• १६ चैत २०८०, शुक्रबार

बेलहियामा पर्यटक लोभ्याउने आकर्षक प्रवेशद्वार

blog

बेलहियामा बन्न लागेको प्रवेशद्वारको डिजाइन ।

लक्ष्मण पौडेल

भैरहवा, साउन ४ गते । नेपाल-भारत सीमा नाका रुपन्देहीको बेलहियामा पर्यटकलाई स्वागत गर्न आकर्षक प्रवेशद्वार निर्माण थालिएको छ । भारततर्फ व्यवस्थित र राम्रो प्रवेशद्वार रहे पनि नेपालतर्फ पुरानो, साँघुरो र जीर्ण प्रवेशद्वार हुँदा पर्यटक आवागमनमा समेत असहजता थियो । अर्कातर्फ मालबाहक सवारी नेपाल प्रवेश गर्दा पनि साँघुरो प्रवेशद्वारका कारण दुर्घटनाको जोखिम बढेको थियो ।

यसअघि सिद्धार्थनगर नगरपालिकाले नाकाभन्दा एक किलोमिटर टाढा डण्डा नदीको छेउमा पर्यटकीय प्रवेशद्वार बनाएको हाे । तर बेलहियाबासीले भने नगरपालिकालाई नाकामै उक्त प्रवेशद्वार बनाउन आग्रह गरेका थिए । सीमानामा बनाइनुपर्ने प्रवेशद्वार टाढा भएको भन्दै नगरपालिकाको आलोचना भएको थियो । तर, नगरपालिका आफ्नो निर्णयबाट पछि हटेन र डण्डा छेउमा प्रवेशद्वार बनायो । पर्यटकलाई आकर्षित गर्न भनेर बनाइएको उक्त प्रवेशद्वार आकर्षित भने छैन ।

त्यहाँ पर्यटक रोकिएर फोटो खिच्नेसम्मको ठाउँ छैन । प्रवेशद्वारमा लगाइएका बत्ती बेलाबेला बल्दैन । समयमा मर्मतसम्भार पनि भएको छैन । यस्तो अवस्थामा सिद्धार्थनगर नगरपालिकाले नेपाल-भारत सीमानाका बेलहियामा आकर्षक स्वागतद्वार निर्माण गर्न सुरु गरिएको हो । हाल नाकामा रहेको स्वागतद्वार ६ लेन सडक विस्तारको क्रममा भत्किने भएपछि नगरपालिकाको कार्यालयले पशुपतिनाथ मन्दिरको आकार झल्किने गरी नाकामा स्वागतद्वार निर्माण थालेको नगर प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो ।

उक्त स्वागतद्वारमा डिजिटिल बोर्ड, लाइटिङ्ग लगायतका प्रविधिहरु जडान हुनेछन् भने स्वागतद्वारको दक्षिणतर्फ ‘वेलकम टु नेपाल’ लेखिनेछ । निर्माण भइरहेको स्वागतद्वारको भौतिक प्रगति २६ दशमलव १९ प्रतिशत छ । स्वागतद्वारको संरचना ‘एमएस पाइप’ ले निर्माण कार्य भइरहेको छ भने फिनिसिङ्गका लागि ‘अल्ट्रा हाइ ग्लोस वाटर प्रुफ पिभिसी हेजागमन मेस’ लगायत प्रयोग गरिने सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर साकार श्रेष्ठले जानकारी दिनुभयो ।

“हाल रहेको स्वागतद्वार सडक विस्तारको क्रममा भत्किने भएपछि खुल्ला सीमाका कारण पर्यटकहरुलाई मुलुकको पहिचान गर्न पनि समस्या पर्नसक्ने देखियो”, नगर प्रमुख खानले भन्नुभयो, “त्यसैले सीमामा मुलुकको संस्कृति पहिचान सहित स्वागतद्वार निर्माण थालेका हौँ ।” उहाँले स्वागतद्वारले हाम्रो संस्कृति पनि झल्किने र मुलुकमा प्रवेश गर्ने पर्यटकहरुलाई नेपालमा प्रवेश गरिरहेको जानकारी पनि प्राप्त हुने बताउनुभयो ।

उपप्रमुख उमा अधिकारीले सीमामै स्वागतद्वार निर्माणले मुलुकमा प्रवेश गरिरहेको सर्वसाधारण तथा पर्यटकहरुलाई नेपाल–भारत सीमाको पहिचान र सहजता दुवै हुने बताउनुभयो । “पहिले सीमादेखि करिब २५ मिटर टाढा मुलुकको स्वागतद्वार (भत्काउन लागिएको) बनाइएको रहेछ”, उहाँले भन्नुभयो, “तर, अहिले हामीले दशगजा नजिक नै मुलुकको स्वागतद्वार निर्माण गरिरहेका छौँ ।”

एक करोड ६४ लाख रुपियाँमा निर्माण सुरु भएको उक्त स्वागतद्वार २०८० पुस मसान्तसम्म काम सम्पन्न गर्ने गरी कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिनुभयो । यसले नेपाल भित्रिने पर्यटकलाई नेपाल आएको झल्को दिने नै छ भने विगतमा जस्तो ठुला सवारी नेपाल प्रवेशमा गेटकै कारण हुने झन्झट हट्नेछ ।