• ८ वैशाख २०८१, शनिबार

धर्म र पर्यटनलाई जोड्दै च्यवनधाम

blog

गण्डकी, साउन ५ गते ।
“नाम हो यिनको सेती सेतै छ यिनको जल ।
नेपाली जनता राख्छन् कामले नाम गौरव ।।
दूधकी विश्वमा यौटी नदीको सिर्जना गरी ।
पाए आशिक ब्रम्हाले बाँची राख्ने जुगौँभरि ।।”

शुक्लागण्डकी (सेती गण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्लागण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो । जनजिब्रोमा सेती नदीका रुपमा रहेको यस जलाशयलाई पूर्वीय धर्मशास्त्रमा पवित्र तीर्थस्थलका रुपमा लिने गरिएको छ । शुक्ला गण्डकी नदी र यससँग जोडिएका सभ्यतासँग नदी किनाराका विभिन्न धामहरूको चर्चा पनि उत्तिकै महत्त्वपूर्ण  छ ।

तीनै धामहरूमध्येको एक हो शुक्लागण्डकी किनारको मुक्तिनाथ च्यवनधाम । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीको नजिकै रहेको मुक्तिनाथ च्यवनधाम विगत एक दशकयता यस क्षेत्रकै महत्त्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास हुँदै गएको छ । स्थानीयवासीको सक्रियतासँगै स्थानीय तथा प्रदेश सरकारको समेत प्राथमिकता परेसँगै यो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो ।

वर्षौंदेखि सेती नदीले कटान गरेको भूगोल र ढुङ्गाका कारण विगतमा हिँडडुल गर्दासमेत त्रसित हुनुपर्ने अवस्थामा स्थानीय सक्रियता, स्थानीय तह एवम् प्रदेशको सहयोगमा यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । परापूर्वकालमा यसै स्थानमा च्यवन ऋषिले तपस्या गरेको विश्वासका आधारमा यस स्थललाई च्यवनधामका रुपमा विकास गर्न खोजिएको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालले बताउनुभयो ।

कालीगण्डकीको बगरैबगर भएर पुग्न सकिने हिमाल पारीको जिल्लास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरकै स्वरुपमा यस स्थलको विकास गर्न लागिएको कारण पनि यसको महिमा र गरिमा अझै चुलिंदै गएको छ । मुक्तिनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा लिने गरिए जस्तै यस धामलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा विकास गर्न खोजिएको छ ।

धामको जग्गा संरक्षणका लागि २०६५ सालदेखि नै स्थानीयवासीले सामूहिक सक्रियता देखाएका थिए । २०६७ सालमा ऋषिगुरु श्रीराम पौडेलले स्थानीयवासीसँग आफू मुक्तिनाथमा गएर ध्यानमा बस्दा उक्त स्थान तपोभूमिका रुपमा पाएको बताउनुभएछ । गुरुले ध्यानका क्रममा पाएको अनुभव, यहाँको वस्तुस्थिति आदिका कारण यस धाममा मन्दिर निर्माण गर्ने सोच बढेको र त्यसकै जगमा महायज्ञ गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउने लक्ष्यका साथ २०६७ चैत १० गतेदेखि १७ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट एक करोड ४१ लाख रुपियाँ सङ्कलन भएको थियो । सङ्कलित रकमबाट शुक्लेश्वर महादेव मन्दिर, च्यवन गुम्बा, वृद्धाश्रमको भवन, मोक्षकुण्ड आदि पूर्वाधारहरू निर्माण गरिएको उहाँले बताउनुभयो ।

परिसरमा अहिले शुक्लेश्वर महादेवको मन्दिरसँगै बरपर सूर्य, विष्णु, दुर्गा र गणेशका मन्दिरहरू निर्माण गरिएको छ । यी मन्दिरहरूसँगै मुक्तिनाथकै अनुभूति हुने गरी एक सय आठ धारा र त्यस माथि निर्माण गरिएको अन्नपूर्ण हिमशृङ्खलाको दृश्य मनमोहक बनेको छ । हिम शृङ्खलासहित एक सय आठ धारालाई व्यवस्थित गर्नका लागि तीन वर्षअघि गण्डकी प्रदेश सरकारले २२ लाख रुपियाँ सहयोग गरेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

धाममा आउने दर्शनार्थीले एक सय आठ धाराको जलले स्नान गर्न पाउनुका साथै एक सय आठ पीपलको रुख, एक सय आठ शिवलिङ्गको दर्शन र परिक्रमा गर्न पाउने व्यवस्था मिलाइएको छ । पछिल्लो दशकमा तनहुँ र कास्की आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको समितिका सदस्य सन्तोष सापकोटाले जानकारी दिनुभयो । यस धाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माष्टमी, बाला चतुर्दशी, शिवरात्री लगायतका महत्त्वपूर्ण तिथि र पर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

समितिले हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर जान चाहेर पनि विभिन्न कारणले नसकेका दर्शनार्थीलाई यही नै मुक्तिनाथको स्वरुपमा अनुभूति गर्ने गरी पूर्वाधार विकास गर्दै पूजाआजा गर्ने व्यवस्था मिलाएको सापकोटाले बताउनुभयो । च्यवनधामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआजा गरेसँगै सन्तान नभएका दम्पतीलाई सन्तान प्राप्ति हुने जनविश्वास यहाँको अर्को विशिष्टता हो । सन्तान प्राप्ति नभएकालाई सन्तान प्राप्ति हुने र भएका सन्ततिलाई राम्रो हुने विश्वासका कारण पनि यहाँ टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् ।

