• ११ वैशाख २०८१, मङ्गलबार

लोक सांस्कृतिक पहिचान बोकेको गल्कोट

blog

बागलुङ जिल्लाको गल्कोट सुपरिचित ठाउँ हो। ऐतिहासिक, सामाजिक एवं भौगोलिक हिसाबले यो ठाउँले महत्व राख्छ। मध्य पहाडी राजमार्गले गल्कोटलाई छिचोली पश्चिमतर्फ जाने भएकाले रुकुम, रोल्पातर्फ ओहोर दोहोर गर्न यहाँबाट सहज भएको यहाँका स्थानीय बताउँछन्। गल्कोट हटियाको बि एन्ड बि होटेलको आफ्नै पहिचान रहेछ। केही समयअघि अधिवक्ता कृष्ण शर्मा, महेन्द्र लम्साल र पक्तिकारसमेत करिब एक साता जति त्यहाँ बस्ने अवसर जुटेको थियो। यो अवसर जुटाइदिने गल्कोट नगरपालिका परिवार तथा उपमेयर फमलाल न्याउरेलाई धन्यवाद दिनै पर्छ। सन्दर्भ थियो, नगरपालिकाको न्यायिक समितिको क्षमता अभिवृद्धिसँग सम्बन्धित प्रशिक्षण कार्यक्रम र हामीहरू प्रशिक्षकको हैसियतमा नगरपालिकाको आमन्त्रणमा त्यहाँ पुगेका थियौँ। 

भक्त मगर र कौशिल्या मगरको जोडीले करिब एक दशकदेखि सञ्चालित यो बुढाबुढी बि एन्ड बि होटेलको संरचना र सुविधा सामान्य प्रकृतिको भए पनि यहाँको सौहार्द आतिथ्य पूर्ण सत्कार अविस्मरणीय लाग्यो। त्यसैले होला राजनीतिक दलका नेता, सरकारी कर्मचारी एवं आमग्राहक सबैको रोजाइमा यो होटेल पर्दोरहेछ। नेपाली लोकगीत गायिका देवी घर्ती मगरका सहोदर दाजु भक्त मगरलाई गल्कोटको इतिहास, संस्कार एवं संस्कृतिकोबारे यथेष्ट ज्ञान रहेछ। यसैले पनि हाम्रो त्यहाँको बसाइँ फलदायी रहेको अनुभव भयो। भक्तले आफैँ होटेलको भान्सा व्यवस्थापन गर्ने र पाहुनाको रुचि र स्वादबमोजिमको खाना खुवाउने भएको हुनाले पनि बि एन्ड बि प्रति ग्राहकको आकर्षण रहेको देखिन्छ। गल्कोटको बारेमा धेरै सुनेको र त्यहाँ पुग्ने मौका पहिलो पटक पाएकाले यहाँको बारेमा जान्ने मेरो उत्सुकता थियो। त्यसैले भक्तजीसँग कुराकानी गर्ने मौका छोप्दथे। यसै गरी, गल्कोट नगरपालिका न्यायिक समितिका सदस्य तथा शालीन व्यक्ति खिम शाहनीसँगको कुराकानीबाट पनि मैले गल्कोटको बारेमा केही जानकारी लिए। खिम शाहनीले हामीलाई गल्कोट दरबार, गाईघाटको छहरा, यहाँको महत्वपूर्ण खुला मूर्तिकला सङ्ग्रहालय जस्ता दर्शनीय ठाउँ आफ्नै अगुवाइमा देखाउने कार्य गर्नुभयो। ११ रोपनी क्षेत्रफलमा फैलिएको मूर्तिकला सङ्ग्रहालय देशकै महत्वपूर्ण दर्शनीय स्थान रहेछ। 

विभिन्न १० वटा देशका १५ जना मूर्तिकारले कुँदेका विभिन्न आकृतिका ढुङ्गाका मूर्तिहरूको व्यवस्थापन गरिएको यो ठाउँ गल्कोट नपा वडा नं. ५ को ठेउवामा पर्छ। ठेउवाबाट बागलुङका अधिकांश स्थानका साथै गुल्मी, अर्घाखाँचीसम्म देख्न सकिन्छ यसको विकास र प्रवर्धनको काम गल्कोट कला प्रतिष्ठानले गर्दछ र यसको नेतृत्व भूपू संविधान सभा सदस्य क्या. पूर्णबहादुर रानाले गर्नुभएको छ। बागलुङ जिल्लाकै प्रसिद्ध एवं सबैभन्दा अग्लो घुम्टे पहाडको काखमा अवस्थित यी स्थान प्रकृति र संस्कृतिको सङ्गम स्थलको रूपमा रहेको छ। करिब २००० मिटर अग्लो भागमा अवस्थित ठेउवाको ठिक माथि घुम्टेको शिखर छ। जसको उचाइ करिब ३,६०० मिटर भएको बताइन्छ। यो स्थानमा विश्वका कीर्तिमानी मूर्तिकारलाई आमन्त्रण गरी यहाँ उपलब्ध ढुङ्गामा विभिन्न प्रकृति र आकृतिका मूर्ति कुद्न प्रेरित गर्ने काम गल्कोटका कीर्तिमानी मूर्तिकार ओम खत्रीले गर्नुभएको छ। उहाँ देश तथा विदेशमा कीर्तिमानी मूर्तिकार हुनुहुन्छ। 

घुम्टेको चुलीमासिद्ध र भैरव देउताका दुई प्रसिद्ध मन्दिर छन् वैशाख पूर्णिमा यहाँ ठुलो मेला लाग्छ। घुम्टेमा महत्वपूर्ण जडीबुटी पाइन्छन्। गल्कोटको मात्र नभई पहिलो पटक जिल्लाकै महत्वपूर्ण घुम्टेले यस क्षेत्रको इतिहास, सामाजिक परिवेश र लोकसंस्कृतिको उत्थानमा ठुलो महत्व राख्छ। घुम्टेको नेपालकै लोक गीत र लोक गायनमा ठुलो प्रभाव पारेको छ। देवी घर्तीलगायतका थुप्रै यस क्षेत्रका लोक कलाकारका सिर्जनामा घुम्टेको महिमा गायन गरिएको छ। लोक गायनका क्षेत्रमा बहुचर्चित कलाकार प्रकाश सपुत, स्वर्गीय निशा छन्तेल, विष्णु खत्री, रेसम निर्दोष, थानेश्वर गौतम, दुर्गेश थापा आदि यसै भेगबाट आएका कलाकार हुन्। लोक गायनमा गल्कोटको ख्यातिले गर्दा यहाँको ढुङ्गा, माटो र पानीमा समेत गायन प्रतिभा छ भन्ने आमभनाइ छ। 

गल्कोटको हरिचौर पहिलो पटक जिल्लाको पुरानो सदरमुकाम थियो। जिल्लाकै केन्द्र भागमा पर्ने हुनाले सदरमुकामकै लागि पनि यो उपयुक्त थियो भन्ने धेरैको भनाइ छ। तर विसं. २०१८ मा यसलाई हालको पहिलो पटक बजारमा स्थानान्तरण गरियो। राज्यको पुनः संरचना गरी सङ्घीय राज्य निर्माण गर्ने सिलसिलामा पहिलो पटक जिल्लालाई पूर्वी र पश्चिमी बागलुङमा विभाजन गरि गल्कोटसहितको पश्चिमी भागलाई कर्णाली प्रदेशमा गाभ्ने प्रस्तावको व्यापक प्रतिरोधपश्चात् फिर्ता लिइएको थियो। अहिले यातायातको सहज पहुँचले पश्चिमी र पूर्वी बागलुङको बिचको दुरी एकदमै कम भएको छ, भौगोलिक विकटता एकदमै कम छ। अहिले बागलुङ बजारबाट करिब डेढ दुई घण्टामा गल्कोट पुगिन्छ। हटिया बजार माथि रहेको गोलो डाँडामा रहेको गोलाकार कोटका कारण यसको नाम गल्कोट रहन गएको भन्ने भनाइ रहेको छ। 

