• ७ वैशाख २०८१, शुक्रबार

सुन तस्करीमा त्रिदेशीय सञ्जाल

blog

विश्वास रेग्मी/अशोक अधिकारी

काठमाडौँ, साउन ५ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी परिमाणमा सुन बरामद भएपछि अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल नेपालसँगै चीन र भारतमा फैलिएको खुलेको छ । भन्सार छलेर भित्र्याएको सुन फेला परेलगत्तै नेपालीसँगै चिनियाँ र भारतीय नागरिक पक्राउ परेपछि अन्तर्राष्ट्रिय गिरोहले नेपालको बाटो प्रयोग गरेर सुन निकासी पैठारी गर्ने गरेको खुलेको हो । 

सुन बरामदसँग र त्यसपछि पनि गरी सो घटनामा संलग्न भएको आशङ्कामा चिनियाँ नागरिक ली जिकुयन, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, दोलखा मेलुङ– ३ का रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ का हर्कराज राई र ट्याक्सीचालक अशोक लामालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । 

पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । ३२० वटा ब्रेकसु भित्र लुकाएर तस्करी गर्न लागिएको सुन बाहिर निकालेर यकिन गर्न विभागले उक्त ब्रेकसु राष्ट्र बैङ्क पठाएको छ । 

तस्करीबाट नेपाल भित्रिएको उक्त सुन अलग गरी तौल गर्न बाँकी रहे पनि बरामद  परिणाम हालसम्मकै ठुलो हुन सक्ने विभागको अनुमान छ ।

हङकङबाट तस्करीमार्फत भित्र्याइएको सुन रेडी ट्रेड प्रालिका नाममा भित्रिएको खुलेपछि कहाँ पु-याउन लागिएको थियो भन्ने खुल्न बाँकी नै छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले हङकङबाट आएको भनेपछि अन्तर्राष्ट्रिय गिरोहको संलग्नता स्वाभाविक रूपमै देखिने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य रूपमै बुझ्दा पनि हङकङबाट ल्याइएको छ, त्यसमा पनि तीन देशका नागरिक संलग्न हुनुले अन्तर्राष्ट्रिय गिरोहको संलग्नता स्वाभाविक नै हो ।”

उहाँले नेपाल भित्रिएको सुनका विषयमा विभिन्न कोणबाट अध्ययन गरिरहेको बताउनुभयो । उहाँले ‘मोबिलिटी कस्तो हुन्छ र संलग्नता कस्तो र ककसको छ भन्ने विषयमा हामी अनुसन्धानकै विषयमा छौँ’ भन्नुभयो । उहाँले विभागका निर्देशक विनोद लामिछानेको नेतृत्वमा अनुसन्धान टोलीले काम थालेको बताउनुभयो । 

उहाँले पक्राउ परेका चिनियाँ नागरिकको बालुवाटारस्थित गोदाममा छापा मारिएको र सिल गरिएको बताउनुभयो ।  नेपालमा सुनचाँदीको बजार सुस्ताएका बेला ठुलै परिमाणको सुन बरामद भएपछि सम्बन्धित क्षेत्र र सुरक्षा निकायका अनुसन्धानमा सक्रिय उच्च अधिकृतहरूले पनि अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल र कर्मचारीकै मिलेमतोमा सुन तस्करी गर्न नेपाललाई ट्रान्जिट बनाएको बताउनुभयो । 

राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाइकल र स्कुटरको ब्रेकसु भनेर भित्र्याइएको सुन बरामद गरेको छ । बरामद सुन र अन्य सामग्री विभागले नेपाल राष्ट्र बैङ्कमा बुझाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएपछि राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले नै निजी सचिवको जिम्मेवारीमा रहेका नवराज ढुङ्गानालाई राजस्व अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी दिइएको थियो । प्रधानमन्त्री कार्यालयकै मातहतमा रहेको विभागले सुन तस्करी गर्ने अन्तर्राष्ट्रियको गिरोहका सदस्यलाई अहिलेसम्म बरामद भएका मध्ये सर्वाधिक परिमाणको सुनसहित नियन्त्रणमा लिन सफल भएको हो । 

बाकससहित १५५ किलो 

विभागले नेपाल राष्ट्र बैङ्कमा बुझाएको सुन, ब्रेकसु बाकससमेत नापजाँच गरेको छ । राष्ट्र बैङ्कको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आठ वटा पोका बनाएर ल्याएको सुन, ब्रेक सुसहितको शिलबन्दी गरिएको कार्टुन तौल गर्दा १५५ किलो ४६८ ग्राम परिमाण आएको बताउनुभयो । उहाँले सुनको मात्रै परिमाण निकाल्ने प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले  भन्नुभयो, “ब्रेकसु र सुन निकालेर गालेर, पगालेपछि मात्रै सुनको वास्तविक परिमाण आउनेछ । राजस्वले राष्ट्र बैङ्कलाई अनुरोध गरेपछि प्रक्रिया सुरु हुन्छ ।”

