउन सक्छ । ”
उहाँका अनुसार आर्थिक रूपले सहयोग वा भौतिक रूपमा पुरस्कृत गर्ने सेन्टरको कुनै योजना छैन । यसरी काम गर्दाको आत्मसन्तुष्टि र ज्ञान हस्तान्तरणको खुसीको तुलना पैसासँग गर्न नमिल्ने श्रीस बताउनुहुन्छ । उहाँका अनुसार जसले काम गर्नुभएको छ, उहाँले देशले दिएको यो बाटोको प्रशंसा गरिरहेका छन् । कुनै स्रोतसाधनबिना देशमा आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान पाउनु नै ठूलो भएको सम्पर्कमा आउनेले बताउने गरेका छन् ।
दर्ता भएकाले आफूजस्तै विदेशमा रहेका विज्ञलाई जानकारी दिइरहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार यसरी दर्ता हुनेको सङ्ख्या एक हजार जना पुगेलगत्तै विशेष क्षेत्र पहिचान गरी जुन निकायका लागि उपयुक्त हुन्छ, त्यसका लागि विज्ञताको प्रयोग गर्न सिफारिस गरिने तयारी भइरहेको छ ।
विशेष गरी सरकारले ल्याएको थिङ्क ट्याङ्कको अवधारणा, राष्ट्रिय नीति प्रतिष्ठान र राष्ट्रिय योजना आयोगलाई व्यक्तिको विज्ञाताको जानकारी उपलब्ध गराउँदै भरपूर उपयोग गर्ने बाटो देखाउने श्रीसले जानकारी दिनुभयो । नीति निर्माण, देशको जनशक्तिको क्षमता विकास, प्रविधि र पुँजीको लगानी र विकासका परियोजनामा सोझै यसरी पहिचान गरिएका विज्ञको परिचालन गर्ने योजना छ ।
यसरी विदेशमा छरिएका नेपाली विज्ञको वास्तविक पहिचान हुनेसँगै तिनको प्रवद्र्धन, एकअर्कासँग जोड्ने सञ्जाल, परिचालन र पुरस्कृत गर्ने लक्ष्य अभियानले लिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । “सुरुआती अवस्थामा छ तर उत्साहजनक रूपमा अगाडि बढेको छ”, पौडेलले भन्नुभयो, “यसरी जम्मा भएको विज्ञता नेपालको उन्नतिमा लगाउने हो । ”
दर्ता भएकामध्ये सबैभन्दा बढी उच्च शिक्षाको क्षेत्रसँग आबद्ध विज्ञ छन् । उच्च शिक्षा नेतृत्वतर्फ एक सय, अध्ययन अनुसन्धानका लागि एक सय, औद्योगिक कामका लागि एक सय, गैरसरकारी संस्थामा काम गर्न चाहने एक सय, सरकारी निकायसँग काम गर्न चाहने ७६ र राजनीतिक क्षेत्रसँग आबद्ध भएर काम गर्न चाहने इच्छा १६ जनाले जनाएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds