• १५ चैत २०८०, बिहिबार

महिला फुटबलको दृष्टिकोण बदल्ने सावित्राको अठोट

blog

बिदाइ अवसरमा सावित्रा भण्डारी ।

काठमाडौं, साउन ३ गते । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । 

सावित्रालाई युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमबीच बुधबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि इजरायली राजदूत हानन् गोदारले बिदाइ गर्नुभएको हो । उहाँ इजरायलको क्लब हापोएल रानानाबाट युरोपमा लिग खेल्दै हुनुहुन्छ । बिदाइ कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले सावित्रालाई राम्रो खेल्न प्रेरणा दिनुभयो । 

यस्तै नेपालका लागि इजरायली राजदूत हानन् गोदारले इजरायली क्लबमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो । उहाँले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘म धेरै नै खुशी छु, किनभने ऐतिहासिक क्षण छ, हामी सबै युरोप लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीले खेलेको हेर्न आतुर छौँ ।हाम्रो देश र दूतावास उहाँको स्वागतका लागि तयार छ । हामीले हस्ताक्षर गरेका छौँ, अब उहाँले खेलेको खेल हेर्न बाँकी छ, यसले दुई देशको सम्बन्ध थप बिस्तार हुनेछ ।’’

बिदाइ कार्यक्रममा भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताउनुभयो । उहाँले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताउनुभयो । उहाँले आफूले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताउनुभयो । उहाँले आफ्नो यो यात्रालाई महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्नका लागि प्रयोग गर्ने पनि बताउनुभयो । 

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रश्तुत गर्ने विश्वाससहित बधा दिनुभयो ।