सुन तस्करीमा गिरोह नै सक्रिय 

सानो परिमाणमा सुन तस्करी हुने र प्रहरीले बरामद गर्ने घटना झुप्रै छन् । तर निकै ठुलो परिमाणमा सुन बरामद भएपछि सुरक्षा निकायका उच्च अधिकृत र सरोकारवालाहरूले अन्तर्राष्ट्रिय सञ्जालकै सव्रिmयतामा सुन तस्करी फेरि सुरु भएको बताउनुभएको छ । उहाँहरूले चीनबाट नेपाल हुँदै भारत लाने गिरोहमा तीन देशकै तस्करी समूह संलग्न रहेको बताउनुभयो । 

नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक वसन्त लामा र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले सुन तस्करीमा त्रिदेशीय गिरोह सक्रिय रहेको प्रस्ट भएको बताउनुभयो । २०७४ मा दुबईबाट काठमाडौँ भिœयाइएको ३३ किलो सुन विमानस्थलबाटै गायब भएको घटनाको छानबिन समितिको सदस्य रहेका पूर्वएआइजी लामाले बलियो सञ्जालले नै सुन तस्करी गरी भित्र्याएको निष्कर्ष सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “त्यसैले त्यति ठुलो परिमाणमा ल्याउँदा, बिक्री गर्ने ठाउँमा पु-याउँदा मिलेमतो नभएसम्म ल्याउन सक्छ त कसैले ? सामान ल्याएर मात्रै हुन्छ र ! नेपालमा बिक्री गर्न नेपालकै र भारतमा बिक्री गर्न त्यहीँकै स्थानीय चाहिन्छ । त्यसका लागि नेटवर्क चाहियो । यो सबै काम सञ्जालले गर्छ । नेटवर्क छ, सबै मिलेर गरेका छन् ।”

महासङ्घका पूर्वअध्यक्ष शाक्यले कहाँबाट र कसरी गिरोह सक्रिय छ भन्ने विषयमा अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अहिले दैनिक पाँच, छ किलोग्राम सुन आवश्यक पर्ने बताउनुभयो । उहाँले विदेशबाट आउँदा परिवार र आफन्तका लागि ५० ग्राम सुन ल्याउन पाउने नियमका कारण नेपाली बजारको २५ प्रतिशत हिस्सा पूरा हुने बताउनुभयो । 

तस्करी रोक्ने जिम्मा राज्यकै

पूर्वएआइजी लामाले सुन तस्करी नियन्त्रणका लागि तत्कालीन समितिको प्रतिवेदनमा प्रस्ट कार्यदिशा दिइएको बताउनुभयो । उहाँले विमानस्थलका छिद्र र कर्मचारीको कमजोरी हटाउन सके सुन तस्करी नियन्त्रण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यति ठुलो परिमाणमा ल्याउँदा राम्रै व्यवस्थापनका साथ ल्याएको हो । कारोबारीको हातबाट यति धेरै आउँदैन । सबैलाई मिलाएर, सेटिङ र मिलेमतोमै आएको हो ।”

उहाँले जहाँ बढी नाफा हुन्छ, त्यही बजारमा पु-याउने प्रयासमा तस्करीको गिरोह हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बढी पैसा आए नेपालमै बेच्छन्, भारतमा बढी पैसा आए भारत लान्छन्, नेपालमा पनि सुनको माग छ । भारतमा लाने गरेको त सिमानामा प्रहरी सुन बरामद गरेको घटनाले नै 

पुष्टि गर्छ नि ।” पूर्वअध्यक्ष शाक्यले अनुसन्धानका क्रममा सुन कसरी भित्रियो भन्ने कुरा खुल्ने विश्वास व्यक्त गर्दै नेपाल बजारलाई तस्करीको गिरोहबाट जोगाउन भरपुर कोसिस गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यकै स्तरबाट सुन तस्करी रोक्न प्रयास हुनु पर्छ । छिद्र टाल्नुपर्छ । चाहिने बेला ४०–५० किलो उपलब्ध होस् । हामीले माग नहुँदा राष्ट्र बैङ्कलाई कोटा घटाउन आग्रह गरेका छौँ । माग हुँदा आवश्यक परिमाणमा सुन दिनु पर्छ । त्यसो गरे तस्करी रोक्न सकिन्छ । व्यवसायीलाई सजिलो हुन्छ, राजस्व पनि आउँछ ।” 