धामकै संरक्षणमा गौ संरक्षण केन्द्र
मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामकै संरक्षणमा गौ संरक्षण केन्द्र सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–९ भरेतरामा रहेको गौं संरक्षण केन्द्रको व्यवस्थापनको जिम्मा मुक्तिनाथ शुक्लागण्डकी धामले गर्न थालेको हो । यसअघि शुक्लागण्डकी नगरपालिका आफैँले सञ्चालन गरेको गौं संरक्षण केन्द्र सुधार गर्दै त्यसलाई थप व्यवस्थित बनाउने गरी धामले जिम्मेवारी लिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । “गत चैत २२ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार अब गौ संरक्षण केन्द्र धामकै संरक्षणमा रहनेछ”, उहाँले भन्नुभयो, “हाल गौ संरक्षण केन्द्रमा १३७ वटा गाईको संरक्षण गरिँदै आइएको छ ।”

सेती नदी पारी घारीमा रहेको गौ संरक्षण केन्द्र र च्यवनधामलाई गोकुल र मथुराका रुपमा विकास गर्ने दीर्घकालीन सोचसँगै सेती नदीमाथि धार्मिक पुलको व्यवस्था गर्नका लागि पहल बढाइएको लम्सालले जानकारी दिनुभयो । यस अघिसम्म नगरपालिकाले पूर्णरुपमा व्यवस्थापनको जिम्मेवारी लिएको गौशालालाई थप व्यवस्थित गर्ने गरी अघि बढाइएको बताउँदै लम्सालले विभिन्न सहयोगी दाताबाट गाईहरूका लागि चोक्करलगायत खाद्यान्नहरू सहयोग आउने गरेको जानकारी दिनुभयो ।

गाईहरूको संरक्षणका लागि नगरपालिकाबाट दुई जना कर्मचारीको व्यवस्था गरिएको छ । हिन्दू धर्ममा गाईलाई लक्ष्मीका रुपमा पूजाआजा गर्ने तथा प्रत्येक पूजाआजा, जन्म मृत्यु संस्कारमा गाईको दूध, दही, घिउ, गहुँत, गोबर अपरिहार्य मानिन्छ ।

धामलाई पदयात्रा पर्यटनसँग पनि जोडिँदै
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) सँग च्यवन धामलाई जोडिने भएको छ । यस अघि यही नजिकैको रक गार्डेन पदमार्गको नक्सामा समावेश भएकोमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले यस धामलाई यसपटक नक्सामा समावेश गर्न लागेको समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।

“च्यवनधामको धार्मिक तथा पर्यटकीय महत्त्वलाई मिलेनियम ट्रेकको पदयात्रासँग पनि जोड्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो, “दुलेगौँडाबाट सुरु हुने पदयात्रा च्यवन धामको दर्शन एवम् अवलोकनसँगै ‘रक गार्डेन’ सुरु गराउने योजना छ ।”

दुलेगौँडाबाट सुरु हुने मिलेनियम ट्रेकको कुल ७२ किलोमिटर दूरी पदयात्रा गरेर पूरै पार गर्न करिब एक साता लाग्छ । नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यो पदमार्गमा जुनसुकै मौसम र जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने भएकोले स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बढिरहेको महासचिव गुरुङले जानकारी दिनुभयो ।

च्यवनधामको धार्मिक महत्त्वलाई उजागर गर्न समितिको सक्रियतामा विभिन्न धार्मिक अनुष्ठानलाई पनि निरन्तरता दिँदै आइएको छ । दैनिक रुद्री, हवन आदि अनुष्ठानहरू सञ्चालन गरिँदै आएको धाममा प्रत्येक वर्ष साउन महिनामा शिव महिमा बोलबम महोत्सवलाई निरन्तरता दिँदै आइएको सदस्य सापकोटाले बताउनुभयो ।

यस वर्ष पनि साउन ८ गते सोमबारदेखि १५ गतेसम्म भागवत मञ्जरी राधिका दासीजी महाराजबाट शिवलीला झाँकीसहित शिवपुराण कथा प्रवचन गरिने भएको उहाँले बताउनुभयो । महायज्ञमा सङ्कलित दान रकम मध्येको बचत रकमबाट शव दहन गृह, गुरुकुल निर्माण, सामाजिक भवन निर्माण आदिमा खर्च गरिने जनाइएको छ । बचतमध्येको ५० प्रतिशत रकम गौ संरक्षण केन्द्र सञ्चालनका लागि खर्च गरिने जनाइएको छ ।

भक्तजनका लागि धर्मशाला निर्माणको प्रयास
अध्यक्ष लम्सालका अनुसार धाममा आउने दर्शनार्थीहरूको सुविधालाई लक्षित गरी धर्मशाला निर्माण गर्ने सोच बढाइएको छ । धाम परिसरमा वृद्धाश्रम पनि सञ्चालनमा आएको छ । देशका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई आएर बस्नसक्ने तथा पकाएर खानसक्ने गरी पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको हो ।

धाम परिसरमा हाल ३७ रोपनी जग्गा मन्दिरबाट नै भोगचलन भइरहेको जानकारी दिँदै उहाँले मन्दिर रहेको कित्तामा १६८ रोपनी रहेको र त्यसको संरक्षणलाई जोड दिइएको बताउनुभयो । मन्दिर परिसरलाई सुरक्षित गर्नका लागि घेराबार गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ । रासस