• ४ वैशाख २०८१, मङ्गलबार

क्रियाशील सदस्यता अनलाइन प्रणालीमा दिनु नहुने धारणा

कांग्रेस बैठकमा प्रदेश सभापतिको गुनासो

blog

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक । फाइल तस्बिर

काठमाडौं, साउन ३ गते। नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राख्नुभएको छ। बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उहाँले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिन नहुने धारणा राख्नुभएको हो। उहाँले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो। 

उहाँले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गर्नुभयो। लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले कांग्रेसको सङ्गठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले केन्द्रीय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताउनुभयो।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताउनुभयो। उहाँले सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेण्डाको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

उहाँले नेपाली कांग्रेसको कार्ययोजना र साङ्गठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।