बौद्धिक सुन्दरता शब्दकलाका माध्यमबाट विश्वले रसपान गरून्

momilaकाठमाडौं, । नेपाली साहित्यिक क्षेत्रमा लाग्नुभएकी मोमिला जोशीको जन्म वि.सं. २०२४ मा धनकुटा–७ मा भएको हो । कविता, निबन्ध र समालोचना विधामा क्रियाशील मोमिलाका पैयुँ फुल्न थालेपछि जूनकीरीहरू ओर्लिरहेछन् (कवितासङ्ग्रह), दुर्गम उचाइमा फूलको आँधी (कवितासङ्ग्रह), भीमसेन थापाको सुसाइड नोट  (कवितासङ्ग्रह) नीलो–नीलो आकाश र दुई थोपा आँसु (निबन्ध/कवितासङ्ग्रह), ईश्वरको अदालतमा आउटसाइडरको बयान (निबन्धसङ्ग्रह) प्रकाशित छन् र उहाँका अँग्रेजीमा दुईवटा कवितासङ्ग्रह प्रकाशित छन् । पद्मकन्या स्वर्ण पदक, प्रज्ञा पदक, शताब्दी युवा सम्मान, मोहन रेग्मी स्मृति सम्मान, गुञ्जन प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कारलगायत एकदर्जनभन्दा साहित्यिक पुरस्कारका अतिरिक्त नृत्य, गायन, चित्रकला, खेलकूद, उद्घोषण, वक्तृत्वकला प्रतियोगितामा ५० भन्दा बढी पुरस्कार प्राप्त गर्नुभएको छ । साथै शिक्षण पेसामा विभिन्न विश्वविद्यालय र क्याम्पसबाट उत्कृष्ट शिक्षकका रूपमा पुरस्कृत एवं सम्मानित मोमिलासँग छोटो अन्तर्वार्ता प्रस्तुत छ । 

० तपार्इंको दिनचर्या कसरी बितिरहेको छ ?
– हिजोआज मेरो दिनचर्या प्राध्यापनको दैनिक दिनचर्या जस्तै, केही पढाउने तयारी, पढाउने, कपी जाँचलगायत नेपाली कला÷साहित्य डट कम प्रतिष्ठानद्वारा प्रकाशित हुने साहित्यिक वार्षिक कलाश्री पत्रिकाको सम्पादन, साथै केही कविता कृति तथा ग्रन्थकोे सम्पादन र केही अध्ययनमा बितिरहेको छ ।
० केके पढ्दै हुनुहुन्छ ?
– ओशो, गान्धी, हिटलर, सुकरात, बेनेजिर भुट्टो, अजित कौर, अमरिश पुरी, कामु, सात्र्रजस्ताका केही जीवनी र आत्मकथाहरू दोहो¥याउँदै पढ्दैछु ।
० केही लेख्दै हुनुहुन्छ ?
– उही निबन्ध र कविताहरू नै । कवितासङ्ग्रह ‘भीमसेन थापाको सुसाइड नोट’ धेरै भएको छैन प्रकाशित भएको अब नयाँ निबन्धसङ्ग्रहको तयारी गर्दैछु ।
० स्वदेशी साहित्यकारहरू कोको मनपर्छ ?
– मलाई पारिजात, लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, वानिरा गिरी निकै मन पर्छ । मलाई इन्दिरा प्रसाईको ‘उसको लोग्ने र बिरालो’ र कुमार नगरकोटीको ‘मोक्षान्त ः काठमाडौं फिभर’ पनि निकै मन पर्ने कृतिहरू हुन् । अनुपम रोशीको ‘कुमारी आमा’ उपन्यास र उषा शेरचनको ‘तेस्रो रङ्ग’ कथासङ्ग्रह पनि मनपर्छ ।
० विदेशी साहित्यकारहरूमा नि ?
– सात्र्र, सिमोन, काफ्का, टोल्सटोय, वाल्ट ह्विटम्यान, सर्वेश्वर दयाल शक्सेना, निर्मल बर्मा, गालिब आदि ।
० तपार्ईंलाई यो क्षेत्रमा आउन कोबाट प्रेरणा मिलेको थियो ?
– सायद कलाप्रतिको सम्मोहित अन्तर्चेतना र मूलतः कलापारखी पिता सिद्धिप्रसाद जोशी र ठूली दिदी प्रमिला जोशीबाट पे्ररणा मिलेको भन्ने ठान्दछु ।
० स्वदेशी र विदेशी साहित्यिक सम्बन्ध स्थापित गर्ने अभियानमा लाग्नुभएको छ, किन ?
– जुन पुनीत कार्यले विश्वको युगीन लहरमा नेपाली पहिचान सम्मानित हुनेछ, पहिचानलाई जीवन्त राख्ने छ, यसैले... । फेरि मेरो धोको नै नेपालको प्राकृतिक एवं सांस्कृतिक सुन्दरता एवं नेपाली जीवन र नेपालीको हृदय मिश्रित बौद्धिक सुन्दरता शब्दकलाका माध्यमबाट विश्वले रसपान गरुन् भन्ने छ ।
० नेपाली साहित्य विदेशी साहित्यबाट धेरै प्रभावित छ भनिन्छ, कसरी त्यसलाई हटाउन सकिन्छ ?
– यसमा प्रभाव पर्न सक्छ, तर लेखकले नै आफ्नो इमानदारिता कायम राख्नुपर्छ, किनकि एक दिन इतिहासले त्यो लेखकीय कमजोरीलाई अवश्य रेखाङ्कन गर्नेछ ।
० देशले कसरी निकास पाउँछ भन्ने लाग्छ ?
– यसमा निकासका लागि नेताहरू देशको अस्तित्वसामु तपसिलमा नअल्झेर व्यक्ति स्वार्थ र पार्टीगत स्वार्थभन्दा माथि देशका नाममा इमानदार र जिम्मेवार हुन आवश्यक छ ।
० देशले सर्जकहरूलाई कसरी हेर्नुपर्छ जस्तो लाग्छ ?
– सर्जकहरूलाई केवल शोकेशमा राख्ने राष्ट्रको सुन्दर गहनाका रूपमा नभएर यथार्थ सर्जकको पहिचानसहित राष्ट्रकै महŒवपूर्ण अङ्गका रूपमा व्यवहार गरिनुपर्छ जस्तो लाग्छ । किनकि जबजब देश सङ्कटमा पर्छ; त्यतिखेर वास्तविक सर्जकहरूको भूमिका निकै महŒवपूर्ण हुने गर्दछ ।
० तपाईंलाई मनपर्ने मर्मस्पर्शी कविताका केही कवितांश ?
आकाङ्क्षाहरूको भीडमा यौटै आकाङ्क्षा—
देश काफी लाग्यो
तर, च्याउ उम्रे जस्तै आतङ्क
उम्रिएको छ कुर्सीभरि—
अनुवादित जुलुस,
अनुवादित नारा,
ज्यालादारी भाषण,
कैदी भावना...
ओहो ! करार सेवा भयो देशभक्ति !
अनिश्चित भविष्य सम्भावित गर्भमा...।
(लेखनकाल ः २०५३)

० विदेशी सर्जकको पनि स्मरणमा छन् भने, सुनाइदिनुस् न ।
– ह्वेर क्यान आई फाइन्ड दि म्यान
हु ह्याज लष्ट वर्डस्
ही इज दि वान
आइ उड लाइक टु टक टु
–चुङ त्सु

प्रस्तुति – उपेश महर्जन

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना