• ७ वैशाख २०८१, शुक्रबार

सुन प्रकरणबारे बुझ्न गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालयमा

blog

सुन प्रकरणबारे बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्नुभएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली । तस्बिर : सुजन गुरुङ

काठमाडौं, साउन ५ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्नुभएको छ ।

भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले विमानस्थलबाट बुधबार राति करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन शुक्रबार गृहमन्त्री विमानस्थलस्थित भन्सार कार्यालय पुग्नुभएको जानकारी दिनुभयो ।

सूचना अधिकारी खड्काका अनुसार गृहमन्त्रीसहित नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजस्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् ।

यसैबीच भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । सूचना अधिकारी खड्काले भन्सार अधिकृत, खरिदा र भन्सार एजेण्टलाई शुक्रबार निलम्बन गरेको जानकारी दिनुभयो ।

यसैगरी, सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक लिङ चुवानसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छ सदस्यीय छानबिन समिति गठन गरेको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वको टोलीले यसबारे छानबिन गरिरहेको छ ।