गल्कोटको त्यो बेलाको पर्वत राज्यसँग बलियो सम्बन्ध रहेको थियो। पर्वत राज्यका पाचौँ राजा नारायण मल्लले विसं १६३१ मा आफ्ना जेठा छोरा जितारि मल्ललाई अंश स्वरूप दिएपछि गल्कोट राज्यको स्थापना भएको थियो भन्ने भनाइ छ। अङ्ग्रेज इतिहासकार कर्क प्रटिक र हेमिट्रनका नेपालका सम्बन्धमा अङ्ग्रेजी भाषामा लेखिएका महत्वपूर्ण कृतिमा समेत गल्कोटको चर्चा गरिएको पाइन्छ। जितारी मल्लका सन्तान राजा जगत् बम मल्लका सन्तान भरत बम मल्लले गल्कोट दरबारलाई जिर्णोदार गरेका थिए। भरत बम मल्लको निधन भएको करिब चार दशक भइसकेको छ। नेपालको संविधान २०७२ बमोजिम गठित स्थानीय पुनर्संरचना आयोगले नरेठाटी, हटिया, हरिचौर, काडेबास, पाण्डवखानी, रिघासमेतका गाविस समेटी गल्कोट नगरपालिकाको स्थापना गरिएको थियो।

गल्कोटमा बजारीकरण तीव्र रूपमा भइरहेको छ। करिब ४० हजार जनसङ्ख्या भएको यस नगरपालिका भई बग्ने दराम र गेदी खोलाका फाँट एवं पखेरामा ठुला घरहरू ठडिइरहेका देखिन्छ। यति ठुला र महँगा घरको निर्माण र उपयोगको अवस्था बारेमा कुरा गर्दा यी सबै जापानलगायत अन्य देशमा आप्रवासी युवालाई पठाएको विप्रेषणबाट बनेका घर हुन्। गल्कोट नगरपालिकाभित्रका सरदर एउटा घरबाट एक जना विदेश नगएको अवस्था छैन। छोराछोरी बाहिर गएनन् विप्रेषण (रेमिट्यान्स) आउँदैन भन्ने त्यो घर परिवारले छरछिमेकबाट सहयोग र ऐँचो पैँचोसमेत नपाउने एक जना स्थानीय शिक्षकले बताउँछन्। त्यसैले बाध्य भएर उनले आफ्नो कलिलो उमेरको पढ्दै गरेको छोरालाई जापान पठाए, उनी भन्छन्। यही प्रकारको आशय बि एन्ड बि होटेलका भक्त मगर बताउनुहुन्छ। उहाँको एउटा छोरा अमेरिका छन् र अर्को छोरा पनि क्यानडा उड्ने तयरीमा छन्। 

स्थानीय बजारका ससाना व्यापार, खुद्रा श्रमका काम गर्न नचाहने र लहैलहैमा विदेश जाने भुत सवार युवा जनशक्ति जबर्जस्त चढेको छ, वडा नं. ३ का वडा सदस्य खिम शाहनी बताउनुहुन्छ। यहाँका स–साना कामसमेत छिमेकी मुलुक भारतबाट कामदार आएर सम्हालेका छन् र प्रशस्त आमदानी गरेको देखिन्छ तर स्थानीय युवाहरू विदेशमा गई जस्तोसुकै सास्ती बेहोर्न तयार छन्, उहाँ बताउनुहुन्छ। 

उर्बर, उब्जाउशील गल्कोटमा अहिले श्रम गर्ने जनशक्ति बाहिर गएकाले कृषि उत्पादनमा लाग्ने जनशक्तिको सर्वथा अभाव छ। काम गर्न नसक्ने अशक्त वृद्धवृद्धा मात्र घर कुरेर बस्ने गर्दछन्। स्थानीय उत्पादनको अभावका कारण तरकारी अन्नपात सबै बाहिरबाट आउँछ। त्यसैले यहाँ धेरै महँगो छ। यहाँको घर घडेरी पनि अस्वाभाविक ढङ्गले महँगो बनाइएको छ। ऐतिहासिक गल्कोट पर्यटन विकासको महत्वपूर्ण थलो हो। यहाँको मूर्तिकला सङ्ग्रह, घुम्टेको लेक, हरिचौर जस्ता सुन्दर बस्ती गल्कोटका पर्यटनको आकर्षण हुन् सक्छन्, संविधान सभा सदस्य क्या. पूर्णबहादुर बताउनुहुन्छ। यसका लागि सरकारको ध्यान जान आवश्यक छ। यसका लागि लोक सङ्गीत र संस्कृतिको धनी गल्कोटमा हरेक वर्ष राष्ट्रिय लोकगीत महोत्सव आयोजना गर्न सकिन्छ। 

  

Author

मुक्ति रिजाल