आयातकर्ता केन्द्रित हुने छ अनुसन्धान

विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिने क्रममा ठुलो परिमाणमा सुन बरामद भएपछि भन्सार विभागले बिहीबार एक समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय छानबिन समितिलाई क्षेत्राधिकार नै तोकेर अनुसन्धान अघि बढाउने अधिकार दिइएको विभागका प्रवक्ता पुण्य विक्रम खड्काले जानकारी दिनुभयो । 

विभागका अनुसार समितिले सुन बरामदका क्रममा पक्राउ परेका आयातकर्ताको विगतको आयात निर्यातको अवस्था, वस्तु घोषणा र त्यस अनुसार आयात भए नभएको विषयलाई मुख्य केन्द्रमा राखेर अनुसन्धान अघि बढ्नेछ । त्यस्तै गोदाममा उक्त सामान ल्याएपछि जिम्मेवार प्राप्त कर्मचारीले जिम्मेवारी अनुसार काम गरे नगरेको र जाँचपासमा संलग्नहरूको सिसिटिभीमार्फत गतिविधि हेर्ने काम समितिले गर्नेछ । 

जाँचपासमा प्रयोग हुने एक्स रे मेसिनले काम नगरेको भए भविष्यमा कस्तो प्रविधिको मेसिन ल्याउनुपर्छ भन्ने विषयमा समेत समितिले विभागलाई सुझाव प्रदान गर्नेछ । विभागका कर्मचारीको मिलेमतो देखिएमा कारवाहीको सिफारिससमेत गर्न सक्ने अधिकार समितिलाई दिइएको प्रवकता खड्काले जानकारी दिनुभयो । समितिलाई पाँच दिनको समय दिइएको छ 

अघि बढ्यो निलम्बनको प्रक्रिया

विमानस्थलको भन्सार नै पास गरेर सुन बाहिरिएपछि भन्सार विभागले त्यसका लागि जिम्मेवार कर्मचारीलाई निलम्बनको प्रक्रिया अघि बढाएको छ । प्रज्ञापन पत्रमा सहयोग गर्ने, गोदामबाट सामान झिक्दा जाँचपासमा संलग्न हुने कर्मचारीलाई तत्काल काम गर्न रोक लगाउन विभागले निलम्बनको प्रक्रिया अघि बढाएको छ । विभागले निलम्बनको आवश्यक प्रक्रिया अघि बढाउन अन्तिम निर्णयका लागि अर्थ मन्त्रालयका सचिव समक्ष प्रस्ताव पेस गरिसकेको छ । 


अन्तर्राष्ट्रिय गिरोह संलग्न 


नवराज ढुङ्गाना

महानिर्देशक, राजस्व अनुसन्धान विभाग 

सामान्य रूपमै बुझ्दा पनि हङकङबाट ल्याइएको छ, त्यसमा पनि तीन देशका नागरिक संलग्न हुनुले पनि अन्तर्राष्ट्रिय गिरोहको संलग्नता स्वाभाविक नै हो ।  


कडा कारवाही हुन्छ  


शोभाकान्त पौडेल

महानिर्देशक, भन्सार विभाग 


  ठुलो परिमाणमा सुन बरामद भएपछि विमानस्थल भन्सार प्रणालीमा पनि आशङ्कासहित प्रश्न तेर्सिएको छ नि ?

विभागले यसअघि आफ्नै पहलमा पनि सुन बरामद गरेको छ । यो आर्थिक वर्षमा हामीले ५३ करोड रुपियाँ बराबरको सुन बरामद गरेका छौँ । अहिले ठुलो परिमाणमा भएर मात्र यसको चर्चा भएको हो । यो प्रकरणमा विमानस्थल भन्सार प्रणालीको कुनै दोष देखिए विभागले कडा रूपमा कारवाही गर्छ । यसमा कसैसँग सम्झौता हुँदैन । प्रणालीमा केही समस्या रहेछ भने त्यसलाई सुधार गर्छौं । नियमित अनुगमन हुन्छ । 

एक्सरे मेसिन नै बिग्रेको र त्यसले गर्दा सुन पत्ता लाग्न नसकेको भन्ने कुरा पनि आइरहेको छ नि ?

त्यो सिसिटिभीको फुटेज हेरेपछि थाहा हुन्छ । बिगे्रको हो कि अरू केही हो भनेर । अनुसन्धानमा भएको विषयलाई सबै भन्न पनि मिल्दैन । सबै कुरा पछि सार्वजनिक गरिहाल्छौँ ।

 सुन बरामदको विषयलाई विभागले अब कसरी अनुसन्धान अघि बढाउँछ ?

यसको सन्दर्भमा विभागले कुनै सम्झौता गर्दैन । अनुसन्धान समितिले सबै कुरा हेर्छ । हामी त्यसै अनुसार अघि बढ्छौँ ।